शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 25, 2011

नयाँ वर्ष कहाँ कसरी मनाइन्छ ? -त्रिचन्द्र प्रतीक्षा


विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन‍्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ बर्ष शुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वतले  राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ बर्ष शुरू भएको मानिन्छ । राजा विक्रमादित्यले दिग्विजय गरेपछि आफ्नो नामबाट सम्वत्सर चलाएका थिए । त्यसैलाई विक्रम सम्वत् भन्ने गरेको हो भन्ने भनाई छ ।

नेपाली समाजमा हरेक सालको बैशाख १ गतेलाई मेष संक्रान्तिको नामले चिनिन्छ । सौरमानको हिसाबले यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षको यात्रा पूरागरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्दछन् । सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्वत् अनुसार यस दिनदेखि नयाँ वर्ष शुरू भएको मानिन्छ । विक्रम सम्वतलाई राष्ट्रिय सम्वत् मान्ने हामी नेपालीहरू बैशाख १ गते राष्ट्रिय पर्वको रूपमा मनाउने गर्दछौं ।

विश्वमा नयाँ वर्ष मनाउने समयमा भिन्नता देखिन्छ । उसै गरी हरेक देशको नयाँ वर्ष मनाउने तौर तरीका परम्परा पनि भिन्न भिन्न देखिएका छन् । तर सबैको उदेश्य भने मानव मात्रमा नयाँ वर्ष मंगलमय होस् भनी शुभकामना व्यक्त गर्नु नै हो ।

नयाँ वर्ष मनाउने परम्परा कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा यकिन गर्न नसकिएता पनि एक अनुमान अनुसार पृथ्वीमा जतिबेलादेखि समयदेखि समयको गणना वर्षानको आधारमा गर्न थालियो त्यसैबेलादेखि नै नयाँ वर्ष मनाउने परम्परा आजभन्दा हजारौं वर्ष पूर्व यूनानीहरूले चलाएको देखिन्छ ।

हरेक देश र समाजको जातीय परम्परा र मान्यता अनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दभिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई-धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठहरूको दर्शन पूजन गरी चराचर जगतकै मंगल कामना गर्दै नयाँ वर्ष मनाउने गरेको देखिन्छ । त्यसैगरी कोही आपसमा शुभकामना आदान-प्रदान गरी सुखका साथ नयाँ वर्ष मनाउने गरेको देखिन्छ । यस दिन काठमाडौं उपत्यकाको भक्तपुर शहरमा लाग्ने विस्केट जात्रा र काठामाडौंकै टोखास्थित सपनतीर्थमा लाग्ने मेला राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

यस्तै विश्वका केही देशमा मनाइने नयाँ वर्षको तरीकालाई नियालौं
त्रिचन्द्र प्रतीक्षा
रोमन ग्रीक इन्साइक्लोपेडियामा पनि हर्ष र उमङ्गको साथ नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गरिएको पाइन्छ । त्यसै गरी ब्रिटिस म्यूजियम लण्डनबाट उपलब्ध पुरानो अरबी शोध पत्रानुसार आजभन्दा हजारौं वर्षपूर्व नील घाँटीको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्व सन्ध्याको राती एक सामूहिक भोजको आयोजना गरेर नयाँ वर्ष मनाउने गरेको पाइएको छ, जतिबेला उनीहरू आपसमा नाचगान बजानको साथमा नयाँ वर्षो स्वागत गर्ने गर्दथे ।

यसै गरी ब्रिटिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्यहाँका केही आदिवासीहरू पुरानो वर्षो अन्तिम दिन गाउँ, टोल, छिमेकमा सबै मानिसहरू एकै ठाउँमा जम्मा भएर आ-आफ्नो इष्ट देवताको त्यसमा पनि विशेषगरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ । त्यतिबेला उनीहरू अघिल्लो दिन सूर्यास्तको समयदेखि लिएर नयाँ वर्षो सूर्योदय नहुन्जेल सूर्यकै पूजा एवं उपासना गरेर नयाँ वर्ष मनाउने गरेको देखिन्छ ।

यस्तै इङ्गल्याण्डकै स्कटल्याण्ड-आयरल्याण्ड तथा वरिपरिका क्षेत्रहरूमा कालो कपाल हुने पुरुष तथा महिलाले सम्मान पाउँछन् । यहाँका निवासीमा यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षत् देवताको दूत मान्ने चलन पनि छ । उक्त नयाँ वर्षो दिन विशेषतया अग्ला र काला केश भएका पुरुष तथा महिलाहरूको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतिक मानिन्छ । नयाँ वर्षको प्रभातमा कालोवर्ण मानिस वा कालो वस्तुलाई देखेमा शुभ मान्दछन् ।

जापानमा नयाँ वर्षको बेला हरिया वृक्षहरू घर वरिपरि सजाउनुको साथै शुद्ध जल पिउने गर्छन् । जसलाई ''नव जात जल’’ भन्छन् । नवजात जल पिउनाले उनीहरूको आयुमा वृद्धि र देशमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफूभन्दा मान्यजनबाट आशिष लिने र अरूहरूको ऋण चुक्ता गर्ने गर्छन् । यस दिन चंगा उडाउनुको साथै स-साना बालकहरूको अक्षरारम्भ गर्न यसै दिनलाई जापनीहरू शुभ मान्दछन् । नयाँ वर्षो यस पर्वलाई जापानमा ''याबुरी’’ भन्दछन् ।

चीनमा रातभर जागा बसेर आमा, बाबु र गुरुलाई आदर भाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्नुका साथै स्वादिष्ट भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटकाहरू पट्काउने गर्दछन् । भान्साको देवताको साथै पछिल्लो वर्षाई बिदा दिएर फेरि त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपदानद्वारा स्वागत समारोहमा हर्षपूर्वक लाग्दछन् ।

थाइल्याण्डमा तथा सम्पूर्ण दक्षिण पूर्व एशियाका मुलुकहरूका निवासीहरूले आ-आफ्नो घरको सफा सुग्घर गर्ने, प्रत्येक घरमा दीयो बाली दीपावली गरिन्छ । बौद्ध मन्दिरहरूमा गएर प्रार्थना गर्नुको साथै भिन्न भिन्न प्रकारको रुची लाग्दो खानेकुरा तयार पारी खाने, खुवाउने र नयाँ वर्षो मंगलमय कामना व्यक्त गरी महान वर्षो चाड मनाउने चलन छ ।

बर्माको बर्मेली समाजमा नयाँ वर्षको उत्सवलाई ''विजान’’ भनिन्छ । घर र वरिपरि सजिसजाउ पारेर आफन्तहरूमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । सो दिन शान्ति र सम्वृद्धि प्राप्तिका लागि भगवान बुद्धको पूजा गर्ने चलन छ ।

मेक्सिकोमा नयाँ वर्षको  उपलक्ष्यका दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ भने यसै दिन ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा यस दिन आफ्नो मन नपरेको कुरा जीवनसाथ भए तिनीहरूलाई छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने गरेको पाइन्छ ।

इरान र इराक सहित अरब देशहरूमा नयाँ वर्षो आगमन उत्वसलाई ''नौरोज’’ भन्दछन् । गहूँ तथा जौको हरियो अंकुरा भएकेा भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती र रोटी राख्छन् । यी चीजहरूलाई उनीहरू ''शुभ संकेत’’ को रूपमा लिन्छन् । राति दीयो बालेर त्यसको प्रकाशमा उत्साहपूर्वक रमाइलो मनाउँछन् । 

जर्मनीमा नयाँ वर्षको उत्सव मनाउँदा पानी भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारले भविष्यवाणी गर्दछन् । र, सोही समयमा उनीहरू मिलेर मिठाई बाँडिखाने गर्दछन् ।


कोरियामा नयाँ वर्षको दिन कन्याहरूलाई श्रृंगार पटार गरी गाउँको मुखियाहरूको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरूलाई आफूले चाहेको वरसँग विवाह गर्ने अनुमति दिने गर्दछन् । त्यतिबेला ती मुखियाहरूले गाउँका राजाको प्रतिनिधित्व गरिरहेको विश्वास लिइन्छ । त्यसपछि गाउँमा अर्थात् कन्याले मन चाहेको वरलाई वरण गरिसकेपछि त्यहाँ पुनः सामूहिक नाचको आयोजना गर्ने गरिएको पाइन्छ ।

आजकाल पाश्चात्य मुलुकमा शुभकामना लेखिएको कार्डहरूको आदान-प्रदान गरी नयाँ वर्ष मनाउने चलन बढ्दो छ । यो क्रम हाल भारतीय उपमहाद्वीपमा पनि चल्दै आएको छ । त्यति भएर पनि यहाँ परम्परागत रूपमा नयाँ वर्षमनाउने चलन पनि उत्तिकै तीब्र छ । भ्याटिकन सिटीमा आज पनि क्रिसमसपछि नयाँ वर्षनै हर्षोल्लासपूर्ण मनाउने पर्वका रुपमा मानिन्छ । भ्याटिकनहरू नयाँ वर्ष मनाउने क्रममा पहिलो दिन बिहान आकाशमा सेता सेता परेवाहरू उडाएर र एक ठूलो केक काटेर भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षोल्लासको साथ केक बाँड्ने गरिन्छ ।

फ्रान्समा नयाँ वर्षलाई ''वसिली दिवस’’ को रुपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ भने अष्ट्रेलियामा स्वर्णमुद्रा, ब्रुश, चिम जस्ता शुभ वस्तुहरूको आदान-प्रदान गर्नुको साथै एक आपसमा उपहारहरू साटासाट गरेर मनाउने गरिन्छ । यस्तै अमेरिकामा यस दिन अभिनन्दन समारोह मनाउने चलन छ । न्यूजिल्याण्डमा ब्रिटिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदान प्रदान गर्नुको साथै अनेक किसिमको उत्सव मनाउने परम्परा पनि छ । उता इण्डोनेशियामा नयाँ वर्षको दिन नयाँ लुगाको प्रयोग गरिन्छ र एक अर्कामा श्रद्धा र सहयोगको भावले शुभकामना व्यक्त गरिन्छ ।

समष्टिगतरूपमा भन्दा जहाँ जसरी नयाँ वर्ष मनाउनु भनेको पुराना सबै कुराहरूलाई त्यागेर नित्य नवीनतम सोचाई र उन्नति तर्फ अग्रसर हुनुपर्दछ भन्ने भाव हो, एक अर्कालाई शुभकामना दिनु, शान्तिको कामना गर्नु नै नयाँ वर्षो सन्देश हो भन्नुमा कुनै अत्युक्ति नहोला ।
२०६६ वैशाखको युवामञ्चमा प्रकाशित भएको

No comments:

Post a Comment