पूँजी
बजार विश्व अर्थतन्त्रको मुख्य कडी हो । यसलाई अर्थतन्त्रको ऐना पनि
भनिन्छ । पूँजी बजार बिकासको कारणले आज कयोै देशहरुको अर्थतन्त्र सबल
हुनुका साथै लाखौं लगानीकर्ताहरुको आर्थिक प्रगति संभव भएको छ । तर यहाँ
सबै कुरा राम्रा मात्रै हुन्छन् भन्न सकिन्न ।
सन् १९९० को दशकमा भारतीय शेयर बजारमा भएको एउटा ठूलो घोटाला काण्डले लगानीकर्ताहरुलाई सुरक्षित कारोबार गर्न झक्झकाईरहन्छ ।
भारतमा
सन् १९९० ताका हर्षद मेहता नामका एक नामुद शेयर दलाल थिए । बाणिज्य
शास्त्रमा स्नातक गरेका मेहताले सन् १९८० देखि शेयर बजारसम्बन्धी कम्पनीमा
काम सुरु गरेका थिए । उनी सन् १९९० मा प्रतिष्ठित शेयर कारोबारीमा स्थापित
भएपछि आफ्नै कम्पनी खडा गरे र बम्बई स्टक एक्सचेन्जले शेयर दलालको लाईसेन्स
दिएपछि एसोसियट सिमेन्ट कम्पनी (एसीसी) को शेयर किनबेच तीब्र पारे ।
कहाँबाट आउँथ्यो पैसा ?
शेयर खरिद गर्न मेहताले बैंकहरुबाट नक्कली भुक्तानी रसिदहरु बनाउन लगाई
त्यतिखेरका साना बैंकहरु बैंक अफ काराड ( बीओके ) र मेट्रोपोलिटन कोअपरेटिभ
बैंक(एमसीबी) लाई प्रयोग गरेका थिए । सर्वसाधारणलाई दश हजार रुपैयाँ ऋण
दिन दशौ पटक दुख दिने र अनेक खालका धितो र कागजातहरु माग्ने बैंकहरुले
मेहतालाई करोडौं सहजै पत्याउँथे । बैंकहरुले जारी गरेको नक्कली रसिदहरु
जसलाई आज नेपालका बैंकहरुले जारी गर्ने गुड फर पेमेन्ट चेक सरह मान्निथ्यो,
त्यो लिएर उनीहरु ठूला बैंकमा जान्थे र सहजै त्यस वापतको ऋणको भुक्तानी
लिन्थे । किनभने यस्ता रसिदहरु वापत बैंकले धितो प्रत्याभुति गरिएको हुने
विस्वास गरिन्थ्यो तर वास्तवमा त्यो थिएन । यसरी मेहताले चार अर्ब रकम
नक्कली रसिदबाट लिएर शेयर किनबेच गरेका थिए । जुन बेला शेयरको भाऊ चढ्दै
जान्थ्यो, त्यो बेला शेयर बेचेर उनी ऋण पनि चुक्ता गर्दै जान्थे । सुरुमा
उनले आफ्ना सबै गतिविधि कानुनी रुपमा गरेको भान पनि पारे र बैंकहरुको
विस्वास जितेर चालिस अर्ब भारतीय रुपैयाँ ऋण निकालेका थिए ।
उनले शेयर बजारबाट सस्तोमा शेयर उठाउँथे र मूल्यले आकाश छुने गरी
बढाउँथे । यसै क्रममा उनले एसोसियट सिमेन्ट कम्पनी (एसीसी) को प्रति शेयर
२०० रपैयाँ किन्न सुरु गरी ९००० रुपैयाँ सम्म पुर्याएर ४४०० प्रतिशतसम्मले
मूल्य बढाए । शेयर मूल्य ५० पैसामा ओलिएको अर्को कम्पनीको शेयरलाई उनले
किन्दै लगेर २० रुपैयाँसम्म पुर्याए । उनी यस्ता शेयरहरु अझै मूल्य
बढ्नुपर्ने खालको भएको र वास्तविक मूल्य भन्दा तल रहेको बताउने गर्थे ।
समस्या कहाँबाट सुरु भयो ?
यस्तै प्रकारले मेहताको चलाखीपूर्ण ब्यवहारले भारतीय शेयर बजारमा
उछाल आईरहेको थियो । मेहताको चलाखीबारेमा कसैलाई जानकारी थिएन । कतिपय
सरकारी अधिकारीहरु शेयर बजारमा उछाल आउनुको कारण उदारीकरण हो भनेर गफ
लगाईरहेका थिए । नियमनकारी निकाय भारतीय सेक्युरिटीज बोर्ड (सेवी) कानमा
तेल हालेर बसेको थियो । सोही बर्षको अप्रिल २३ मा टाईम्स अप ईण्डियामा शेयर
दलाल मेहताको बारेमा सुचेता दलाल नामका पत्रकारले खोजमुलक लेख प्रकाशित
गरिन् । त्यसपछि मेहताको गलत कामको पोल खुल्यो ।
जब मेहताले शेयरको मूल्य चढाउँदै लगेर बेच्ने तरखर गर्दै थिए, बजार
त्यही बेला ध्वस्त (क्र्यास) भयो । नक्कली रसिदको आधारमा मेहताले शेयर
कारोबारको रकम भुक्तानी गरेको पोल खुलेपछि बैंकहरुले त्यस्तो रसिदको
कारोबार गर्न र भुक्तानी गर्न छाडी डुबेको रकम उठाउँन ताकेता गर्न थाले ।
शेयरबजारमा ठूलो हलचल पैदा भयो । महेताको नक्कली रसिद जारी गर्ने प्रकरणमा
मुछिएका बिजया बैंकका अध्यक्षले आफ्नै बैंक भवनमाथिबाट हाम्फालेर आत्महत्या
गरे भने अरु कयौं बैंकका अधिकारीहरुले गलत काम वापतको सजाय भोग्नु पर्यो ।
त्यतिखेर भारतीय बैंकहरुमा कम्प्युटर प्रणालीको प्रयोग नहुनुले यस्तो
बदमासी गर्न सहयोग पुगेको आँकलन गरिएको थियो ।
मेहता मरे, रकम डुब्यो
सन् १९९२ मा मेहता बिरुद्द ७२ वटा अपराधिक मुद्दा लगाई पक्राउ गरियो र
उनलाई शेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाई अनुसन्धान सुरु गरियो ।
उनीसँग विभिन्न ९० कम्पनीको अठ्ठाइस लाख कित्ता शेयर रहेको कुरा भारतीय
केन्द्रीय अनुसन्धान ब्यृुरो(सीबीआई)ले पत्ता लगायो । उनको शेयरको त्यस
बेलाको मूल्य तीन करोड ९० लाख अमेरिकी डलर अर्थात भारतीय रुपैयाँ दुई अर्ब
५० करोड थियो । सन् १९९९ मा बम्बे उच्च अदालतले उनलाई पाँच बर्ष जेलका साथै
२५ हजार रुपैयाँ जरिवानासहितको सजाय तोक्यो ।
थाने जेलमा सजाय काटिरहेको बेला सन् २००१ डिसेम्बर ३१ को बिहान उनलाई
छाती दुखे पछि स्थानीय सिभिल अस्पतालमा भर्ना गरिएकोमा सोही दिन उनको ४७
बर्षको उमेरमा मृत्यु भयो । मर्ने बेलासम्म पनि उनीमाथि लागेको २८ वटा
मुद्दाको फैसला हुन बांकी मात्रै थिएन, एसीसी सिमेन्ट कम्पनीको दश प्रतिशत
शेयरका धनी उनी अझै थिए । तर, मेहता मरे पनि भारतीय बैंकहरुको त्यो बेला
डुबेको रकम भने अझै उठेको छैन ।
साभार: merolagani.com