- त्रिचन्द्र प्रतीक्षा
राष्ट्रिय
झण्डाको वास्तवमा त्यस देशको प्रतिनिधित्व गरेको हुन्छ । जसलाई समग्रमा भन्नुपर्दा
गौरवको प्रतीकको रुपमा लिने गर्दछ । आजभोलि विभिन्न संघ-संस्था
लगायत धार्मिक सम्प्रदायको पनि झण्डा फर्फराउने प्रचलन बढेको पाइन्छ । विशेष गरी झण्डामा
प्रयोग गरिएका रङ्गहरुले भिन्दाभिन्दै अर्थ बोकेको हुन्छ । त्यसमध्ये बौद्ध झण्डा पनि
एक प्रमुख हुन् । त्यसमा पाँच रङ्गको समिश्रण हुन्छ । जुन झण्डा बौद्धमार्गीहरुले बुद्ध
पूर्णिमामा घर-घरको छतमा फर्फराएको देखिन्छ । जसलाई विश्वमा
शान्तिको हावा सर्वत्र फैलिएको प्रतीत हुन्छ । यस बौद्ध झण्डाको आविष्कार र परिकल्पनाकारको
बारे कमैलाई थाहा होला । यो बौद्ध झण्डा अमेरिकी निवासी कर्नेल हेनरी स्टील अल्कोटले
परिकल्पना र डिजाइन गरेका थिए । अतः उनी बौद्ध जगतमा चर्चित व्यक्तित्वको रुपमा चिनिन्छन्
।
![]() |
| हेनरी स्टील अल्कोट |
१९
औं शताब्दीमा बुद्धधर्मको प्रचारमा आफ्नो पूरा जीवन बिताएका मध्ये हेनरी स्टील अल्कोट
पनि एक प्रमुख व्यक्तिको रुपमा मानिन्छन् । अमेरिकाको न्यूजर्सी शहरमा २ अगस्ट १८३२
मा जन्मेका थिए । उनले माध्यामिक शिक्षा न्यूजर्सीमै सकाए । उच्च शिक्षा उनले कोलम्बिया
विश्वविद्यालयबाट पूरा गरे । किसानको छोरा भएकै नाताले कृषि विषयमा उच्च शिक्षा हासिल
गरे । किसानहरुकै हितको लागि न्यूयोर्क ट्रिबुन पत्रिकामा कृषि विषयको नियमित स्तम्भ
लेख्न थाले । लेख्दालेख्दै सन् १८५८ मा सोही पत्रिकाको सह–सम्पादकको
रुपमा समेत कार्य गर्न पुगे ।
अमेरिकामा
सन् १८६१ मा ठूलो गृहयुद्ध सुरु भयो । उनले अखबारको काम छोडेर सेनामा भर्ती भए । यस
बीच उनी युद्धमा सामेल हुन पुगे । करिब १० वर्षसम्म सेनामा सक्रिय भए पश्चात् नै उनी
कर्नेल पदमा पुग्न सफल भए । युद्ध सकिएपछि उनी सेनाको जागिर छोडेर वकिलहरुको संस्थामा
आबद्ध भए । वकिलको काम सुरु गरेर न्यायाधिवक्तासम्म हुन सफल भए ।
मानिसहरुको
जीवनमा निकै मोड र घुम्तीहरु आउने गर्छ । यस्तै सन् १८७४ देखि अल्कोटको जीवनमा पनि
नयाँ मोड सुरु भयो । यही वर्ष उनको भेट एच. पी. ब्लावत्स्की नामकी रसियन महिलासित भयो
। जीवनभर तिनै महिलासँगसँगै काम गरे । कर्नेल अल्कोटले ब्लावत्स्कीकै निर्देशनमा पूर्वीय
धर्मग्रन्थहरुको अध्ययन सुरु गरे । विस्तारविस्तारै उनको मन बुद्धधर्ममा आकर्षित हुन
गयो । तैपनि संसारको सबै धर्महरुको व्यापक समन्वयको आधारमा मानवताको विकास गर्न सन्
१८७५ मा न्यूयोर्क पुगे । त्यहाँ अल्कोट र ब्लावत्स्कीसँग मिलेर ‘थियोसोफिकल सोसाइटी’नामक
संस्था स्थापना गरे।
![]() |
| त्रिचन्द्र प्रतीक्षा |
कर्नेल
अल्कोट र ब्लावत्स्कीलाई बुद्ध धर्मको प्रभाव "पान्दुराको शास्त्रार्थ" बाट
प्राप्त भएपछि संस्था स्थापना गर्ने हौसला जुरेको थियो । जुन शास्त्रार्थ अगस्त,
१८७३ मा श्रीलंकाको पान्दुरा भन्ने स्थानमा
इशाई र बौद्धहरुको बीच भएको मानिन्छ । उक्त शास्त्रार्थमा इशाईहरुको तर्फबाट डेविड
दे सिल्भा र बौद्धहरुको तर्फबाट मिगेत्तुवेत्ते गुणानन्द श्रामणेर प्रमुख थिए । त्यस
शास्त्रार्थमा श्रामणेर मिगेत्तुवेत्ते गुणानन्द विजय भएकोले त्यसको सम्पूर्ण रिपोर्ट
डा. पीब्लेस नामक अमेरिकन विद्वानले पुस्तकको रुपमा प्रकाशन गरेको थियो । यसै पुस्तकको
प्रभावबाट पनि संस्था स्थापना गर्न सहज भयो र सोही सोसाइटीको व्यापक प्रचारप्रसार गर्न
दुवै जनाले निर्णय गरे ।
सन्
१८७८ मा भारतमा आएर अल्कोट र ब्लावत्स्कीले थियोसोफिकल सोसाइटीको प्रमुख केन्द्रको
रुपमा अड्यार (मद्रास) मा स्थापना गरे । सोसाइटी मार्फत मानवको आध्यात्मिक विकास गर्न
विभिन्न सामाजिक क्रियाकलापहरु सुरु गरेका थिए । त्यो गरिसकेपछि पुनः बुद्धधर्मको व्यापक
प्रचारप्रसारको लागि दुवै जना १७ मे १८८० मा श्रीलंकाको दक्षिण भेगको गाल्ल भन्ने शहरमा
पुगे । उनीहरु श्रीलंका पुगेको २ दिनमै (१९ मे) गाल्लको बिजयानन्द बिहारमा विशाल समारोहका
साथ अकमेमना धम्माराम थेरको तर्फबाट पहिलोपटक ‘पञ्चशील' ग्रहण गरे।
केही
दिनको बसाइँपछि गाल्लबाट कोलम्बो आए । १७ जून १८८० मा स्थानिय व्यक्तिहरुलाई सहभागी
गरेर ४० जनाकों थियोसोफिकल सोसाइटीको शाखा स्थापना गरे । यसबेलासम्ममा यहाँ बुद्धधर्म
पढाउने कुनै स्कूल थिएन । त्यसैले यही सोसाइटी अन्तर्गत ‘बुद्धिस्ट थियोसोफिकल सोसाइटी’ को
विस्तार गरेर बुद्धधर्मको शिक्षा पढाउन थाले । जनताहरुको बुद्धधर्मप्रति आस्था र विश्वास
बढ्दै गयो । सन् १८९७ सम्ममा २५ वटा केटाहरुको स्कूल र केटीहरुको ११ वटा स्कूल स्थापना
भइसकेको थियो, साथै
संयुक्तरुपमा पढ्ने थप अरु १० वटा स्कूल स्थापना गर्न समेत भ्यायो ।
इसाई
धर्मको बोलवाल भएको ठाउँमा एक्कासि बुद्धधर्मप्रति बढेको आस्था र विश्वास बढ्यो । यसै
कारण इसाईहरुमा आएको नकारात्मक भावनाले सन् १८८३ को मार्चमा एक विशाल बौद्ध जुलुसमाथि
कोटहेनाको सेन्ट लुसिया चर्च अगाडि क्याथोलिक इसाईहरुले आक्रमण गरी जुलुकलाई तितर बितर
पारिदिएको थियो । जसले गर्दा बुद्धिस् र क्रिश्चियन बीच दिनप्रतिदिन झडप हुन थाल्यो
। यस घटनालाई मिलाउन न्यायाधिवक्ता समेत रहेका अल्कोटको मध्यस्थतामा श्रीलंकाको गभर्नरसँग
कुरा गर्न निम्त्याए ।
श्रीलंकामा
इसाईहरुले बौद्धहरुलाई गर्ने अत्याचारको विरुद्धमा वार्ता गर्न कर्नेल अल्कोट गभर्नर
लर्ड स्तानमोरलाई १० फरवरी १८८४ मा भेट्न गए । गभर्नर इसाई धर्मका साथै अन्य धर्महरुमा
पनि विशेष चासो र अध्ययन गरेका व्यक्ति थिए । त्यस कारण अल्कोटको सुझाव अनुसार दुई
पक्षबीच मिलापत्र भयो । जसबाट बौद्धहरुको पवित्र दिन 'वैशाख पूर्णिमा' लाई
सार्वजनिक बिदाको रुपमा घोषणा गरिदिए, जब कि योभन्दा पहिलो केवल क्रिश्चियनहरुको पवित्र दिनलाई मात्र
छुट्टी दिंदै आइरहेको थियो ।
अङ्ग्रेजहरुको
अधिनमा रहेको र इसाई धर्मको रजाइँ भएको राष्ट्रहरु (भारत र श्रीलंका) मा बुद्ध धर्मको
आस्था राखी "थियोसोफिलक
सोसाइटी" को प्रचारप्रसार गर्दै आइरहेकोले ब्लावत्स्कीलाई
आफ्नै देशबाट डाकिन् र फर्केर गइन् । जसले गर्दा अल्कोट एक्लैले भारतमा काम गर्नुप¥यो । पछि, अल्कोटले सन् १८८६ मा ब्रिटिश साथी सी. डब्लू
लेडवितरलाई लिएर बुद्ध धर्मको प्रचारप्रसार गर्न लागे र पछि स्कूल समेत स्थापना गर्ने
उद्देश्यले कोलम्बोतिर लागे । त्यहाँ स्कूल खोल्नुका साथै सी. डब्लू लेडवितरले स्कूलमा
पढाउनका लागि "बौद्ध
शिशु बोध" नामक पुस्तक लेखेर प्रकाशन गरे, जुन पुस्तक सन् १९४१ सम्ममा पहिलो खण्ड २१
औं संस्करण र दोश्रो खण्ड १८ औं संस्करणसम्म प्रकाशित भयो ।
अल्कोटले
बौद्ध धर्मप्रचारको चर्चा देशमा मात्र नभई विदेशमा समेत फैलिएको थियो । त्यसैले जापानको
एक बौद्ध समुदायले बुद्धधर्म सम्बन्धि व्याख्यान दिन कर्नेल अल्कोटलाई डाक्यो,
उक्त निमन्त्रणालाई स्वीकार गरेर उनी जनवरी
१८८९ मा जापान गए । त्यहाँ उनले ७० भन्दा बढी कार्यक्रममा बोलेका थिए । जापानमै रहँदा
महायानी बौद्ध राष्ट्र र थेरवादी राष्ट्रहरुको सिद्धान्तमा मौलिकरुपले सबैलाई मान्य
हुन सक्ने १४ वटा मौलिक सिद्धान्तको प्रतिपादन गरे । जुन सिद्धान्तलाई महायानी र थेरवादी
बौद्धहरुले निकै स्मरणीय कार्यको रुपमा लिंदै अहिले सम्म पनि 'कर्णेल अल्कोट फोर्टिन फण्डामेन्टल बुद्धिस्टिक
बिलिभ्स’ को रुपमा प्रचारप्रसार गर्दै आइरहेका छन्
।
बौद्ध
जगतमा सबैभन्दा महङ्खवपूर्ण कार्यको रुपमा बौद्ध झण्डालाई लिइन्छ । यसमा बौद्धहरुको
एकरुपता जनाउने गरी पाँच वटा रङ्गको समिश्रण गरिएको पाइन्छ । लामो पाँच धर्का रङ्गहरुको
शाब्दिक अर्थ यस्तो छ ।
१.
निलो– बुद्धको केशलाई स्वच्छ आकाशको निर्मल रुपसँग
तुलना गरिएको छ।
२.
पहेँलो– बुद्धका बाहिरी आवरण अथवा छाला विशेष र उहाँद्वारा
धारण गरिएको चीवर (वस्त्र)को सँग तुलना गरिएको छ ।
३.
रातो– बुद्धको रगत एवं दार्शनिक विचारसँग तुलना
गरिएको छ ।
४.
सेतो– बुद्धको अस्थि, दाँत र पवित्रताको प्रतिकको रुपमा तुलना
गरिएको छ।
५.
कलेजी– बुद्धको हृदय एवं अनुशासनको प्रतिकको रुपमा
तुलना गरिएको छ।
अनि
एकधर्कामा पाँचवटै रङ्ग रहनुको अर्थ बुद्धको धर्म काय (सम्पूर्ण शरीर)को प्रतिक मानिन्छ
। झण्डाको परिकल्पना गरेर बौद्ध धर्मावलम्बीहरुले प्रयोग गरेको झन्डै ६७ वर्षपछि मात्र
सन् १९५२ को विश्व बौद्ध कांग्रेसद्वारा अन्तर्राष्ट्रिय बौद्ध झण्डाको रुपमा स्वीकार
गरेपछि मात्र मान्यता दिएको थियो । बुद्धको झण्डा मार्फत् बुद्ध धर्मलाई संसारको सामुन्ने
प्रचारप्रसार गरेका हेनरी स्टील अल्कोटका केही कृतिहरुमा दि बुद्धिष्ट क्याटसिज्म
(१८८१), गोल्डेन रुल्स अफ बुद्धिज्म
(१८८७), ओल्ड डायरी लिभ्स (१८९५)
रहेका छन् ।
एक
किसान परिवारमा जन्मे पनि उनी कृषि वैज्ञानिक भए । सेनाको जागिरबाट कर्नेलसम्म बन्न
पुगे । वकिल भएर वरिष्ठ न्यायाधिवक्ता बने र अन्त्यमा बौद्धधर्मको प्रभावले बाँकी जीवन
बुद्धधर्मको पुनरुत्थान र प्रचारप्रसारमा लागे । उनले भारत र श्रीलंकामा मात्र नभई
दक्षिण–पूर्व एशियामै ठूलो योगदान दिए । कर्नेल
हेनरी अल्कोटले सारा बौद्ध जगतमा आफ्नो अमित छाप छोडे । यसरी आफ्नो जीवन पूण्य कार्यमा
लगाएका उनको १७ फरवरी १९०७ मा देहान्त भयो ।
गोरखापत्र दैनिकमामा प्रकाशित



No comments:
Post a Comment