शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 22, 2024

मुरारीराज मिश्रका पाँच प्रार्थना

 

  1                             

मुठ्ठी कसेर आयाैं जगमा, जानु छ मुठ्ठी फुकाई ।
गर्नु छ व्यर्थ तेराे मेराे, लानु के छ र भाइ !! शिक्षालय हाे जीवन हाम्रो, चल्छ नित्य सिकाइ ।
`मै हुँ ज्ञानी, मै हुँ जान्ने´ घमण्ड ब्यर्थ छ भाइ ।। कलुषित मनले धर्म कमिन्न, दिनहुँ मन्दिर धाइ ।
परपीडा नै पाप कर्म हाे, बिर्सनु हुन्न है भाइ ।। प्रेमभावले बाेलाैं सबसँग, यही हाे ठूलाे कमाइ ।
अरुको मनमा स्थान बनाइ, जानु पर्दछ भाइ ।। पूर्वजन्मकाे पुण्यकर्मले, मानवचाेला पाइ । `कर्म´ लिएर पर्दछ जानु, जीवन यै हाे भाइ ।। सेवा गर्दै दीनदुःखीकाे, दिन बिताेस् रमाइ`
जति छ शेष, त्यै हाे विशेष, जीवन बुझ है भाइ ।। चाैरासीकाे चक्र पुरा गरी, मानवचाेला पाइ ।
व्यर्थ नफालाैं जीवन आफ्नो, मर्नु पर्दछ भाइ ।।


  2                              

बाहिर निस्कि, ए मन मुर्ख, च्याति भ्रमकाे पर्दा । व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।। आँखाहरुले, देख्छन् जति ती, सारा सेरोफेरो । मुढ ए मन तँ, ठान्छस् किन, याे हाे सबै नै मेराे ।। हाेला पछुतो अन्तिम बेला, काल अगाडि सर्दा । व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।। ठूलो-सानाे, धनी-गरीब, भ्रम हाे दृष्टिकाे मात्रै । हात पसारी जानु छ सबले, ओढि सेताे कात्रै ।। गरे सुकर्म, सजिलो हाेला, वैतरणी नदी तर्दा । व्यर्थ छ गर्नु, तेराे मेराे, के छ र लानु मर्दा ।।
 

  3                              

चुलियाे अहम्‌ता, दाैलत र धनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। बिहानै उठे देखि, मन हुन्न शान्त । याे तेराे, याे मेराे, सधैंकाे लडान्त ।। पाउन्न रत्ति, आराम याे तनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। छुटाउन खाेज्छु म लाेभी प्रवृत्ति । हरेक दिन बढ्छ, घट्दैन कत्ति ।। डुबाउन लाग्यो, अहाे ! स्वार्थीपनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। आफैं रचेकाे, सेरो र फेराे । सर्वत्र देख्छ, मनले अँधेराे ।। कहाँ मिल्छ शान्ति, भनिदेऊ जनले ! हरि नाम जप्न, भुलेकाे छ मनले ।।
 

 
  4                              

छ नै के र मेराे, गराैं के म अर्पण ! सबै हाे याे तिम्रै, तिमी मै समर्पण ।। म जान्दिन केही, पकाउन मीठो । त्यसैले चढाएँ, प्रभाे, जल र पिठो ।। मीठो मानी खाऊ, खुसीले रमाइ । कृपादृष्टिले, हेरिदेऊ हामीलाई ।। छ नै के र... रुखा ती कनिका, पकवान मानी । चढाएँ तिमीमा, महाभाेग ठानी ।। सबै प्रेम घाेलेर, अर्पें चरणमा । ग्रहण गर्दिनुस्, हे प्रभु छु शरणमा ।। छ नै के र... न सक्छु चढाउन, बैजयन्ति माला । न कस्तुरी चन्दन, न ता बाघ छाला ।। तथापि चढाएँ, प्रभाे भाव-भक्ति । म निर्धाे मनुवा, यति नै छ शक्ति ।। छ नै के र... लिई नाम तिम्रो, जति जे जुटाएँ । नमीठा चढाएँ, मीठा आफू खाएँ ।। गरि लाेभ भाे, भूल जानीनजानी । दयानाथ राख, कृपा पुत्र ठानी ।। छ नै के र... भएँ धेर आशक्त, तृष्णा र धनमा । म छु पूर्ण भन्ने, थियाे दम्भ मनमा ।। रहेछु म रित्तो, गरुँ के समर्पण ! गरें भावले प्रेमका पुष्प अर्पण ।। छ नै के र... 

 
  5                              

छँदा गर्भमा, साेच्दथें याे म गर्छु । सबै जीवकाे हितमा, लागि पर्छु ।। जसै जन्मिएँ, त्याे सबै विस्मरण भाे । म हुँ शक्तिशाली, यही मात्र भ्रम भाे ।। न कैले मनैमा, हरिनाम लेखें । न दुखीहरुमा, प्रभुलाई देखें ।। न भाेकाहरुलाई, खाना खुवाएँ । दयाभाव राखिन, उल्टै रुवाएँ ।। म खाउँ, म बाँचु, रह्यो साेच यत्ति । बन्याे चित्त सानाे, झिंगा-शिर जत्ति ।। न बाँडे कतै प्रेम, बन्दै सुपात्र ।। सधैं मै हुँ भन्दै, बनें दम्भी मात्र ।। न संगत गरें साधु, सज्जनहरुकाे । गरि रिस मात्रै, बसें म अरुको ।। फलेको कुनै, वृक्षजस्ताे झुकिन । पूरा गर्न स्वार्थ, म कैले चुकिन ।। न लागें म सद्-मार्ग, बाटो बिराएँ । सधैं माेह मायाहरुमैं हराएँ ।। दियाै धेर तिम्ले, न कैल्यै सह्राएँ । सधैं क्यै पुगेन, भनेरै कराएँ ।। न कैले दु:खीलाई, मैले सघाएँ । गरें गाली मात्रै लघारें, रुवाएँ ।। लिई दम्भ मनमा सधैं नै रमाएँ । अहाे ! दिव्य चाेला फगत्‌मा गुमाएँ !! न मानें कुनै धक्, कहीँ पाप गर्दा । रमाएँ अरुकाे, लुटि खल्ती भर्दा ।। तिमीलाई बिर्सें, सधैं सुख पर्दा । सघाऊ मलाई, वैतरनी तर्दा ।। न डाकें तिमीलाई, आदर गरी । न राखें याे मनभित्र, श्रद्धा भरी ।। न आएँ म मन्दिर, अगाडि सरी । गर माफ सारा, चतुर्भुज हरि ।। न सत्कर्म, शास्त्रादिमा, मन लगाएँ । न भाे पाठपूजा, त्यसै दिन बिताएँ ।। न तीर्थै घुमे म, न गङ्गा नुहाएँ । अहाे ! दिव्य चाेला, फगतमा गुमाएँ ।। भयाे बृद्धकाया, बखत भाे मरणकाे । अनि याद आयाे, प्रभुकाे शरणकाे ।। म बुझ्दैछु बल्ल, झुठो रैछ सृष्टि । परें म चरणमा, प्रभु देऊ दृष्टि ।।

-कुमारीगाल, उमामहेश्वर मार्ग, काठमाडौं -७


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com  


No comments:

Post a Comment