शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, December 5, 2018

बालाचतुर्दशीको सांस्कृतिक महत्व

–त्रिचन्द्र प्रतीक्षा
सनातन हिन्दू धार्मिक परम्परा अनुसारका विभिन्न चाडपर्वहरुमध्ये बालाचतुर्दशी पनि एउटा महत्वपूर्ण धार्मिक पर्व हो । यस पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको छ । मङ्सिर महिनाको कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी एक नेपालमा मनाइने एक परम्परागत पर्व हो, जुन विभिन्न मन्दिरहरुमा शतबीज (सतबीउ) छरेर मनाइन्छ ।

प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीजरोपण भनेर पनि चिनिन्छन् । यो पर्व विशेषगरी पितृहरुको उद्वारको निम्ति उनीहरुको सम्झनामा मनाइन्छ । नेपालीमा ’शतम्’को अर्थ सय र ’बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः सातथरी– धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरु पनि मिसाएर छर्ने गर्दछन् ।
त्रिचन्द्र प्रतीक्षा

पशुपति मन्दिरको दक्षिणतर्फको एक सय आठ शिवलिङ्गको स्थापना राजा प्रताप मल्लले गर्न लगाएका हुन् । राजा प्रताप मल्लले पापमोचनका लागि शिवलिङ्ग स्थापना गरेको भनाइ रहेको छ । सोही एक सय आठ शिवलिङ्ग लगायत श्लेषमान्तक वन, कैलाश, गौरीघाट, मृगस्थली, विश्वरुप मन्दिर, किरातेश्वर मन्दिर र गुह्येश्वरी आदि ठाउँमा दिवंगत आफन्तहरुको नाउँमा शतबीज छर्ने र त्यसको अघिल्लो त्रयोदशीमा पशुपतिनाथ मन्दिर पुगी रातभरी महादीप बालेर भजनकीर्तनका साथ जाग्राम बस्ने गरिन्छ । वत्सलेश्वरी मन्दिरमा पूजाआजा गरी शतबीज छरिने हुनाले यसलाई पार्वतीले छरेको शतबीज भन्ने पनि चलन छ । यसबारेमा बूढापाकाहरु के भन्छन् भने कैलाशबाट भगवान् शिव श्लेषमान्तक वनमा मृगरुपमा आई बिहार गर्नुभएको छ भन्ने थाहा पाई शिवरुपी मृगलाई चिन्नको लागि पार्वतीले विभिन्न किसिमका बीजहरु छर्नुभयो । सो बीजहरु उम्रिएका हरिया बिरुवाहरुदेखि लोभिएर मृगहरु आउन थाले । त्यसरी आएका मृगहरुमध्ये मृगरुपी शिवलाई चिन्न पार्वतीलाई गाह्रो परेन भन्ने जनश्रुति पाइन्छ । पार्वतीले शुरु गरेको शतबीज छर्ने काम कालान्तरमा परम्परा बन्यो भन्ने चर्चा गरेको पाइन्छ । 

शतबीजको सम्बन्ध नेपालमा अत्यधिक प्रचलित हिमवत्खण्ड, नेपालमाहात्म्य तथा पशुपतिपुराणहरुको समेत उल्लेख गरिएको पाइन्छ । त्यहाँ बताइएअनुसार मृगरुप लिएर भगवान् शिवले जहाँ–जहाँ विहार गर्नुभयो त्यो पुण्य क्षेत्र भएकोले त्यहाँ बालाचतुर्दशीको दिनमा शतबीज छर्नाले एउटा अन्नको गेडा छरेको पनि सुनचाँदी छरेको भन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने उल्लेख गरिएको पाइन्छ ।

यस चाडको सबैभन्दा रोचक प्रसङ्ग पशुपतिनाथस्थित विश्वरुप मन्दिर छेउको गणेशको मूर्तिसँग सम्बन्धित छ । उक्त गणेशको मूर्तिलाई कान नसुन्ने बहिरा गणेशको रुपमा लिइन्छ र भक्तालुहरुले जोड जोडले चिच्याएर, कराएर, घच्घच्याएर उक्त मूर्तिलाई कानमै आफ्ना कुरा सुनाउन खोज्ने अथक प्रयासहरु हुने गर्दछन् । त्यसो गरेमा गणेशले आफन्त मृतकहरुसँग तिम्रा परिवारका सदस्यहरु पनि शतबीज छर्न आएको छन् भनी सुनाइदिन्छन् भन्ने जनविश्वास रहेको छ । 

बालाचतुर्दशीका विषयमा अर्को एउटा किंवदन्ती पनि पढ्न पाइन्छ, परापूर्व कालमा एक दिन गुठीयारको मृत्यु भएर पशुपतिको दिपमा लाशको अन्त्येष्टि गर्दै थियो । त्यस समयमा लाश जलाएकै ठाउँमा बसेर गुठीयारहरुले खानपिन गरिन्थ्यो । खाना खाइरहेका बेला अचानक लाशको टाउको पट्केर गिदी गुठीयारहरुमध्येका एक जना बालानन्दको खानामा परेछ । त्यो उनले थाहा पाएनन् र गिदीसहितको खाना खाइदिए । उनलाई यो गिदी निकै मनपर्छ र प्रायः सधैँजसो दिपमै समय बिताउन थाल्यो । त्यहाँ ल्याए जति लाश आफैँले जलाउने र गिदी खाने गर्दागर्दै लाश समेत खाने गर्न थाले । अन्तमा मृतकका जलाउन ल्याउने लाश समेत खोसेर श्लेषमान्तक वनमा लगेर खान थाल्यो । बालासुर मानव बालासुर राक्षसको रुपमा परिणम भइसकेको थियो ।

यसरी मरेको लाशको गिदी र मासु समेत खान पल्किसकेका बालासुर राक्षसको निकै चर्चा भए । त्यसबेलाका राजा भुवनकेशरीसमक्ष यस विषयमा अवगत गराए । राजाले बालासुर राक्षसलाई कसरी मार्न सकिन्छ भनेर छलफल गरे अन्ततः बालासुरको मित वृषसिंहले मात्र मार्न सकिने भएर उसलाई बोलाउन पठाए र अनेक प्रलोभन दिएर आफ्नो मित बालासुरलाई मार्न राजी गराए । राजाको उर्दी पूरा गर्नका लागि वृषसिंहले मित बालासुरलाई मार्ने शक्ति पाउनका लागि महादेवको तपस्या गर्न बसे । वृषसिंहको तपस्या बाट प्रसन्न भएर महादेवले दर्शन दिंदै सोधे– ‘तिमी को हौ, किन मेरो तपस्या गर्दै छौं ?’’ वृषसिंहले आफ्नो मित बालासुरको बारेमा सबै कुरा बताए । महादेवले सबै कुरा सुनेर वृषसिंहलाई भने, ‘‘म बालासुरलाई मार्ने शक्ति दिन्छु, तर तिमीले बालासुरलाई मारिसकेपछि उनको टाउको ल्याएर मलाई चढाउनु पर्छ भन्दै अन्तर्ध्यान भए ।

महादेवको वरदान पाएर साथ वृषसिंह आफ्नो मित बालासुरलाई खुवाउन जाँडरक्सी, चिउरा र मासुका परिकार भरियाहरुलाई बोकाएर पशुपतिको आर्यघाटतिर लागे । निकै दिनदेखि भोको बालासुर आफ्नो मित वृषसिंह आएको देखेर खुसी भए । बालासुरलाई लगेको सम्पूर्ण खानेकुरा साथ जाँडरक्सी समेत तन्न खुवाएर नसामा अचेत बनाए । त्यही मौका छोपेर वृषसिंह र भरियाहरु मिलेर बालासुरलाई डोरीले बाँध्छ र इनारमा खसालेर मारिदिन्छ । अनि वृषसिंहले बालासुरको टाउको महादेवलाई अगाडि चढाउँदै, आफ्नो मितलाई मारेको पापबाट मुक्त हुने वरदान मागे । महादेवले वृषसिंहलाई भने, ‘‘बालासुर मारेको दिन पशुपतिमा बालासुरको टाउकोको प्रतिक मुकुट लगाइ दिएर पूजा गरेमा मित मारेको पापबाट मुक्त हुनेछ ।’’ 

यसरी पशुपति महादेवले बालासुरको मुकुट लगाउने दिन कसैले महादेवको दर्शन गरेर शतबीज छर्ने गर्छ, त्यसको सात पुस्तासम्मका सन्तानले मोक्ष प्राप्त गरी स्वर्गलोक जान पाउने छ भन्ने विश्वासका साथ बालाचतुर्दशीका दिन शतबीज छर्ने चलन चलिआएको भनाइ रहिआएको छ ।

यो दिन नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि त्रिवेणीधामहरुमा शतबीज छर्ने तिर्थालुहरुको घुइँचो हुने गर्दछ । काठमाडौँको पशुपति लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, स्याङ्जाको सरोवर तालको शिव मन्दिर, हरिहर गुफा, दाङको पाण्डवेश्वर मन्दिर, नवलपरासीको देवघाट, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुइँचो अनि मेला लाग्ने गर्दछ ।

बालाचतुर्दशीको मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गरिन्छ । यहाँ सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलिङ, विहार, चीन, तिब्बत, भुटान लगायतका स्थानबाट दर्शनार्थीहरु आउने गरिन्छ । आजभोलि बालाचतुर्दशी हिन्दूहरुका अलवा बौद्ध धर्मावलम्बीहरुले पनि श्रद्धभक्तिका साथ मनाउन थालेको पाइन्छ ।
गोरखापत्र दैनिक, मङ्सिर १, २०७४ मा प्रकाशित

1 comment:

  1. Your site is exactly what I have looking for!! Very nicely done. You are doing a great service!!
    Nepali

    ReplyDelete