शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, November 15, 2014

एकादशीको उत्पत्ति र महिमा

वर्षभरिका एकादशीहरु


-त्रिचन्द्र प्रतीक्षा

परापूर्वकालमा ब्रह्माको वंशमा तालजङ्घ नाम गरेको असुर उत्पन्न भएर पछि उक्त दानव ‘मुर दानव’ नामले प्रसिद्ध भयो । सो दानवको अत्याचारले स्वर्ग लोकका देवगणहरु हैरान थिए ।
सोही दानवलाई समाप्त गर्नका लागि भगवान विष्णुको शरीरबाट अत्यन्त रुपवती एवं दिव्य अस्त्र शास्त्रले युक्त कन्या प्रकट भइन् । भगवानको तेजको अंशबाट उत्पन्न भएकी ती पराक्रमी कन्याले मुरलाई खरानीको थुप्रोमा परिणत गरिदिइन् । तिनै कन्याको नाम साक्षात् एकादशी थिइन् ।
अत्यन्त उग्र र भयंकर मुर दानवको संहार गरेकी एकादशीसँग प्रसन्न हुनभएको भगवान विष्णुले इच्छानुसार वर माग्न भनेपछि देवी दकादशीले भनिन्– ‘‘हे प्रभु हजुरको कृपाले सबै तीर्थमा प्रधान, समस्त विघ्न नाश गर्ने सबै प्रकारका सिद्धि दिने देवी बनुँ’’भन्ने वरदान मागेकी र भगवान विष्णुबाट एकादशीले पाएको वर बाट अत्यन्न प्रसन्न भइन् ।
त्रिचन्द्र ‘प्रतीक्षा’

हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुइटा एकादशी पर्दछन् । यस हिसावबाट एक वर्षमा २४ वटा एकादशी हुने भएता पनि प्रत्येक साढे २ वर्षपछि एउटा अधिकमास पर्दछ र सो साल १३ महिनाको वर्ष मानिन्छ ।

त्यतिबेला दुइटा एकादशी थप हुने भएकोले मलमास परेको सालमा २६ वटा एकादशी पर्न आउँछन्, प्रत्येक एकादशीको आफ्नो अलग नाम र परिचय छ भने सबैको भिन्नाभिन्नै ब्रत उपवासको फल तोकिएको पाइन्छ ।

यसैबीच यहाँ कुन महिनामा कुन कुन एकादशी पर्दछन् भन्ने जानकारी दिइएको छ :
१) बरूथिनी एकादशीः वैशाख कृष्ण पक्षको एकादशी तिथि यस लोक र परलोकमा पनि सौभाग्यदायिनी छन् । गर्भवासको दुःख र आवागमनको पापबाट मुक्ति दिन्छिन् ।
२) मोहिनी एकादशीः वैशाख महिनाको शुक्ल पक्षको मोहिनी एकादशी समस्त पाप हर्न सक्ने उत्तम तिथि हो । यस व्रतको प्रभावले मानिसले मोहजाल र पातकसमूहबाट मुक्ति प्राप्त गर्दछ ।
३) अपरा एकादशीः जेष्ठ कृष्णपक्षको अपरा एकादशीको व्रतको प्रभावले ठूलठूला पातक नाश हुन्छन् । यो एकादशीको व्रत गर्नेले संसारमा प्रसिद्धि पाउँछ ।
४) निर्जला एकादशीः जेष्ठ मासमा सूर्य वृष वा मिथुन राशीमा रहँदा शुक्लपक्षमा पर्ने ‘निर्जला’ एकादशीको यत्नपूर्वक निर्जल रही व्रत गर्नुपर्दछ । एकादशीको सूर्योदयदेखि द्वादशीको सूर्योदयसम्म जल त्याग गरे मात्र यो व्रत पूर्ण हुन्छ ।
५) योगिनी एकादशीः आषाढ मासको कृष्ण पक्षको योगिनी एकादशी तिनै लोकका लागि सारभूत व्रत हो । अठासी हजार ब्राह्मणलाई भोजन गराउँदा प्राप्त हुने पुण्य यस एकादशीको व्रत गर्नाले प्राप्त हुन्छ । यसबाट महापाप पनि नाश हुन्छ ।
६) हरिशयनी एकादशीः आषाढ शुक्ल शयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवम् मोक्षदायिनी, सबै पापलाई नाश गरिदिने उत्तम व्रत हो । यो एकादशीमा तुलसी रोप्दा त्यस घरमा कलियुगको पाप फैलिँदैन भन्ने विश्वास गरिन्छ ।
७) कामिका एकादशीः श्रावण मासको कृष्णपक्षकी कामिका एकादशीको स्मरणमात्रले वाजपेय यज्ञको फल मिल्दछ ।
८) पुत्रदा एकादशीः श्रावण शुक्लपक्षकी पुत्रदा एकादशी मनोवाञ्छित फल दिनेवाली छन् । यस एकादशीको व्रत गर्नाले पुत्र प्राप्त हुन्छ ।
९) अजा एकादशीः भाद्र कृष्णपक्षको अजा एकादशी समस्त पाप नाश गर्ने तिथि हुन् । जसले भगवान हृषिकेशको पूजा गरी व्रत बसी रात्रि जागरण गर्दछ उसका सम्पूर्ण पाप नष्ट हुन्छन् ।
१०) पद्मा एकादशीः भाद्र शुक्लपक्षकी पद्मा एकादशी ज्यादै उत्तम र पुण्यदायी तिथि हुन् । यसमा भगवान् हृषिकेशको पूजा गर्नुपर्दछ ।
११) इन्दिरा एकादशीः आश्विन कृष्ण पक्षकी इन्दिरा एकादशीको व्रतको प्रभावले ठूलठूला पाप नाश हुन्छन् साथै नीच योनिमा परेका पितृलाई समेत सद्गति मिल्दछ ।
१२) पापांकुशा एकादशीः आश्विन शुक्लपक्षकी पापांकुशा एकादशी समस्त पाप नाश गर्न सक्ने उत्तम तिथि हुन् । यस तिथिमा सम्पूर्ण मनोरथ प्राप्तिका लागि भगवान् वासुदेवको पूजा गर्नुपर्दछ ।
१३) रमा एकादशीः कार्तिक कृष्णपक्षकी रमा एकादशी परम कल्याणमयी, उत्तम एवं समस्त पाप हर्नेवाली छन् । यस दिन श्रीहरिको पूजा गरी रात्रि जागरण गर्नुपर्दछ ।
१४) हरिबोधिनी एकादशीः कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिनदेखि क्षीरसागरमा शयन गरेका भगवान् विष्णु चार महिनापछि यसै एकादशीका दिन निद्राबाट ब्युँझन्छन् भनिन्छ ।
१५) उत्पन्ना एकादशीः मंसीर कृष्ण पक्षकी उत्पन्न एकादशी देवी एकादशीको प्रादुर्भाव भएको तिथि हो । यी एकादशी अत्यन्त पुण्यदायिनी छन् ।
१६) मोक्षदा एकादशीः मोक्षदा एकादशीका दिनमा यत्नपूर्वक तुलसीको मञ्जरी र धूपदीपादिले भगवान् दामोदरको पूजा गर्नुपर्दछ । मंसीर शुक्ल पक्षको मोक्षदा एकादशी ठूलठूला पाप नाश गर्नेवाली छन् ।
१७) सफला एकादशीः पौष कृष्ण पक्षको सफला एकादशीका अधिदेवता नारायण हुन् । तिनलाई विधिपूर्वक विशेष पूजा गर्नुपर्दछ । वैष्णवहरुको सत्र्सगमा रात्रि जागरण रहनाले जुन फल प्राप्ति हुन्छ त्यो हजार वर्ष तपस्या गरेर पनि प्राप्त हुँदैन ।
१८) पुत्रदा एकादशीः पुत्रदा एकादशी समस्त पाप हरण गर्ने तिथि हुन् । समस्त मनोकामना पूरा गरिदिने एवम् सिद्धि प्रदान गर्ने श्री नारायण यस तितिका देवता हुन् । यो एकादशी पौष शुक्ल पक्षमा पर्दछ ।
१९) षट्तिला एकादशीः माघ महिना लागेपछि स्नानादिबाट पवित्र भइ आफ्ना इन्द्रियलाई संयममा राखी काम, क्रोध, लोभ, अहंकार, परनिन्दादि त्याग गर्नुपर्दछ ।
२०) भीमा एकादशीः माघ शुक्ल पक्षकी भीमा एकादशी सम्पूर्ण पाप हरण गर्ने तिथि हुन् । यो व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्दछ ।
२१) विजय एकदशीः फागुन कृष्ण पक्षमा आउने विजया नामकी एकादशीले राजाहरुलाई विजय प्रदान गर्दछिन् । सर्वप्रथम दशमीका दिनमा सुन, चाँदी, तामा अथवा माटोको कलश स्थापित गरेर त्यसमा जल भरि फूलपाती (पल्लव) राख्नुपर्दछ ।
२२) आमलकी एकादशीः फागुन शुक्ल पक्षकी आमलकी एकादशीको पवित्र व्रतले विष्णुलोक प्राप्त हुन्छ । भगवान् विष्णुले थुक्दा उनको मुखबाट चन्द्रमासमानको कान्तिवान् विन्दू प्रकट भइ पृथ्वीमा खस्यो र अमला (आमलकी) को महान वृक्ष उत्पन्न भयो ।
२३) पापमोचनी एकादशीः चैत्र कृष्ण पक्षकी पापमोचनी एकादशी व्रत गर्नाले सम्पूर्ण पापको क्षय हुन्छ । यो एकादशीको विधिपूर्वक व्रत बस्नाले पापबाट मुक्ति मिल्दछ र पिशाचत्वबाट छुटकारा पाउँछ ।
२४) कामदा एकादशीः चैत्र शुक्लपक्षकी कामदा एकादशी परम पुण्यमयी छन् । व्रह्मइत्यादि पाप तथा पिशाचत्वादि दोषबाट मुक्तिदायिनी छन् ।
अधिकमासका एकादशी
२५) परमा –अधिक कृष्ण पक्षमा
२६) पद्मिनी –अधिक शुक्ल पक्षमा

No comments:

Post a Comment