शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, December 4, 2012

मंसिर १९, नारायण गोपाल र १९ रहस्य


१९ अंक नेपालीहरुका लागी अफाप नै भन्दा हुन्छ । चाहे गतेमा होस् वा  तारिक यो दिनमा इतिहासमा निकै ठूला दुर्घटनाहरु भए। २०५८ जेष्ठ १९ को घटनासँगै १९ लाई अशुभ मानिए पनि एक राजनीति शास्त्रीका अनुसार बहुदल पछि  मात्र हैन २०१९ को  संविधानसँगै  नेपालमा १९ कै  दिन थुप्रै घटनाहरु भएका छन् । एक त नेपाल कै इतिहासमा सबैभन्दा बढ़ि संशोधित, लामो समयसम्म चलेको असफल संविधान हो  यो ।  तर राजनीतिमा मात्र होंइन १९ को आक्रमण नेपाली संगीतमा पनि पर्‍यो भर्खर कै कुरा गर्ने हो भने पनि  यही  नोभेम्बर  १९  का दिन भएको संगीतकर्मी राम थापाको निधन जसको संगीतमा रहेको ऋतुहरुमा तिमी बोलको गीत विश्व कै  १० उत्कृष्ट गीतभित्र पर्न सफल भएको थियो। तर बहुदल पश्चात् को  पहिलो चरणमा नेपाली सुगम संगीतका  सिरानी व्यक्तित्व  स्वरसम्राट नारायण गोपालको निधन अर्थात् नेपाली संगीतमा एउटा इतिहासको अन्त २०४७ मंसिर १९ । युगले जन्माउँछ सामान्यलाई तर युगलाई जन्माउने बिरलै हुन्छन भने झै‌ नारायण गोपालको स्वर र संगीतले मौलिक नेपाली सुगम संगीतको प्रतिनिधित्व गर्छ। काठमाण्डौको किलागलटोलमा सम्बत् १९९६ साल असोजको १८ गते जन्मनु भएका नारायण गोपाल आफ्ना पिता आशागोपाल गुरुवाचार्यको प्रेरणाले संगीतमा लाग्नुभयो। स्वरसँगै संगीतले पनि नेपाली स्रोताको मन कब्जा गर्न सफल स्वरसम्राटले संगीतमा कहिले सम्झौता गर्नुभएन। त्यासकारण वहाँ का गीत फूलको जवानी जस्तो शीतको काहानी जस्तो भन्न मन पाराउँथे संगीतकारहरु झन्नै ५०० भन्दा बढी गीतमा  स्वर र ३०० जति गीतमा संगीत समेत दिनुभएका नारायण गोपालको २०२७ फागुनमा पेमला लामासँग विवाह भए पनि कुनै सन्तान हुन सकेन अहिले पेमलाको पनि मृत्‍यु पछि केबल वहाँका  गीत संगीत मात्र हो स्वर सम्राटको सम्झना । ४ दाजुभाइ तथा ३ दिदीबहिनीमध्ये एक नारायण गोपालले नेपाली संगीतमा पुर्‍याउनु भएको योगदान स्वरुप दर्जनौ सम्मानबाट सम्मानित हुनुहुन्छ। ५१ वर्षे जीवनायात्रामा वहाँका थुप्रै गोप्य फाइलहरु छन् जसमध्ये  संक्षेपका १९ रोचक प्रसंग ।

१-  नारायण गोपालले स्वरसम्राटका रुपमा विशिष्टता  पाउनु भएपनि वहाँको जीवनको पहिलो पुरस्कार भने संगीत विधाका लागि मिलेको थियो। २०२३ सालमा रेडियो नेपालले प्रदान गरेको सर्वोत्तम संगीतकारको पुरस्कार नै वहाँको जीवनको पहिलो पुरस्कार हो। त्यस को १ वर्ष पछिमात्र वहाँले गायनका लागि पुरस्कार पाउनु भएको थियो।

२- कुस्तीमा निक्कै खप्पिस नारायण गोपाल शारीरिकरुपमा पहलमानका रुपमा कहलिएका थिए। नजिकका साथी नगेन्द्र थापाका अनुसार नारायण गोपालले कुस्ती पनि सिक्नुभएको थियो। यदि वहाँ संगीतमा नलागेको भए इतिहासविद् बन्नुहुन्थ्यो किनकी वहाँ इतिहासमा पनि निकै पोख्त हुनुहुन्थ्यो । 

३- नेपाली इतिहासमा अहिलेसम्म जनताले नै दिएको विशेषण स्वरसम्राट मात्रै हो। यो कुनै व्यक्ति विशेषले दिएको हैन शुरुमा स्वर सम्राट भन्ने कवि भूपी शेरचन हुन् २०२८ सालमा  पोखराको एक कार्यक्रममा भूपिले  नारायण गोपाललाई स्वरसम्राट भनेर सम्बोधन गरेका थिए, पछि गोरखा दक्षिणबाहू दिँदा राजाले पनि स्वरसम्राट नै उच्चारण गरे यसरी  नारायण गोपाल निर्बिबाद स्वर  सम्राट नै रहनु भयो।

४- नारायणगोपाल एक असफल पत्रकार हुन् । २०२८ तिर सुरु गरिएको बाजा, गीत र नाचको छोटकरी रूप "बागिना" का व्यवस्थापक तथा सम्पादक समेत रहनु भएका नारायण गोपालले यसलाई ३ अंक भन्दा निरन्तरता दिन सक्नु भएन।

५- नेवार कुलमा जन्मिएको भएर पनि हुन सक्छ नारायण गोपाल खानामा निक्कै सौखिन हुनुहुन्थ्यो प्रायः आफूलाई मनपर्ने पारिकार आफै बनाउन मन पराउने  नारायण गोपाललाई बँदेलको साँदेको मासु साह्रै मन पर्थ्यो। यसैगरि अमिलो, पिरो, दुध, घिउ वहाँलाई साह्रै मन पर्थ्यो त्येसैले स्वर बिग्रन्छ भनेर यसलाई कहिले छोड्नु भएन संगीत अन्वेषक प्रकाश सायमीका अनुसार नारायण गोपाल  गुँदपाक, पुष्टकारी  लिएर टुँडिखेलमा बसेर खानु हुन्थ्यो।

६- नारायण गोपालले पूर्व पश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम समेत गर्नु भएको छ गीतकार भीम बिरागका अनुसार राती म तबला बजाउँथे वहाँ एक प्याक लगाएर गाउनुहुन्थ्यो, तर किन कुल्ली काम गर्नु भयो थाहा भएन तर लामो समय चाहीँ गर्नु भएन ।

७- गायक प्रेमध्वज प्रधान १३ सालतिरको कुर सम्झदै भन्नुहुन्छ त्यतिबेला १२, १३  जनाको हामी एउट समुह थियौ। नारायण गोपाल पनि हाम्रो टिमामा थियो। हामी पालैपालो गाउने अनि बजाउने गर्थे ऊ जब नारायण गोपालको पालो आउँथ्यो उ  गाउन  लजाउँथ्यो बजाइ मात्र रहन्थ्यो। एकदिन चाहीँ साह्रै कर गरे पछि गयो अनि मैले भने यति  राम्रो स्वर  भएको मान्छे पनि  लजाउने अब  स्वर परीक्षा  दिनुपर्छ भनेर रेडियोमा मैले नै दिन मिलाए तर गाउने दिन त जानै मानेन बल्ल बल्ल मैले तानेर र योगेश बैद्यले पछाडि बाट धकेल्दै रेकर्डिङ रुममा पुर्यायो  पाँचइको पंखामा धर्तीको याद आयो गीत गाएर उस्ले  स्वर परीक्षा  पास गर्‍यो।

८- नारायण गोपालले युगल गीत गाउन लजाउनु हुन्थ्यो। रत्नशमशेर थापाको शब्दमा सुरु तिरै आफ्नै संगीतमा तारादेवीसँग रेकर्ड गर्नु भएका नारायण गोपालले ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो बोलको गीत एकअर्कालाई नहेरिकन गएको गीत हो यति सम्म कि सँगै रेकर्ड पनि गरिएको होइन तर पछि युगल गीतमा  सबैभन्दा बढ़ी  लोकप्रिय गीत बन्यो।
९- नारायण गोपालको फ्यानको कोटीमा सबैभन्दा धेरै पत्र पठाई रहने युवती हुन पाल्पाकी रुप प्रधान, प्रकाश सायमी आफ्नो पुस्तकमा प्रकाशित सामाग्री बारे भन्छन, एक पत्रमा रुपा प्रधानले नारायण गोपाललाई लेखेकी थिईन, तपाईको गीतले पाइला  रोकिदिन्छ मुटु झस्काइदिन्छ आँसु बगाइ दिन्छ अब भन्नुस् म के गरुँ? जवाफ मा नारायण गोपालले ठट्यौलो पाराले लेख्नु भएछ नारायण गोपालाई या त मृत्युदण्ड दिनु पर्छ या त कालापानी पठाउनु पर्छ।

१०- नारायण गोपाल एकदिन रेडियो नेपाल पुग्नु भयो गीत नबजेर हैन बढ़ी  बजेर वहाँको यो सम्झिने मन छ बोलको गीत रेडियोमा बढ़ि  बज्न थाले पछि वहाँले रेडियोमै गएर कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनुहोला यसले मेरो गीतको  लोकप्रियता घट्छ भन्नु भएछ ।

११- नारायण गोपालको मृत्‍यु हुनु भन्दा अगाडि नै वहाँको मृत्‍युको खबर फैलिएको थियो वहाँको उपचारमा  संलग्न चिकित्सक डाक्टर राममान तृश्रितका अनुसार त्यतिबेला नारायण गोपाललाई ICU मा राखिएको थियो वहाँको नाडीको गति निक्कै धमिलो थियो कहिले आउने कहिले नआउने बेलुकानै मृत्‍युको खबर फैलिसकेछ तर वहाँको निधन मंसिर १९ राती सवा ९ बजे भएको हो।

१२- म सुकिया पोखरी हाइस्कुलमा पढ्थे हाम्रो फोटो आदान प्रदान भइसकेको थिएन । मैले वहाँलाई सुनेको आधारमा कवि कलाकार भनेको लामो लामो कपाल दाह्री, अग्लो पातलो यस्तै सोचेको थिएँ पछि एकदिन गोपाल योन्जन दाईले, ल नारायणगोपाल आउनुभा'को छ हेर्न हिड् भन्नुभयो  अनि वहाँले चिनाइ दिनुभयो मैले त वहाँको साथीलाई पो नमस्कार गरेछु मैले सोचेको  भन्दा बिपरित पाएँ।

१३- नारायण गोपाल र पेमलाको पहिलो डेटिंग दार्जिलिङको सुकिया पोखरीमा भएको हो। पहिलो भेट्मा नै पेमलाले नारायण गोपाललाई प्रश्न गर्नु भएको रहेछ, आजको हाम्रो पहिलो भेटलाई गीत बनाएर गाउन सक्नु हुन्छ? नारायण गोपालले पनि स्विकारेछन पछि आफ्नो साथी नगेन्द्र थापालाई परिस्थिती अनुकुलको गीत लेख्न अनुरोध गर्नुभयो नगेन्द्र थापाका अनुसार उस्ले यदि  तिमीले राम्रो गीत लेखेनौ भने म कहिले पनि तिम्रो गीत गाउँदिन  भनेपछि मैले पनि लेखे "यो मौसम यो हरियाली" तर नारायण गोपालले पेमला कै लागि गाउनु  भएको गीत चाहीँ चिनारी हाम्रो धेरै पुरानो बोलको गीत हो। यो गीत वहाँले पत्र सँगै पेमलालाई चिनो पनि पठाउनु भएको थियो।

१४- Program fixed come soon मैले पठाएको टेलीग्राफ यही हो । काठमाडौँको एक भेटमा संगीतकार कर्मा योन्जन सम्झिनु हुन्छ मलाई केही पनि थाहा थिएन दाईले यति गर्नु पर्छ है भन्नु भो तर पछि यही  देखाएर दार्जिलिङमा मेरो कार्यक्रम हुँदै छ म जानु पर्छ भनेर घरबाट आउनु भएर पेमलासँग पो बिहे गर्नु भएछ मैले पछि पो थाहा पाए पछि बुवा आमाले  नभने भनेर  साह्रै गाली गर्नु भो।

१५- अन्तर्जातिय विवाहको कारण नारायण गोपालको घरसँगको सम्बन्ध केही समयको लागि बिग्रियो त्यसपछि  वहाँ भूपी शेरचन  घरमा निःशुल्क बस्दै आउनु भएको थियो । तर निःशुल्क  बस्नु श्रीमती पेमलालाई उचित वहाँले लागेना पछि वहाँले पोखरा कै  मैना देवी  मा. वि  मा पढाउँदै  त्यसैले  घर खर्च  जुटाउनु भयो।

१६- नेपाली आधुनिक संगीतका पर्यायवाची स्वर  सम्राट नारायण गोपालले औपचारिक रुपमा कसै बाट पनि संगीतको शिक्षा लिनु भएन आफ्नै पितालाई प्रेरणाको रुपामा लिनु हुने  नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गर्नु भएको थियो भने संगीत पढ्न भारतको बढोधामा जानु भएपनि अध्ययन नसकी फर्किनु भएको हो।
पप गीतको औपचारिक सुरुवात ओमबिक्रम बिष्टबाट भएको मानिए तापनि नारायण गोपाललाई सुरुमा पप गीत गाएको भनी आलोचना पनि गरिएको थियो यतिसम्मकी पिता आशागोपाल गुरुवाचार्यले छोरा छाडा संगीतमा लाग्यो  भनी संगीतबाट नै अलग गराउन समेत खोज्नु भएको थियो, हुन पनि नारायण गोपालको सुरुतिर रेकर्ड गरिएका गीतहरु पप शैलीका नै पाईन्छ जस्तै "स्वर्गकी रानी, भो भो मलाई  नसोध"।

 १७- नारायण गोपाल आफूलाई मन नपरे पछि कसैसँग पनि डराउनु हुँदैन थियो कालीप्रसाद रिजाल एक घटना सम्झिदै भन्नुहुन्छ "नारायण गोपालले कति पटक आफ्नै अगाडि गीत मन परेन भनेर च्यतिदिनु भाको छ एकदिन फेरी वहाँले एउटा गीत लेख म लिन आउँछु भन्नु भो अब डर लग्न पो थाल्यो के लेख्ने नराम्रो भए च्यातिदिनुहुन्छ कस्तो लेख्ने भनेर साह्रै पिर पर्‍यो । तैपनि लेखे ३ दिन पछि वहाँ गीत तयार भयो त भन्दै घरैमा आउनु भयो डराइ डराइ कोटको भित्री  गोजीबाट दुई वटा गीत दिए अनि वहाँले २ / ३ पटकसम्म पढ्नु भयो र चिया पनि नखाइ जुरुक्क उठेर हिंड्नु भो म झन अत्तिए राम्रो पनि भन्नु भएन नराम्रो पनि  भन्नु भएन अब झन सम्बन्ध पो बिग्रयो क्यारे भनेको त्यसको सात दिन पछि गीत सुने दुबैलाई मिलाएर एउटै गीत  बनाउनुभएछ। गीत थियो "झरेको पात झैं भयो"।

१८-  नारायण गोपाल सांस्कृतिक सस्थानको महाप्रवन्धक हुँदा कार्यक्रममा ढिलो आएको निहूँमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई निकाली दिनुभएको थियो । यसबाट नारायण गोपाल मुडी स्वभावको हुनुहुन्थ्यो भन्ने प्रष्ट  हुन्छ।

१९- नारायण गोपाल हँसाउनमा निकै खप्पिस हुनुहुन्थ्यो प्रेमध्वज प्रधान भन्नुहुन्छ, वहाँ कहिले कसैको शैलीमा समाचार भनेर त कहिले किशोर र रफीको गीत अर्कै सुरमा गएर रमाइलो गर्नुहुन्थ्यो। उता नगेन्द्र थापा भन्नुहुन्छ , वीर अस्पातालको सैय्यामा नारायण पशुपतिनाथलाई सम्झ है भन्यो उ चाहीँ के  गर्ने नगेन्द्र जति जति पशुपतिनाथ सम्झु भन्छु त्यति त्यति जोगमेहरको अनुहार याद आउँछ भन्नुहुन्थ्यो एकदिन वहाँलाई कसैले सोधेछ राम्रो स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायकलाई के  भनिन्छ? प्रश्न नसकिँदै जवाफ दिनुभएछ कोइला ।

साँच्चै नारायण गोपालको मुटु रक्सी र चुरोटले कोइला जस्तै भइसकेको थियो । त्यसैले ५१ वर्षको उमेरमै वहाँको निधन भयो र नेपाली संगीतको एउटा अध्याय यसरी बन्द भयो २०४७ मंसिर १९ गते । आज स्वर  सम्राट नारायणगोपालको सम्झनाले अन्य संगीतको अतिक्रमणमा परेको नेपाली सुगम संगीतलाई पुन: ब्यूँझाइदिन्छ।  पुण्य स्‍मृति दिवसको  अवसरमा हार्दिक श्रद्धान्जलि  ।

No comments:

Post a Comment