शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, November 19, 2015

यसरी बल्यो दृष्टिविहीन अमृताको चुलो (भिडियो सहित)


मंसिर ३, २०७२- सोमबार बिहान आठ बजे कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक दिलभूषण पाठकले भक्तपुरको गठ्ठाघरमा दुईजना दृष्टिविहीनले ग्यासका लागि लाइन बस्नसमेत नदिएको खबर गरे । सामान्य मान्छेले त ग्यास नपाएर छटपटिएका बेला छामछुम गरेर हिँड्नुपर्ने दृष्टिविहीनको हालत कस्तो होला ? तत्कालै यसबारे रिपोर्टिङ गर्न निस्किएँ, क्यामेरापर्सन हेमन्त कटवालका साथ । हामी गठ्ठाघर पुग्दा टोकन पाएकाहरू युद्ध जितेझैं गरी हर्षित मुद्रामा ग्यास ओसार्दै थिए । तर त्यही सडक छेउमा निरास मुद्रामा रित्तो सिलिन्डरमाथि बसेकी थिइन्, दृष्टिविहीन युवती अमृता थापा । उनी सँगै थिए अर्का एक दृष्टिविहीन पुरुष शेरबहादुर साउद । मैले कान्तिपुरबाट आएको बताएपछि अमृताले आफूले ग्यास नपाएको बताइन् । पीडा, निराशा र केही आक्रोश मिश्रित स्वरमा अमृताले भनिन्, ‘ग्यास बाँड्ने हल्ला सुनेपछि बिहानै रित्ता सिलिन्डर बोकेर आयौं, यहाँ आएपछि त कुपन खै भनेर गेटबाट छिर्नसमेत दिएनन् । म जबरजस्ती भित्र छिरेँ, पुलिसले घोक्रयाउँदै निकाल्नुपर्ने हो भनेर झपारेपछि मलाई साह्रै चित्त दुख्यो । म रुँदै निस्केँ ।’ उनलाई रुनबाट रोक्न मैले थप परिचय सोधेँ । जुम्लाकी उनी अंग्रेजीमा स्नातकोत्तर पढ्ने तयारीमा रहिछन् । एमए दोस्रो वर्षमा अध्ययनरत साउदचाहिँ कोठामा एउटा खुट्टा र एउटा हात गुमाएकी श्रीमतीलाई छाडेर अमृतासँगै ग्यास खोज्न आएका रहेछन् । कुराकानीका क्रममा मैले सोधेँ, ‘कुपन नभई त ग्यास दिन्नन् नि, तपाईंलाई थाहा थियो कि थिएन ।’ मेरो कुरा सकिन नपाउँदै अमृताले भनिन्, ‘कसरी थाहा हुन्छ र ! न कसैले भन्छ, न हाम्रो पहुँच छ, हामी अरू मान्छेजस्तै दौडधुप र ठेलमठेल गरेर जान पनि त सक्दैनौं नि ।’ छेउमै उभिएका शेरबहादुरले थपे, ‘हामी पत्रिका पढेर थाहा पाउन सक्दैनौं, अनि कसरी थाहा पाउनु ?’ अमृताले थपिन्, ‘ग्यास नभएर भात नखाएको आज दस दिन भयो । आफैं नौबिसे कम्पनीमा फोन गरें, साल्ट ट्रेडिङको डिपो जडिबुटी, बल्खु सबैतिर गएँ, कसैको न कसैको त मन होला भनेर हारगुहार गरेँ, तर केही लागेन । सक्नेले त दाउरा बालेर पनि खालान्, जहाँ जसरी पनि जुटाउलान्, तर हामीले के गर्ने, बिजुलीमा पकाउन स्विच त अन गरुँला, कुकर त बसालौंला, तर छुस्स कतै छोइयो र करेन्ट लाग्यो भने अर्को आपत् । फेरि म टाउकोको बिरामी छु । डाक्टरले भोकै नबस्नु समस्या बल्झिन्छ भनेका छन्, तर के गर्नु ? कहिले चाउचाउ त कहिले दालमोठ, चिउरा र पानी खाएर प्राण धान्नुपरेको छ । कैयौंपल्ट फेन्ट भएर लडेपछि छिमेकी पसलको दाइले अस्पताल 
लगिदिनुभएको छ ।’ अमृताले त्यहाँ आफूले भोगेको व्यथा भनिन्, ‘यहाँ ग्यास छ नि, ५ सय सिलिन्डर ल्याएकोमा ४ सय ८० मात्रै कुपन दिएको छ ।’ सबैतिर हारगुहार गरेर कसैले नसुनेपछि कान्तिपुर टेलिभिजनमा फोन गरेको उनले बताइन् । अपांग महासंघ र जिल्ला प्रशासनले केही सहयोग नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘दु:खको बेला दु:खीलाई कसले पो हेर्छ र ! नत्र दस दिन भोकै बस्नुपर्थ्यो र ! यहाँ एउटै गाडीले दसवटा सिलिन्डर भित्र र छतमा समेत राखेर लग्यो । हामीलाई कत्रो अन्याय !’ ग्यास पाएर लैजानेहरू बाटो लागिसकेका थिए । नपाउनेहरू पनि फर्कंदै थिए । मैले भित्र गएर ओम ग्यासका भक्तपुर वितरक राजेन्द्रकुमार श्रेष्ठसँग कुरा गरेँ । उनले कुपनअनुसार बाँडिसकेकाले अब दिन नसक्ने बताए । सायद ढाँटे । बाहिर फर्किंदा अमृता र शेरबहादुरसहित केही स्थानीय पनि पर्खेका रहेछन् । उनीहरूले ‘पत्रकारलाई त ढाँट्यो, के देला’ भनेर वितरकलाई गाली गर्न थाले । ग्यास नपाइने निश्चित भयो । अमृता र शेरबहादुरसहित सबै निराश भए । अब कोठामा फर्कने कि के गर्ने ? मेरो प्रश्न सकिन नपाउँदै अमृता रुन थालिन्, भनिन्, ‘के गर्ने दालमोठ, चिउरा पाउँदासम्म खाउँला, नभए एकदिन त सास जाला नि ।’ उनी डाँको छाडेर रोइन् । ‘सिलिन्डर यहाँ राख्नु त भएन नि लानुपर्‍यो नि’, आँसुका ढिका खसाल्दै भनिन् । अन्तत: अमृता र शेरबहादुर रित्तो सिलिन्डर बोकेर फर्किए, केहीले सिलिन्डर बोक्न सघाए । म उनको कोठामा जाने निर्णयमा पुगेँ । कान्तिपुरकै गाडीमा सानोठिमी मगर गाउँस्थित अमृता र शेरबहादुरको कोठामा पुग्यौं । अमृताको कोठामा ग्यास चुलो राख्ने टेबल पूजा गर्न प्रयोग गर्न थालिएछ । कोठामा चामल, दाल, तरकारी केही थिएन । थियो त केवल, केही किताब र सुकेका भाँडाकुँडा । भित्तामा टाउकाको सिटिस्क्यान गरेको रिपोर्टको ब्याग थियो । बिहानको चिसोमा टिसर्ट मात्रै लगाएर जानुको कारण सोध्दा पो थाहा भयो, बाहिर हिँड्दा लगाउने ज्याकेट पनि रहेनछ । शेरबहादुरको कोठामा उनकी अपांग श्रीमती ग्यास कुरेर बसेकी थिइन् । उनीहरूसँग केहीबेर कुरा गरेपछि हामी कार्यालय फर्कियौं । यससम्बन्धी समाचार चार बजे प्रसारण भयो । त्यसपछि फोन आउन थाले । सबैभन्दा पहिला व्यवसायी भुवन श्रेष्ठले फोन गरेर आफ्नै भान्साको ग्यास दिने बताए । कानुन व्यवसायी नरहरि आचार्य र बैंकर राजेन्द्र पौडेलले पनि ग्यास दिने बताए । मैले कैयौंलाई अमृता थापाको नम्बर दिएर सम्पर्क गर्न भनेंँ । धेरै दर्शकले सम्पर्क गरेर सहयोगको तत्परता देखाए । मंगलबार बिहान पनि फोन आउने क्रम जारी थियो । सांग्रिला डेभलपमेन्ट बैंकका कम्पनी सचिव पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष आचार्य, व्यवसायी श्रेष्ठ, वाणिज्य बैंकमा कार्यरत रामहरि त्रिपाठी, पत्रकार माधव बस्नेतलगायतले जुटाइदिएको तीन सिलिन्डर ग्यास, दुई बोरा चामल, दाल, तेल, तरकारीलगायतका सामग्री लिएर हामी अमृता र शेरबहादुरको कोठामा पुग्यौं । उनीहरू खुसी भए । वरिपरि जम्मा भएकाहरू पनि ‘अब अमृताकामा भात पाक्ने भयो’ भनेर खुसी भए । सामान बुझेपछि अमृताले भनिन्, ‘दस दिनपछि पाकेको भात खान पाइने भयो । हामी तपाईंहरूको यो गुन कहिल्यै बिर्सिंदैनौं ।’ मलाई पनि आत्मसन्तुष्टि मिल्यो । एउटा चिन्ता भने बाँकी नै छ, ‘अरू अमृताहरू कति होलान्, कहाँ होलान् ?’ 

हेर्नुस् भिडियो रिपोर्ट :


साभार: कान्तिपुर ब्लग

No comments:

Post a Comment