शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, July 11, 2015

एक बिहान झमक घिमिरेसँग



-रमेशचन्द्र अधिकारी
दुई दशकदेखि झमक घिमिरेसँग उनको मझेरीमा नियमित भेटघाट हुने गथ्र्यो। तर पछिल्लो तीन वर्ष त्यो शृंखला टुटेको थियो। केवल सामाजिक सञ्जालमा कुराकानी हुन्थ्यो। यस वर्षको असार २१ भने उनको जन्म दिनको सन्दर्भमा शुभकामना प्रदान गर्न उनको घरतर्फ लागें। वर्षात्ले हिलाम्य कच्ची सडक र सल्लेरी वन छिचोल्दै मकैबारी र कान्ला उक्लँदै, ओर्लंदै कचिन्डे गाउँस्थित साहित्यकार घिमिरेको घर पुग्दा उनी आफन्त तथा शुभेच्छुकसँगको भेटघाटमा व्यस्त थिइन्।

रातो टीका, रातै पहिरनमा सजिएकी घिमिरेको अनुहारमा निकै चमक थियो। उनले भूकम्पको अनुभवबाट कुराकानी गरिन्। हात गोडा चल्दैन, शरीर सन्तुलित छैन, हिँडडुलको कुरा धेरै परको। तर पनि भूकम्पबाट जोगिने आफ्नै प्रयास र अनौठो अनुभूति सुनाइन्। ‘भूकम्पबाट बच्न आफूभित्र अनौठो बल उत्पन्न भयो, अहिले पुनर्जन्मजस्तै लागेको छ। यस्ता ठूला विपत्का बेलामा हामीजस्ता (शारीरिक अशक्त) मान्छेका लागि असाध्यै गाह्रो हुँदो रहेछ।’


बारम्बार गइरहेको परकम्पको बेला केहीपटक त आमा र बहिनीको मद्दतले उनी सुरक्षित स्थानमा पुगिछन्। तर एकपटक एक्लै भएको बखत आफूभित्र अनौठो बल सिर्जना भएको गोडाका औंलाले लेखिन्, ‘मभित्र उत्पन्न बल यस्तो थियो, अहिले आफैं अचम्मित हुन्छु, बेडमा बसेर लेखिरहेको बेला कम्पन सुरु भयो, के गरूँ कसो गरूँ भन्दाभन्दै कम्पन रोकिएन र बल गरेर नजिकको झ्यालमा उक्लिएर बसें।’ उनले आफू जोगिन उक्लिएको झ्याल देखाइन्, जुन ठाउँमा सामान्य अवस्थाको मान्छे पनि सहजै अट्न सकिन्न।
झमकलाई झ्यालमा देखेर उनकी आमा आशाकुमारीले आफू अचम्मित भएको सुनाइन्। ‘मानिसभित्र लुकेको एक प्रकारको बल विषम अवस्थामा मात्र निस्कँदोरहेछ,’ घिमिरेले आफूले लेखेको कागज देखाउँदै थिइन्, ‘सामान्य अवस्थामा त्यो बल खै कता लुकेको होला?’ भूकम्पले घिमिरेको घरको चुलिगारो भत्काएको र ठाउँठाउँमा चर्काएको रहेछ।

भूकम्पपछि साहित्यिक गफमा केन्द्रित भइन् उनी। सुरुमा पत्रपत्रिकामा लामो समय भूकम्पबारेकै समाचार र लेखरचना पढ्दापढ्दै दिक्क लागेको उल्लेख गरिन्््। साहित्यबारे छलफल गर्न पाउँदा उनलाई समय बितेको पत्तै हुँदैन रे †सिर्जनाका लागि जुनसुकै समय उनको साथमा कलम–कापी हुन्छ। जब फुर्छ उनी लेख्न सुरु गरिहाल्छिन्। उनका शुभेच्छुकहरू भेटघाट गर्न घरमा नपुगेको कुनै दिनै हुँदैन। यस्तो अवस्थामा भेट गर्नेलाई समय दिन उनी कहिल्यै हिचकिचाउँदिनन्। उनीसँग भेटघाट गर्न स्थापित तथा नवप्रतिभाहरूसमेत पुग्ने गर्छन्। ‘मलाई सम्झिएर भेट्न आउनेलाई म हृदयदेखि सम्मान गर्छु,’ उनले लेखिन्, ‘अरूबाट पनि मलाई सिक्ने र जान्ने अवसर मिल्छ।’

आफूलाई आख्यानमा घचघच्याउने धेरै भएको प्रसंग झमकले कोट्याइन्। लेखिन्, ‘म कविताबाहेक अरू विधामा उत्ति रमाउँदिनँ, आख्यानले मलाई खास छोएन।’ उनले थप प्रस्ट्याइन्, ‘जति कविता लेख्छु उति एक प्रकारको आनन्द आउँछ, त्यो अरू लेख्दा पाउँदिनँ, त्यसैले कविता मेरो मुख्य रोजाइ भएको हो।’

पछिल्लो समय साहित्यमा प्रचारबाजीको होड चलेको उनको अनुभूति छ। ‘तर थाहा छैन किन यसो गरिएको?’ उनको अनुमान छ, ‘सायद आफैंसँग विश्वास कम भएर हुन सक्छ।’ महँगा होटलहरूमा पुस्तक समीक्षाका नाममा प्रचारबाजीको स्वार्थ जोडिन नहुने उनको तर्क छ। स्तरीय पुस्तकलाई पाठक आफैंले पच्छ्याउने उनले स्पष्ट पारिन्।

उनले आत्मपरक निबन्धको बाढी नै आएको बताइन्। ‘यसले कतिलाई बगाउने हो थाहा छैन,’ उनले टिप्पणी गरिन्। केही दिनअघि आफूलाई भेट्न आएका २० वर्षीय युवकले पनि जीवनी निकाल्न लागेकाले सुझाव माग्न आएको प्रसंग उनले बाँडिन्।

झमकलाई स्वास्थ्य प्रतिकूल भएको पीडा छ। ‘पहिले बाँच्ने हो अनि सिर्जना तथा अरू काम,’ उनले भावुक मुद्रामा मतर्फ हेरिन् र कागजमा आफ्ना कुरा कोरिरहिन्, ‘लेखिसकेपछि स्तर र मापदण्ड चाहियो। लेख्न पनि लामो समय छुट्याउनुपर्छ, यसका लागि स्वास्थ्यले साथ दिन सकेको छैन।’ स्वास्थ्य प्रतिकूल हुँदा पनि राज्यले चासो नदेखाएको भनेर लेखिरहँदा उनका आँखा रसाइरहेका थिए। औषधोपचारका लागि परिवारलाई बोझ दिनुपरेको चिन्ता उनले व्यक्त गरिन्।

साभार: कान्तिपुर दैनिक

No comments:

Post a Comment