शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, August 21, 2015

कालापानीको ग्राउन्ड रियालिटी : कहिले दुख्छ काठमाडौंलाई कालापानीको पीडा ?


प्रा. डा. गोपल शिवाकोटी, दीपेन्द्र रोकाय
कालापानी भारतले रणनीतिक महत्त्वको स्थानका रूपमा उपयोग गर्दै आएको ठाउँको नाम हो । कालापानी भनेर उल्लेख गरिने भूगोल नेपालको दार्चुलाको व्यास क्षेत्रमा पर्ने तुल्सिनुराङ हो । स्थानीय तुल्सिनुराङलाई भारतीयले किन कालापानी नामकरण गरी नेपाली भूमि अतिक्रमण गरे होलान् ? यसका गुह्य रहस्य खुल्दै आएका छन् । तर नेपालका शासकहरू भारतको उपनिवेशमा चलेझैं गर्नाले समस्या बल्झ“दै गएको छ । ४० को दशकतिरैको कुरा हो, दार्चुलाका तत्कालीन सांसद प्रेमसिंह धामीले सार्वजनिक रूपमै प्रश्न गरेका थिए– कालापानीको पीडा काठमाडौंलाई कहिले दुख्छ ?


कालापानीबारे नेपाली प्रतिक्रिया
दार्चुलाका प्रेमसिंह धामीको प्रश्नले केही राष्ट्रप्रेमीलाई छोयो । यसैको प्रतिक्रियास्वरूप साना वामसमूहले निकै महŒव दिए । यसै क्षेत्र भएर बग्ने महाकाली नदीका विषयमा भारतसँग सन्धि हुँदा नेकपा एमालेमा उग्र विवाद देखा पर्न गयो । अन्नतः महाकाली सन्धि भयो । राष्ट्रघाती सन्धि भन्ने समूहले नेकपा माले गठन गर्न पुग्यो । त्यतिबेला नेकपा मालेलगायत नौ वाम समूहले लिम्पियाधुरासम्म नेपालको सीमा पर्छ, भारतीय अतिक्रमणकारीहरूलाई फर्काउनुपर्छ भनी माग गरेका थिए । प्रत्येक नेपालीले आफ्नो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताका निम्ति सरोकार राख्नुपर्नेमा जोड दिँदै उनीहरूले महाकालीको मुहान लिम्पियाधुरा हो भन्ने सुगौली सन्धि र अरू प्रमाणहरूका आधारमा नेपाल भारतको सीमाको वैज्ञानिक रेखांकन गर्नुपर्ने बताएका थिए । मालेनिकट अनेरास्ववियुले कालापानी मार्चपास, अतिक्रमित भूमिमा मातृभूमिको सन्देशजस्ता राष्ट्रियताप्रतिको भावना जागृत गराउने कार्यक्रम सम्पन्न गरेको थियो । त्यस समयमा गाडी दुर्घटनामा मृत्यु भएका सांसद धामीको मृत्युलाई पनि आशंकापूर्ण दृष्टिले समेत हेरिएको थियो ।
लिम्पियाधुराबाट उत्पन्न महाकालीको प्रमुख शाखा, प्रशाखा नदीहरूमा टिंकर खोला, राप्ला गाड, ज्युन्टी गाड, धौलीगंगा, काला गाड, कुब्ला गाड, लामा गाड, चुगाड, चाट गाड, माउर गाड, गौरी गंगा, चर्मा गाड, साग्री गाड, काटेनी गाड, चमलिया नदी, खाल गाड, सर्जु नदी, लोहाघाट नदी, उजा गाड, सिर्से गाड, लधिया नदी, रंगुन खोला, तुल्सिनुराङ खोला (कालापानी), लिपुखोला देखा पर्छन् ।’
यी सबै खोला, गाड वा नदीको लम्बाइ र बहावलाई लिएर हेर्दा लिम्पियाधुराबाट उत्पन्न काली नै महाकालीको मूल भएको यकिन हुन आएको छ ।
यो तथ्य तोडमोड गर्न र चीनसँग रणनीतिक नाकामा आफ्नो बलियो उपस्थिति कायम गर्न भारतले तुल्सिनुराङलाई कालापानी नाम दिएर सैनिक क्याम्प खडा गरेको पाइन्छ । यस सैनिक क्याम्प स्थापनाका सन्दर्भमा नेपालका जानिफकारहरूको एक मत छैन । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले स्विकारेको कुरा के छ भने, ‘त्यसबेला कालापानीमा भारतीय सैनिकहरू रहेको कुरा दुर्भाग्यवश मैले थाहा पाइनँ । म बहुत लज्जित छु । यदि मैले थाहा पाएको भए भारतीय चेकपोस्ट हटाएझैं कालापानीबाट भारतीय सैनिकहरू पनि हटाउने थिएँ ।’ उनी अहिले पनि जिउँदै छन् ।
तुल्सिनुराङलाई भारतले कालापानी नामकरण गरी सैनिक अखडा जमाउँदा परराष्ट्रमन्त्री रहेका ऋषिकेश शाह जीवित छैनन् । तर, उनले यसबारे राजा महेन्द्रले आँखा चिम्लेको र महेन्द्रले भारतलाई धेरै चिढ्याइसकेँ, मसँग भारत आगो भइसकेको छ, अब कालापानीमा बसोस् भनी उल्लेख गरेका छन् । यस तथ्यलाई अर्का पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले ‘बेकम्फुसे कुरा’ भनी राजा महेन्द्रले भारतीय उत्तरी चेकपोस्टहरू हटाउन साहसिक कदम चालेको दाबी गरेका थिए ।
यी दुई पूर्वपरराष्ट्रमन्त्रीहरूको तर्कमा अहिले कतिपयले राजा महेन्द्रले सुनको बाकससँग कालापानी साटेको कुरा गर्न थालेका छन् ।
शासकहरूको गुह्य कुरा खुल्दै जालान् । अनुभवकै कुरा गर्ने हो भने अर्का पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले आफ्नो पालामा भारतले चीनसँग कालापानीलाई चीन जोड्ने व्यापारिक मार्ग बनाउने भनेर प्रस्ताव राखेको तर चीनले स्पष्ट रूपमा कालापानी नेपालकै हो भनेकाले भारत नाजवाफ भएको बताएका थिए ।
यो चिनियाँ मान्यता भारतसँग सीमा विवाद भएको कालखण्डको कुरा थियो । माओत्सेतुङको कालमा स्थापना भएको आधुनिक नेपाल–चीन सम्बन्धपछि नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ । चीनले भने उही अवस्थामा रहेको कालापानी देख्दादेख्दै लिपुलेक सम्झौता किन ग¥यो ? के उसको नेपाल नीतिमा फरक आयो ? राष्ट्रवादी तप्का प्रायः भारतविरोधी देखिन्थे भने यस घटनाबाट चीनविरोधी पनि देखिने अवस्था निम्तिएको छ ।
दार्चुलामा नेपालको पनि प्रशासन छ । के प्रशासनिक रूपमा समाधानका लागि अध्ययन भएको छ कि छैन त ? भनेर हेर्दा पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल दार्चुलामा प्रमुख जिल्ला अधिकारी हुँदाको अनुभूति ०५६ सालमै यसरी गरेका थिए, ‘कालापानी समस्या सुल्झाउन सरकारी स्तरबाट वार्ता गरी चाँडै नै टुंग्याउनुपर्छ भनी रिपोर्ट सिंहदरबारलाई दिएको थिएँ । यो समस्या सुल्झाउन सिमानामा राष्ट्रिय झन्डा फहराउनुपर्छ । छांगरुदेखि कालापानीसम्म जाने बाटो बनाउनुपर्छ ।’
तुल्सिनुराङलाई भारतले कालापानी भनेर उपयोग गरेको आज ४२ वर्ष पुग्यो । ०५५ सालमा कञ्चनपुरका तत्कालीन जिल्ला विकास समिति सदस्य ऋषिराज लुम्साली जे समस्या ठान्थे, आज पनि त्यही स्थिति छ । उनले उतिबेला भनेकै थिए, ‘कालापानी मात्र नभई गुन्जी, नाबी, कुटी र नाभिडाङमा समेत फौजी क्याम्प बनाइबसेका भारतीय फौजले नेपाली भूमि खाली गर्नुपर्ने हुन्छ । त्यसैले सवाल कालापानीको मात्र नभई काली नदीको मुहान यकिन गरिनुका साथै सीमा निर्धारण यथाशीघ्र गर्नुपर्छ ।’

सूचना नै प्रमाण :
१२ व्यास र १४ चौदासका नामले चिनिने कालापानी नेपालको हो भन्ने प्रमाणका रूपमा १२ व्यास र १४ चौदासका टिंकर र छाङ्रु गाउ“लाई वि.सं. १८७४ (सन् १८१७) मा जारी सूचनाले पनि पुष्टि गर्छ :
सम्वत् साल जेठ, असारमा कौशी तोषाखानामा भोटको कागज खोज्दा पायाको श्री कम्याएडर इन चिफबाट मुन्सिखानामा लैजानु भनी सर्दार हमाललाई मर्जी हु“दा निज सर्दारले ल्यायाको हुकुमनामा वनामसे सिनं गल वुढे वगैरह जिमिदारन पर्गने व्यास भोट जिल्लै कुमाउ के जानो आगे टिंकर छांगरु यह २ गाउ“ तुमारे पर्गने काली गाउ“के उस तर्फ है. सो बमुजिम सुलोह नामै कै जिकौं इदा सलाह चारी कहते है. यह २ गाउ“ राजे नेपालको अमल्दारी भई उसतर्फ र रहे सा ७३ के वनोवस्त के वषत मिले वह तुम्कै समझाया या अब इन २ गाउ“का तालुकका इस सरकार दौलत मादार कम्पनी अंगे्रज बहादुरकी हजुरका कुछ नहीं रहा इस वास्ते फेर हुकुम मुकरी तुम्हारे नाम लिखा जाता है कि मामला इन २ गाउ“का पैसा चौतरा साहेब के पास हजार होकर सर्कार राजा नेपाल के मै देते कर्ते रहोगी. १८१७ ईस्वी नभम्वर कि २० तारिख सम्वत् १८७४ कार्तिक सुदी १२ ।
यसरी कालापानीमा रहेको भारतीय सैनिक बंकर हटाउने प्रयास न पञ्चायतकालमा भयो न त बहुदल (लोकतान्त्रिक सरकारको पालामै) मा । उल्टो बहुदलकालमा मुहानको टुंगो नै नलगाई सन्धिका नाममा महाकाली भारतलाई बुझाइयो । उक्त राष्ट्रघाती सन्धिलाई २०५३ असोज ४ गतेको मध्यराति तत्कालीन संसद्ले पारित ग¥यो । प्राविधिक आयु सकिएको शारदाको म्याद थप्दै, टनकपुर सम्झौतालाई वैधता दिन र भारतीय स्वार्थ गा“सिएको पञ्चेश्वर आयोजनाका लागि उक्त सन्धिले ढोका खोल्यो । महाकाली सन्धिको धारा ३ मा उपभोग्य उपभोगका आधारमा महाकालीको पानीमाथि दुवै देशको समान हक कायम रहने भन्ने प्रावधानले शारदा र तल्लो शारदामार्फत भारतले प्रयोग गरिरहेको पानी कटाएर नेपालको भागमा मुस्किलले ३ प्रतिशत हिस्सा पर्ने गरी सिंगो महाकाली नदी भारतले हत्यायो ।
चुरो कुरा
एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन । यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरूलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्नेबारे पनि सम्बन्धित निकायहरूले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन् । कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो । भारतले ‘तुल्सिनुराङ’ अर्थात् कृत्रिम कालापानीमा कालीको कृत्रिम मुहान खडा गरेर अतिक्रमणलाई ‘वैधानिकता’ दिन जाली कसरत गरिरहेको छ । त्यहाँ पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपुखोलामा जोडिएको छ र त्यही तलाउलाई कालीको स्रोत भन्ने हास्यास्पद दाबी गरिएको छ ।
नेपाल सरकारले चाहिँ तुल्सिनुराङभन्दा ६ किमि उत्तरमा पर्ने लिपुधुरा वा लिपुलेक (सक्कली कालापानी) कालीको उद्गम हो भनेको छ । यस भनाइअनुसार लिपुलेकबाट निस्कने लिपुखोला काली नदीका रूपमा सीमा नदी हुन आउँछ र यो स्थितिमा भारतले करिब ३५ किमि भूभागमाथि अतिक्रमण गरेको पाइन्छ । यसबाहेक, नेपालका विपक्षी पार्टी, सम्बन्धित विशेषज्ञ र स्थानीय बासिन्दाहरूले लिम्पियाधुराबाट निस्कने कुटी नदीलाई मूल काली नदीका रूपमा सीमा नदी हो भन्ने तथ्यहरू अघि सारेका छन् ।
यसरी हेर्दा लिम्पियाधुरादेखि भारतले करिब १९६ वर्ग किमि नेपाली भूभागमाथि अतिक्रमण गरेको छ । तुल्सिनुराङलाई नक्कली कालापानीसहित नाभिडाङ, गुन्जी र छोटा कैलाश गरी जम्मा चार ठाउँमा भारतले सैनिक क्याम्प राखेको छ । तीमध्ये तुल्सिनुराङ सामरिक, व्यापारिक र धार्मिक सबै दृष्टिकोणबाट अत्यन्त महŒवपूर्ण स्थान हो । त्यसैकारण भारतले सो ठाउँका निम्ति मरिहत्ते गरिरहेको छ ।
भारतले कालापानी क्षेत्रमा कब्जा जमाउनुको खास कारण त्यहाँको सामरिक महŒव नै हो । तुल्सिनुराङको जस्तो समतल भू–बनोट त्यस भेकमा अन्यत्र छँदै छैन । त्यहाँ एकैचोटि दुईवटा हेलिकप्टर ल्यान्ड गर्ने ठूला हेलिप्याड छन् भने १० वटा गुम्बज आकारका फलामे घरहरूसहित अन्य सिमेन्टेड घर पनि छन् । वरिपरि अग्ला पहाडहरू छन् । उत्तरको लिपुलेकमा चिनियाँ सेना आयो भने पनि त्यो हिमाली खोँचबाट सर्लक्कै देखिन्छ ।
कथं कदाचित फेरि भारत–चीन युद्ध भएमा चिनियाँ पैदल सेना अघि बढ्न सक्ने सबैभन्दा खतरनाक सामरिक नाका नै लिपुलेक–तुल्सिनुराङ हो । किनकि चीनबाट भारतको नयाँदिल्लीसम्मको सबैभन्दा छोटो दूरीको बाटो लिपुलेक कालापानी भएर जान्छ । र, तुलनात्मक रूपले लिपुभन्ज्याङको उचाइ ५०९८ मिटरभन्दा पनि कम छ । कालापानी नेपाललाई फिर्ता दिइएमा निरन्तर खतरा भइरहने निष्कर्ष भारतीय सैन्य रणनीतिकारहरूले निकालेको पाइन्छ । लिपुभन्ज्याङभन्दा केही तल चीनसँग टाँसिएर रहेको सामरिक महŒवको अर्काे नेपाली नाका टिंकर भन्ज्याङ (उचाइ ५२५८ मि.) तर्फ पनि अब भारतको आँखा गढ्न थालेको संकेत पाइएको छ । सुरक्षा विश्लेषकका अनुसार चिनियाँ आक्रमणको खतरा बढेपछि एक समय भारतले नाथुला भन्ज्याङमा पूर्ण कब्जा जमाउन पूरै सिक्किम निलेको थियो, अहिले उसका निम्ति लिपुभन्ज्याङ नाथुलाभन्दा कैयौं गुणा बढी महŒवपूर्ण भएको छ ।
पश्चिमको सीमा विवाद
सन् १९२१/१९२२ देखि नै ब्रिटिस भारतले नेपाल, तिब्बत, भुटान, सिक्किम, बर्मा, अफगानिस्तान, इरानलगायत दक्षिण–पूर्वी एसियाको नक्सा बनाउन थालेको र त्यसलाई प्रथम र दोस्रो विश्वयुद्धमा प्रयोग गरेको थियो । त्यसपछि भारतले कोलम्बो प्लानअन्तर्गत सन् १९५०–१९६४ को बीचमा नेपालको सर्भे गरी नक्सा तयार गरेको थियो । उक्त नक्सा नेपालले पाउन भारु ६२ हजार डिपोजिट गरेर २७२ थान पाउने निर्णय भए पनि महाकाली र अन्य त्यस्तै रणनीतिक महŒवका भूगोलको ३० वटा नक्सा उपलब्ध गराएको थिएन । यसको पछाडि आजको अतिक्रमण गर्ने नियत लुकेको रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
संयुक्त राष्ट्रसंघको सहयोगमा २०२९ सालदेखि नेपालमा नापी विभागअन्तर्गत टोपोग्राफिकल सर्भे युनिट स्थापना भयो । भारत, बेलायत र संयुक्त राज्य अमेरिकाले तयार पारेको नक्साहरूका आधारमा त्यसैलाई समायोजन गरी नेपालले २०३२ सालमा आफैंले पहिलो नक्सा तयार पारेको थियो । नक्सा बनाउने कार्यमा क्यानडा र फिनल्यान्डको प्राविधिक तथा आर्थिक सहयोग रहेको पाइन्छ । तर, महाकाली क्षेत्रमा बजेट अभावले सर्भेको काम पूरा भएको थिएन । यद्यपि प्राप्त आधिकारिक नक्साहरूले नेपालको पश्चिम भागमा नहुनुपर्ने सीमा विवाद भइरहेको छ । कतिपय नेपालीहरू भारतको यसखाले रबैयाका कारण ग्रेटर नेपालको मागलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तर्क राख्न बाध्य भएका छन् । यो जस्तालाई तस्तै अपनाउनुपर्ने नीति हो । तर प्राप्त नापनक्साहरू आफैं बोल्छन् ।
(१) सन् १८१६ को नक्सा : इनप्रुभ्ड म्याप अफ इन्डिया शीर्षकको २ जनवरी १८१६ को नक्सामा नेपाल टिस्टा–काँकडा देखिएको छ । यो लन्डनबाट प्रकाशित नक्सा हो ।
(२) सन् १८१९ को नक्सा : स्केच अफ कुमाउ शीर्षकको सन् १८१९ मा सर्भेयर क्याप्टेन एच.एस. बेबले तयार गरी सर्भे अफ इन्डियाले लिम्पियाधुराबाट निस्केको पानीलाई काली नदी र कालापानी यो नदीभन्दा पूर्व देखाएको छ ।
(३) सन् १८२७ को नक्साः गढवाल कुमाउ शीर्षकको १ इन्च बराबर ४ माइल स्केलको १८२७ फेबु्रअरी १ मा इस्ट इन्डिया कम्पनीको हाइड्रोग्राफर जेम्स होस्र्ट सर्जले पार्लियामेन्ट एक्टअनुसार प्रकाशित नक्सामा लिम्पियाधुराबाट निस्केको पानीलाई काली नदी र कालीपूर्व नेपाल लेखिएको छ ।
(४) सन् १८३० को नक्सा : वेस्टर्न प्रोभिन्सेस अफ हिन्दुस्तान शीर्षकको १ इन्च बराबर २२ इंलिस माइल स्केलको सन् १८३० मा लन्डनबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट निस्केको पानीलाई काली नदी र कालीपूर्व नेपाल लेखिएको छ ।
(५) सन् १८३४ को नक्सा : नदर्न इन्डियन अर्डेसस, इन्डो ब्रिटिस्चे रिच शीर्षकको जर्मनीले प्रकाशन गरेको नक्सामा १ इन्च बराबर १५० माइल स्केलमा नेपाल राज्यको उत्तर–पश्चिम सिमाना लिम्पियाधुरा लेखेको देखिन्छ ।
(६) सन् १८३५ को नक्सा : इन्डिया एक्सआइआई इन्डेक्स म्याप शीर्षकको लन्डनबाट प्रकाशित नक्सामा मोटो लाइनले नेपाल राज्यको उत्तर–पश्चिम सिमाना लिम्पियाधुरा देखाएको छ ।
(७) सन् १८३७ को नक्सा : एंग्लो एसियन म्याप शीर्षकको जे.बी. टासिनले तयार गरी फारसी लिपिमा लेखिएको नक्सामा पनि नेपालको उत्तर–पश्चिम सिमाना लिम्पियाधुरा देखाएको छ ।
(८) सन् १८४१ को नक्सा : म्याप अफ इन्डिया शीर्षकको जे.सी. वाल्करले तयार गरेको ४२ कोष बराबर १ डिग्री स्केलको बेलायतबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उद्भव भएको नदीलाई गोग्रा वा सर्जुको पश्चिम शाखा लेखिएको छ ।
(९) सन् १८४६ को नक्सा : द एटलास अफ इन्डिया शीर्षकको लन्डनबाट ४० कोष बराबर १ डिग्री स्केल भएको नक्सामा नेपालको उत्तर–पश्चिम सिमाना लिम्पियाधुरा देखाएको छ ।
(१०) सन् १८५६ को नक्सा : निपाल एन्ड द कन्ट्री एड्भाइजरिङ विथ साउथ, वेस्ट एन्ड इस्ट शीर्षकको नक्सा भारतको सर्भे अफ जनरल अफिसबाट प्रकाशित छ । त्यहाँ पनि लिम्पियाधुराबाट निस्केको पानीलाई काली नदी नाम दिइएको छ ।
(११) डिस्ट्रिक अल्मोरा शीर्षकको सन् १८६५ को नक्सा, नेपाल–अल्मोरा डिस्ट्रिक, युनाइटेड प्रोभिन्स शीर्षकको सन् १८७९ को नक्सा, नेपाल–तिब्बत एन्ड युनाइटेड प्रोभिन्स शीर्षकको सन् १८८१ को नक्सा, नेपाल–तिब्बत युनाइटेड प्रोभिन्स शीर्षकको सन् १९३० को नक्सा र नन्दादेवी–मानसरोवर शीर्षकको अमेरिकाबाट प्रकाशित सन् १९३०÷३१ को नक्साले लिम्पियाधुराबाट निस्केको पानीलाई कुटीयाङ्दी भनी उल्लेख गरेको पाइन्छ । जसलाई महाकालीको मुहान मान्ने गरिन्छ ।
(१२) सन् १९६७ को नक्सा : वल्र्ड एट्लास द्वितीय संस्करण मस्कोमा रुसी भाषामा प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी लेखिएको छ ।
यहाँ हेक्का राख्नुपर्ने पक्ष के छ भने सन् १९७९ मा नेपाल–चीन सीमा नक्सा शीर्षकको नक्सामा नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय सिमाना दक्षिणबाट रातो लाइनले तान्दै टिंकर भन्ज्याङभन्दा केही उत्तरसम्म मात्र पु¥याई त्यसै छाडिएको देखिन्छ । यसले गर्दा चीनले लिपुलेक÷चाङ्ला भन्ज्याङ त्रिपक्षीय बिन्दु मान्न सक्ने देखिन्छ । तर नेपाल–भारतको लामो समयदेखि रहेको विवाद देख्दादेख्दै चीनले चिम्सा आँखाले देखेको कुरा पनि नदेखेझैं गर्नु नेपालका लागि मनासिब देखिएन । अब देश सानो होस् वा ठूलो सबैले समान हैसियतमा संयुक्त प्राविधिकसहित वार्तामा बसी हरेकले हरेकको सार्वभौमिकताको सम्मान गर्न सक्नुपर्ने हुन्छ ।
साभार: रातोपाटी डट कम

No comments:

Post a Comment