शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, April 14, 2016

सामाजिक सञ्जालले समाज बनाउँछ कि भत्काउँछ?


थोमस एल फ्राइडम्यान

पछिल्ला केही वर्षमा हामीले कयौं ‘फेसबुक क्रान्ति’ देख्यौं। अरब स्प्रिङदेखि अकुपाई वालस्ट्रिट, इस्तानबुल स्कुवायर, कियभ र हङकङमा देखिएका आन्दोलनमा सामाजिक सञ्जालले ऊर्जा प्रदान गरेको थियो। तर, सुरुका दिनमा देखिएको उत्साह र राप हटेपछि यस्ता अधिकांश आन्दोलनले कुनै स्थायी प्रकृतिको लोकतान्त्रिक राजनीतिक व्यवस्था निर्माण गर्न सकेनन्। यसको आंशिक कारण हो, राष्ट्रिय राजनीतिमा बुलन्द भएर आएका असंख्य आवाजले ती देशमा सहमति निर्माणको प्रयासलाई असम्भव बनायो।
अब प्रश्न उठ्छ– समाजिक सञ्जालले बनाउनेभन्दा बढ्ता भत्काउने काम गर्छ कि?
हालै एक महत्वपूर्ण व्यक्तिले यसको उत्तर दिएका छन्– ‘हो, भत्काउने काम नै ज्यादा गर्छ।’
ती व्यक्ति हुन्, वाइल घोनिम। इजिप्टका नागरिक घोनिम गुगलका कर्मचारी हुन्। उनले निर्माण गरेको बेनामे फेसबुक पेजले सन् २०११ मा इजिप्टको तहरिर स्कुवायर क्रान्ति उद्घोष गर्न सहयोग गर्यो। उक्त क्रान्तिले राष्ट्रपति होसनी मुबारकलाई सत्ताच्युत गर्न त सफल भयो, तर मुबारकको विकल्पमा प्रजातान्त्रिक राज्यसत्ता निर्माण गर्न सकेन।
गत डिसेम्बरदेखि अमेरिकाको सिलिकन भ्यालीमा बस्न थालेका घोनिमले इजिप्ट क्रान्तिमा कहाँ समस्या भयो भन्नेबारे ‘टेड टक’ मा आफ्ना कुरा राखेका छन्, जुन हेर्नलायक छ।
उनले आफ्नो कथा यसप्रकार सुरु गरेका छन्– ‘मैले कुनै समय भनेको थिएँ, तपाईं कुनै समाजको मुक्ति चाहनुहुन्छ भने सबभन्दा पहिला चाहिने इन्टरनेट हो, तर म गलत रहेछु। मैले त्यो कुरा २०११ मा भनेको थिएँ, जब मैले बनाएको बेनामे फेसबुक पेजले इजिप्टमा क्रान्तिको आगो दन्काउन सहयोग गर्यो। अरब स्प्रिंगबाट हामीले सामाजिक सञ्जालमा रहेको ठूलो सम्भाव्यता हेर्न पायौं, तर यसको सबैभन्दा ठूलो कमजोरी पनि देखियो। तानाशाहविरुद्ध हामी सबैलाई एकबद्ध बनाउन सफल रूपमा प्रयोग भएको त्यही साधनले अन्त्यमा हामीलाई विखण्डित गर्यो।’
घोनिमका अनुसार सन् २००० को सुरुआतबाटै अरबका मानिस वेबसाइटतर्फ आकर्षित भएका हुन्। उनी व्याख्या गर्छन्– ज्ञान, अवसर प्राप्ति र संसारभरिका मानिससँग जोडिने चाहनाले मात्र होइन, निराशाजनक राजनीतिक यथार्थबाट भाग्नका निम्ति पनि हामी इन्टरनेटको वैकल्पिक र अप्रत्यक्ष संसारको शरणमा पुग्यौं।
‘२०१० जुलाईमा आइपुग्दा,’ घोनिम त्यसपछि व्याख्या गर्छन्, ‘इन्टरनेटले मेरो जीवन परिवर्तन गर्यो। फेसबुकमा मैले एउटा फोटो देखेँ, यातना पाएका इजिप्टका एक मृत जवानको। उनको नाम खलिद सइद थियो। अलेगजान्ड्राका २९ वर्षे ती युवकलाई प्रहरीले हत्या गरेको थियो। त्यो तस्बिरमा मैले आफूलाई नै देखेँ। मैले बेनामे फेसबुक पेज बनाएँ र लेखेँ, हामी सबै खलिद सइद हौं। तीन दिनमै त्यो पेजमा एक लाख मानिस आए, इजिप्टका नागरिकको पनि त्यही चिन्ता थियो।’
घोनिम र उनका साथीले विचार बटुल्न फेसबुक प्रयोग गरे र त्यो पेज अरब संसारमा सबैभन्दा बढी पछ्याइएको पेज बन्यो। सामाजिक सञ्जाल उक्त अभियानका लागि महत्वपूर्ण बन्यो। छरिएको आन्दोलन जगाउन यसले सहयोग गर्यो। मानिसलाई हामी एक्ला छैनौं भन्ने महसुस गरायो। त्यसपछि राज्यसत्ताले आन्दोलन रोक्न असम्भव भयो।

अन्त्यमा, सुरक्षाकर्मीले घनिमलाई कायरोबाट गिरफ्तार गरे। कुटपिट गरे र ११ दिनसम्म बेपत्ता पारे। उनलाई थुनामुक्त गरिएको तीन दिनपछि नै उनले बनाएको फेसबुक पेजले सडकमा आउन प्रोत्साहन गरेका दसौं लाख प्रदर्शनकारीले मुबराकको सत्ता ढालिसकेका थिए।
‘क्रान्तिले जन्माएको त्यो उत्साह भने ओइलाउँदै गयो, किनकि हामीले सहमति निर्माण गर्न सकेनौं र राजनीतिक संघर्षले सामाजिक ध्रुवीकरण तीव्र पार्यो,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालले ‘गलत सूचना, अफवाह र घृणाको भाषा फैलाउँदै समाजलाई झनै ध्रुवीकृत बनायो। वातावरण विषाक्त पार्यो। अनलाइन संसार, ट्रोल झुट र घृणाले भरिएको रणभूमि बन्यो।’
इस्लामिस्ट र सेनाका समर्थकले पनि समाजिक सञ्जाल एक-अर्कालाई गाली बेइज्जती गर्नका निम्ति प्रयोग गरे। घोनिम र उनीजस्ता मध्यममार्गी सीमान्तकृत भए। उनीहरूको क्रान्तिलाई पहिले मुस्लिम ब्रदरहुडले कब्जा गर्यो। जब मुस्लिम ब्रदरहुड असफल भयो, क्रान्ति सेनाको नियन्त्रणमा पुग्यो। क्रान्तिलाई शक्तिशाली बनाउने तिनै सहिष्णु युवालाई सेनाले धमाधम पक्रन थाल्यो। अहिले आफ्नो कार्यको रक्षा गर्न सेनासँग आफ्नै फेसबुक पेज छ।
‘यो पराजयको क्षण हो,’ घोनिम भन्छन्, ‘दुई वर्षसम्म म शान्त नै बसेँ, त्यहाँ भएका सम्पूर्ण घटना मनन गर्दै मैले त्यो समय बिताएँ।’ 
आज समाजिक सञ्जालबारे उनको निष्कर्ष यस्तो छ–‘पहिलो कुरा, हामीलाई थाहा छैन हल्ला कसरी व्यवस्थापन गर्ने। सामाजिक सञ्जालमा मानिसका पूर्वाग्रहसँग मिल्ने किसिमका हल्लालाई विश्वास गरिन्छ र दसौं लाख मानिससम्म फैलाइन्छ।’
‘दोस्रो, हामी त्यस्ता व्यक्तिसँग मात्र सूचना आदानप्रदान गर्छौं, जोसँग हामी विचारले सहमत हुन्छौं। समाजिक सञ्जालमा हामीले अरू कसैलाई पनि म्युट, अनफलो र ब्लक गर्न सक्छौं।
तेस्रो, अनलाइनमा हुने छलफल तुरन्तै झगडा गर्ने भिडमा परिणत हुन्छ। हामी बिर्सन्छौं, स्क्रिन पछाडि अवतार होइन वास्ताविक मानिस हुन्छन्।’
चौथो, ‘हाम्रा विचार परिवर्तन गर्न गाह्रो भयो। समाजिक सञ्जालमा हुने संक्षिप्तताको गुण र तीव्र बेगका कारण हामी निष्कर्षमा हाम फाल्छौं। १४० अक्षरमा विश्वभरका जटिल मुद्दामा कडा विचार व्यक्त गर्छौं। जब हामी प्रतिक्रिया दिन्छौं, त्यो इन्टरनेटमा चिरकालसम्म रहन्छ।’
पाँचौं, र सबैभन्दा महत्वपूर्ण, ‘आज हाम्रा सामाजिक सञ्जाल अनुभव हेर्दा हामी सहभागिता होइन विचार व्यक्त गर्न, छलफल होइन आफ्नो कुरा राख्न, गहन ढंगले कुराकानी होइन बोक्रे टिप्पणी गर्न उद्दत हुन्छौं। यस्तो लाग्छ, हामी एकअर्कासँग होइन, एकअर्काका बारेमा कुरा गर्दैछौं।’
घोनिम हारेका छैनन्, उनी र उनका साथीले हालै अर्को वेबसाइट निर्माण गरेका छन्, पार्लियो डट कम। यसमा विवादास्पद र तातेका मुद्दामा बौद्धिक र सभ्य अन्तरक्रिया गर्न सकिन्छ। यसको उद्देश्य विवादको खाडल पुर्नु हो, बढाउनु होइन।
घोनिमको निष्कर्ष छ– ‘पाँच वर्षअघि मैले भनेको थिएँ, तपाईं समाजको मुक्ति चाहनुहुन्छ भने तपाईंलाई इन्टरनेट चाहिन्छ। आज मलाई विश्वास छ, हामी समाजलाई मुक्त गर्न चाहन्छौं भने पहिला इन्टरनेटलाइ मुक्त गर्नुपर्छ।’ 
साभारः द न्यूयोर्क टाइम्स

No comments:

Post a Comment