“अंग प्रदर्शन गरेर चर्चा कमाउन खोज्न लालायित अधिकांश हिरोइन पलायन भएका छन्। फिल्मवृत्तमा बाँकी रहेका त्यस्ता केही हिरोइनको पनि ‘ भाउ’ छैन। भल्गर र ग्ल्यामरबीच भेद खुट्याउन नसक्ने हिरोइन ढिला- चाँडो पलायन हुन्छन् नै।”
उत्तेजक भूमिकाका कारण करिअर डामाडोल भएकी सुमिना पहिलो हिरोइन भने होइनन्। खास गरी चपली हाइटको सफलतापछि यौनलाई प्राथमिकता दिई फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढ्यो। बोल्ड दृश्य दियो भने विनीता बरालजस्तै हिट भइन्छ भन्ने लहड चल्यो। तर, न त्यस्ता फिल्म व्यापारिक रूपमा सफल भए, न हिरोइनको करिअर उचाइमा पुग्यो। बरू सुमिनाजस्तै पलायन हुनुपर्यो। कतिसम्म भने विनीता स्वयं पनि फिल्मवृत्तबाट गुमनाम छिन्।
यस्ता अभागी हिरोइनको सूची लामो छ, पलपलमाकी सुजाता सिटौलादेखि बिन्दासकी सुषमा कार्कीसम्म यही सूचीमा अटाउँछन्। पारिवारिक फिल्म बनाउने निर्देशकका रूपमा कहलिएका नवल नेपाल कामुकताका नाममा उत्तेजक दृश्यलाई प्रश्रय दिने हिरोइनले फिल्म क्षेत्रबाट बाहिरिनुुपरेको बताउँछन्।
विनीताजस्तै छोटै समयमा चर्चा कमाएर गुमनाम भएकी अर्की हिरोइन हुन्, सुजाता सिटौला। उकेश दाहाल निर्देशित फिल्म पलपलमामा उत्तेजक दृश्य दिएपछि सुजातातिर धेरैको ध्यान तानियो। तर, रिलिजपश्चात् चौतर्फी आलोचना खेपिन्। अरू कुनै निर्माता/निर्देशकले उनलाई लिने हिम्मत गरेनन्। उकेशकै अर्को फिल्म किन-किनमा कामुक अभिनय गरेका दुई हिरोइन अरुणिमा लामा र शशी खड्काको पनि अत्ताेपत्ताे छैन। अरुणिमाले यो फिल्ममा बेड सिन र चुम्बनका दृश्य मात्र होइन, ब्याकलेस न्युड दृश्य पनि खिचाइन्। निर्धक्क विकिनी लगाइन्। तर, फिल्मको बक्स अफिस कलेक्सनमा उनको जवानीको जादु चलेन। यसपछि उनी अरू फिल्ममा देखिएकी छैनन्। किन-किनमा हिरो राज तिमिल्सिनासँग अधर चुम्बन गरेकी शशी पनि गुमनाम छिन्। त्यसअगाडि फिल्म चन्द्रावतीको नग्न दृश्यले पनि उनको छवि धमिलिएको थियो।
निर्देशक उकेश स्क्रिप्ट मन नपरेर आफ्ना फिल्मका हिरोइनले अरू फिल्म नखेलेको दाबी गर्छन्। कतिपयमा व्यावसायिकता नभएकाले पनि पलायन भएको स्वीकार्छन्। उनले सुजाता आफ्नै व्यवसाय, शशी अध्ययन र अरुणिमा दक्षिण अफ्रिकामा व्यस्त भएको जानकारी दिए।
ब्याच नम्बर १६ मा अर्पण थापासँग चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि सुषमा कार्की हट केक बनिन्। लगत्तै छोटा लुगा र उत्तेजक हाउभाउसहितको फोटो सुटले उनलाई थप चर्चा दिलायो। वक्षस्थलमा सूर्यको ट्याटु खोपाइन्। उनको यही कामुक अवतार बिन्दास र बिन्दास-२ मा देखियो। यो फिल्ममा उनले खुलेर चुम्बनका दृश्य र बेड सिन दिइन् । पारदर्शी लुगा लगाएर पानीमा रुझिन्। तर, बिन्दास-२ रिलिजपश्चात् ओरालो लागेको उनको करिअर अझै माथि उठ्न सकेको छैन्। अहिले उनको हातमा गतिलो ब्यानरको फिल्म छैन। म्युजिक भिडियोमै सीमित हुनुपरेको छ। बिन्दास-२ कै लागि अर्धनग्न फोटो खिचाएकी अनिशा गुरुङले पनि न सफलता पाइन्, न त प्रशंसा। आपत्तिजनक दृश्यलाई प्रश्रय दिएको भन्दै उनलाई सार्वजनिक स्थलमा बहिष्कार गर्नेसम्मका आवाज उठे।
द लास्ट किसले पनि तीन हिरोइनलाई बदनाम गर्यो। बीबी फुयाँल निर्देशित फिल्ममा शोभिता सिम्खडा, बबी रोजा र स्मिता थपलियाका छाडा दृश्य र संवाद समेटिएको छ। फुयाँलले पोस्टरका लागि झन् नग्न र उत्तेजक फोटो सुट गराए। जसका कारण रिलिजअगाडि नै फिल्म र हिरोइन बदनामको सिकार भए। सेन्सर बोर्डले निकै दृश्य काटेपछि यसलाई रिलिज अनुमति दिएको थियो। तर, आफ्नै फिल्मको रिलिज शोभिता र बबीका लागि अभिशाप बन्यो। स्मितालाई चाहिँ फुयाँलले नै निर्देशन गरेको रोमान्सका उत्तेजक दृश्यले किनारा लगायो र अहिले पश्चात्ताप गरिरहेकी छन्। “राम्रै होला भनेर बेड सिन दिएँ,” स्मिता भन्छिन्, “तर, गर्न नहुने काम गरिएछ। अहिले आफैँलाई पछुताे लागेको छ।”
खेताला, लभ इज लाइफ, नाइट क्विनलगायत फिल्ममा उत्तेजक भूमिकामा देखिएकी मोनिका दाहाल, लभ यु म्यानकी प्रनिशा सिलवाल, अपि्रल फुल र जिगोलोकी महिमा सिलवाल, युजमा तातो दृश्य दिएकी सीमा केसीदेखि लकको ‘दे खाइदिन्छु सबै कुरा पैसा तिरेपछि…’ बोलको गीतमा भद्दा डान्स गर्ने सम्झना प्याकुरेलसम्म फिल्मवृत्तबाट पाखा लागिसकेका छन्। महिमा र मोनिकाका केही फिल्म रिलिज हुन बाँकी भए पनि कुनै चर्चा छैन।
फिल्म भनेको ग्ल्यामरको दुनियाँ हो अनि नग्नता आफैँमा आपत्तिजनक हुँदैन। कलात्मक रूपमा प्रस्तुत गरियो भने नग्नता ग्ल्यामर बन्छ होइन भने भल्गर। तर, नेपालमा कलात्मक सोच भएका निर्देशक र हिरोइनको कमी छ। कलात्मक रूपमा देखाइयो र सस्तो प्रचारप्रसारमा प्रयोग गरिएन भने बेड सिन र चुम्बनका दृश्यले हिरोइनको करिअर उकास्छ भन्ने ऋचा शर्मा र निशा अधिकारीले प्रमाणित गरेका छन्। हाइवेमा ऋचाको नग्न दृश्य देख्न सकिन्छ भने निशाले धूँवा यो नशामा आर्यन सिग्देलसँग किस र बेड सिन दिएकी छन्। मायाज बार र मुखौटामा कामुक नृत्य गरेकी छन्। झोलामा गरिमा पन्तले पनि नग्न दृश्य दिएकी छन्। तर, न उनीहरूको आलोचना भयो, न करिअर बिग्रियो।
एटीएम मार्काका हिरोइनले गाली पाए र पलायन भए। किनभने, कथाको माग अनुसार लुगा खोल्न तयार हुने उनीहरूका लागि यही ग्ल्यामर थियो। निर्देशक नेपाल भन्छन्, “भल्गर र ग्ल्यामरबीच भेद खुट्याउन नसक्ने हिरोइन ढिला- चाँडो पलायन हुन्छन् नै।”
साभार: नेपाल साप्ताहिकमा प्रकाशित गोकर्ण गौतमको लेख
साभार: नेपाल साप्ताहिकमा प्रकाशित गोकर्ण गौतमको लेख
No comments:
Post a Comment