शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 8, 2020

फागु पर्वको परम्परा


–त्रिचन्द्र प्रतीक्षा
हाम्रो समाजमा होलीको पूर्वसन्ध्यामा देखिने यस्ता विकृति बढ्दैछ विशेष गरेर क्याम्पस, स्कुलको छत, कम्पाउण्डमा बसेर केटीहरुलाई लक्षित गरेर लोला हान्ने त्यस्तो हेरेर मज्जा लिने गरेको देखिन्छ । केही वर्षअघि देखि प्रहरी प्रशासनले समय अगावै बाटो बाटोमा बसेर लोला हान्ने व्यक्तिहरुलाई कार्यवाही गरेको देखिन्छ । लोला हान्ने प्रवृत्ति केही कम भएको महसुस गरे तापनि भित्री गल्ली बाटोहरुमा भने यस्तो विकृति मौलाएको पाइन्छ । प्रहरी प्रशासनले यसतर्फ पनि चासो देखाउने पर्ने देखिन्छ भने सम्बन्धित प्रशासनले होलीभन्दा पहिले यस्ता कार्य गर्ने व्यक्तिहरुलाई कानुन कार्यवाहीको लागि पनि पहल गर्नुपर्छ ।
 
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमालाई होली पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वको रुपमा पनि लिइन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङ्गमा रङ्गीएर उल्लासपूर्वक मनाउने गरिन्छ । फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरु एकआपसमा खुसी सातासात गर्छन् । साथी–साथी मिलेर गाउँदै, बजाउँदै र रमाइलो गर्दै आपसी रीसईवीलाई बिर्सेर उत्साह र उमंगकासाथ मनाइने गरिन्छ । वास्तवमा भन्ने हो भने होली एउटा सांस्कृतिप पर्व पनि हो । नेपाल लगायत भारतमा समेत समान तरिकाले यो पर्व मनाइने गरिन्छ ।
त्रिचन्द्र प्रतीक्षा


अन्य देशहरुमा पनि फागुजस्तै रङ्गहरुको पर्व आयोजना हुने गर्द । भारतमा ‘फागु’, ‘होली’ का रुपमा विशेषरुपमा प्रसिद्ध छ । म्यानमारको ‘टिङ्गुलॉ र थाइल्याण्डको ‘साक्रान’ प्रसिद्ध छन् । यस्तै अमेरिकाको ‘हेलोइन’, जर्मनीको ‘इस्टर’, पोल्याण्डको ‘आरसिना’, स्लोभाकियाको ‘बोलियाकोनोन्स’, इटालीको ‘रडिका’, अफ्रिकाको ‘ओगेना बोगा’, चीनको ‘च्वेज’ पर्वहरु फागु पर्वजस्तै रङ्गीचङ्गी, स्वच्छन्द र उल्लासपूर्ण वातावरणको पृष्ठभूमिमा मनाइने पर्व हुन् ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको बसन्तपुर दरबार अगाडि चीर (विशेषरुपले सजाएको लिङ्गो) गाडिन्छ । त्यस लगत्तै होली सुरु भएको मानिन्छ । पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि फागु समाप्त भएको ठानिन्छ । काठमाडौँमा फागु पूर्णिमाको मध्यरातमा नै नेवार जातिले टुँडिखेलको मध्येभागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ ।

फागु मनाउने सन्दर्भमा चाँगुनारायणमा राधा र वंशगोपालका मूर्तिलाई रथमा राखी यात्रा गराइन्छ । रथलाई परम्परागत रुपमा चाँगुनारायण मन्दिरको परिक्रमा गराइन्छ । रथयात्रापछि चाँगु क्षेत्रमा होलीको सुरुवात भएको मानिन्छ । यसरी प्रचलित फागुन शुक्ल पूर्णिमामा होली मनाइने परम्परा रहेको छ तर लिच्छविकालमा भने पौषपूर्णिमामा होली मनाएको तथ्य गोपालराजवंशावलीमा लिखित ‘श्रीमानदेव पोष्यपूर्णमी होलि कृतम्’ भन्ने शब्दावलीबाट खुल्न आउँछ । यस्तै मल्लकालीन अभिलेखहरुबाट मल्लराजाहरु आफ्नो दरबारको सामुन्ने मयलको रुख गाँडेर फागु पर्व मनाउँथे भन्ने कुराको पुष्टि हुन्छ । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहको समयमा हनुमानढोका गद्दीबैठक अगाडि रङ्गी विरङ्गी कपडा टाँगेर बनाइएको तीन छते चीर गाडेर फागुको उत्सव नाचगान गरी बडो उल्लास र उमङ्गका साथ मनाइन्थ्यो भन्ने कुरा ‘दिव्य उपदेश’ मा उल्लेख गरेको पाइन्छ ।

भक्तपुर दत्तात्रय मन्दिरअगाडि रहेको भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीक झुण्ड्याएर होली पर्व मनाइने गरिन्छ । होली सुरु हुनुअघि उक्त लिङ्गलाई भक्तपुर सहर घुमाइन्छ र पूजा गरी सा“झ मन्दिरको पाटीमा झुण्ड्याई होली पर्व सुरुवात गरिन्छ । नेवारी परम्पराअनुसार यसको अर्थ ‘चिरस्वायगू’ अर्थात् ‘लिङ्ग र योनी’ बीच समागम हो ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वका रुपमा दाँज्दै आएको धौभडेलले बताए । ‘वसन्त ऋतु आगमन फागुनदेखि हुने र यो समय यौन ऊर्जाको समय मानिने भएकाले होली पर्वसँग यसको सम्बन्ध रहेको मानिन्छ,’ उनले भने, ‘सांकेतिक रुपमा यौनस“ग सम्बन्धित फागू पर्व कतै कृष्ण त कतै प्रल्हादस“ग जोडिए पनि भक्तपुरमा भने भीमसेनस“ग सम्बन्धित रहने गरेको छ ।’ जुन महाभारतको पात्रहरु यसमा केन्द्रीत भएको पाइन्छ ।

हिमाली र पहाडी भेकमा पूर्णिमामा मनाइने ‘फागु’ तराई भेकमा भोलिपल्ट मनाइन्छ । होलीको चीरदहलाई तराई प्रदेशमा ‘सम्मत’ जलाउने भनिन्छ । थारु जातिले पुरै महिनासम्म नाचगान गरी ‘फगुवा’ पर्व मनाउँछन् भने गुरुङ समाजमा ‘रोदीघर’ मा रमाइलो गर्दै ‘फागु’ मनाइन्छ । पाल्पा र तनहूँमा मगरसमुदायले राधा र कृष्णको गुणगान गर्दै फागु मनाउँछन् भने मैथिली समाजमा पनि होली विशेष गरी प्रसिद्ध मानिन्छ । अछामी समाजको फागु पनि दर्शनीय र प्रशंसनीय मानिन्छ ।

किंवदन्ती जे जस्तो भए तापनि रङ्मा रङ्गिएर उल्लास र खुसीयालीपूर्वक मनाइने यस पर्व केही वर्षअघिदेखि हाम्रो समाजमा विकृतिको रुपमा देखिन थालेको छ । होली सुरु हुनु भन्दा १०÷१५ दिन पहिलेदेखि नै बाटोमा हिड्ने युवतीहरुलाई लक्षित गरेर फोहर पानी प्लाष्टिकमा भरेर हान्ने प्रवृत्ति देखापरेको छ । यस्तो परम्पराले हाम्रो संस्कृतिको जगेर्ना नहुने भएकोले यस तर्फ आजका युवावर्गहरु सचेत हुनु नितान्त आवश्यकता छ भने अभिभावकहरुले पनि यस्तो विकृतिलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

नेपालीहरुको राष्ट्रिय पर्व रङ्गहरु र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरुले समेत मनाउने गर्दछन् । जहाँ जसरी फागु पर्व मनाउने गरे तापनि आखिरमा यसपर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुसीयाली बाँड्नु नै होलीको पर्याय हो भन्नु पर्छ । हाम्रो चाडले हामीलाई आनन्द दिन्छन् । मानव जीवनमा मङ्गल एवं सौभाग्यलाई आमन्त्रित गर्दछन् । जुन वसन्त ऋतुको आगमनसँगै यसलाई हर्षपूर्वक स्वागत गरिन्छ ।

गोरखापत्र दैनिक, फागुन २७, २०७३ मा प्रकाशित


No comments:

Post a Comment