–त्रिचन्द्र प्रतीक्षा
ख्रीष्टमस भव्यताका
साथ मनाउन डिसेम्बर २५, का दिन विश्वका
करोडौं मानिसहरु तर्खर गर्दैछन् । मानिसहरु आफ्नो इच्छा, रुचि, परम्परा र
रीतिरिवाज अनुसार विभिन्न धर्म तथा ईश्वरहरुमा विश्वास गरिरहेका छन् ।
यसरी संसारभरका मानिसहरु धर्म र संस्कृतिअनुसार जीवनयापन गरिरहेका भए तापनि ती सम्पूर्ण मानिसहरु 'ख्रीष्टमस' भन्ने शब्दबाट अनभिज्ञ नहोला ।
'ख्रीष्टमस' को वास्तविकता के हो त ? सामान्यतया मानिसहरुलाई ख्रीष्टमस किन मनाइन्छ भन्ने कुरा
थाहा छैन,
तर ख्रिष्टियनहरुलाई पनि ख्रीष्टमस के हो भनेर सोधेमा 'ख्रीष्टमस प्रभु
येशूको जन्म दिन हो ।' भन्ने जवाफ दिने गर्दछन् । यसबारेमा केही तथ्य र प्रमाणको
आधारमा ख्रीष्टमसको वास्तविकता बारे खुलस्त पार्न चाहेको छु ।
ख्रीष्टमस (Christmas) शब्दको उत्पति
पुरानो अङ्ग्रेजी शब्द 'Cristesrnaesse'
बाट भएको हो, जसको अर्थ हुन्छ Christian Mass
। ख्रीष्टमसको सङ्क्षिप्त शब्द हो Xmas हो, जुन छापा माध्यममा
बढी प्रयोगमा ल्याइएको छ ।
ख्रीष्टमससँग
सम्बन्धित व्यक्ति हो – सान्ता क्लाउस । लोकप्रिय तर काल्पनिक सो शब्द डच शब्द
सिन्तेरक्लासबाट आएको हो, जसको अर्थ हुन आउँछ
सान्ता निकोलस । चौथौ शताब्दीमा टर्कीको मीरा नामक एक शहरका प्रसिद्ध सन्त थिए ।
जो एक दानी र समाजसेवी थिए जसले साना नानीहरुलाई चकलेटहरु बाड्ने गरिन्थ्यो ।
सातौं शताब्दीको
मध्यतिर वृक्ष (ख्रीष्टमस ट्री)को परम्परा जर्मनीका बौनोन्फसटिया नामक अङ्ग्रेजले
गरेको थियो । यसको सुरुवात मानवाधिकारवादी लेखक सेवास्टियन ब्राण्डले सन् १४९४ मा
लेखेको सबैभन्दा महत्वपूर्ण साहित्य 'मूर्खहरुको जहाज'’ नामक कृतिमा घरहरुमा देवदारु वृक्षका हाँगाहरु राख्ने
चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस सजाउनका लागि देवदारु वृक्ष नै छानिएको
थियो । यतिबेला शिशिर ऋतु सुरु भइसकेको हुन्छ । सबै वृक्षको पात झरिसकेको भएपनि
देवदारुको चाहिँ सदाबहार रहि राखेको हुन्छन् ।
![]() |
त्रिचन्द्र प्रतीक्षा |
चौथो शताब्दीमा
ख्रीष्टियमत रोमी सम्राटको सरकारी धर्म भइसकेको थियो । १२ औं शताब्दीमा आइपुग्दा ख्रीष्टमस
युरोपमा सबैभन्दा महत्वपूर्ण धार्मिक पर्व भएको थियो । २० औं शताब्दीमा विभिन्न
किसिमका व्यवसायका लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपूर्ण हुन थाल्यो । २० औं
शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रुपमा मनाइन थालिएको छ । संसारभरि
नै करोडौं ख्रीष्टियनहरुको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र व्यस्त समय भएको
छ ।
बेलायतमा संसद्ले
सन् १६४७ मा एउटा कानुन नै पारित गरी ख्रीष्टमसलाई अवैध घोषणा गर्यो अनि त्यसपछि सन्
१६५२ मा यसमाथि पूर्णतया प्रतिबन्ध नै लगाइयो । इतिहासकार पेनी एल. रिस्टाडका
अनुसार,
"सो ख्रीष्टमसका दिन
अन्य सामान्य दिनमा जस्तै पसलहरु खोल्नुपर्ने नियम थियो भने त्यसदिन आफ्ना
चर्चहरुलाई सजाएको खण्डमा जरिवाना र जेल सजाय पनि थियो ।"
उता, उत्तर अमेरिकामा पनि यस्तै अवस्था थियो । म्यासाचुसेट्स बे.
कोलनीमाडमा सन् १६५९ देखि १६९१ सम्म ख्रीष्टमस मनाउन नपाउने कानुन लागू गरेर
प्रतिबन्ध लगाइएको थियो । यस कानुनको उल्लंघन गर्नेहरुलाई जरिवाना तिर्न
लगाइन्थ्यो ।
ख्रीष्टमस
नमनाउनेहरुमा बेलायतका ख्रीष्टियानको एक समूह प्रोटेस्टेन्टहरुमात्र नभई मिडल
कोलोनिजका केही समूहहरु पनि थिए । एउटा स्रोतका अनुसार, अमेरिकीहरुले स्वतन्त्रता पाएको लगत्तै एलिजावेथ ड्रिंकरले
फिलाडेल्फियाका बासिन्दाहरुलाई तीन वर्गहरुमा विभाजित गरे अनि उनी आफै पनि एक
क्वेकर थिए । धार्मिक विश्वासको खातिर ख्रीष्टमस मनाउने क्वेकरहरुको लागि ‘ख्रीष्टमसको दिन र अरु दिनमा खासै केही फरक थिएन’ अनि बाँकी रहेकाहरुले चाहिँ यस उत्सवलाई मोजमस्ती र
मनोरञ्जन गरेर मनाउँथे ।
पुरातन चर्चहरुले
ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन् र मनाएनन् । एक
स्रोतका अनुसार डिसेम्बर २५, १७७२ मा मात्र
न्युपोर्टको रोड आइल्याण्डे ब्याप्तिस्ट चर्चले सर्वप्रथम ख्रीष्टमस मनाए । यो
उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्टिस्ट चर्चको स्थापना भएको झन्डै १३०
वर्षपछि मात्र मनाइएको थियो ।
विश्वका अधिकांश
देशमा डिसेम्बर २५ मा ख्रीष्टमस मनाइन्छ । तर जर्मनी तथा अन्य केही देशमा
ख्रीष्टमसको पूर्वसन्ध्या अर्थात् डिसम्बर २४ मा नै यस सम्बन्धित समारोह
सुरु हुन्छ । यस दिनलाई ‘पवित्र रात्रि’ (होली नाइट) भनी
मनाइन्छ । मेक्सिकोमा केटाकेटीहरुका पट्टी बाँधेर 'पिनेठा' अर्थात् माटाका
भाँडामा मिठाई हालेर त्यसलाई फुटाउने खेल खेली रमाइलो मनाउने चलन रहेको छ भने
डेनमार्क,
नर्वे र स्विडेनमा यस दिनलाई 'युल डे' र 'युल लाग' भनिन्छ, एकप्रकारको रुखको नाम हो – युल । यी देशहरुमा युलका हाँगाहरुलाई फूलहरुबाट सिँगारिन्छ
। यस्तै,
बेलायतमा यस दिनमा गरिबहरुलाई चर्चमा जम्मा गरिएको
दानपेटिकाको धन बाँडिन्छ र बालबालिकाहरुमा 'फादर ख्रीष्टमस' ले आधारातमा आएर तकियाको खोलमा उपहारले भरिदिन्छन् भन्ने
मान्यता पाइन्छ । हल्याण्डमा 'सान्ता क्लाउस' घोडामा चढेर उपहार दिन आउँछन् भन्ने मान्यता छ । उता
आइसल्याण्डमा तेह्रवटा सान्ता क्लाउस हुन्छन् र तिनलाई पुराकथाको राक्षस 'ग्रिला' का सन्तान मानिन्छ
।
बेलायत तथा
राष्ट्रमण्डलीय देशहरुमा ख्रीष्टमस लगत्तै डिसेम्बर २६ लाई ‘बक्सिङ डे’ को रुपमा मनाइन्छ ।
केही क्याथोलिक मुलुकहरुमा यसलाई 'सेन्ट स्टिफेन्स डे' वा 'फिस्ट अफ सेन्ट स्टिफेन्स' पनि भनिन्छ । यस्तै
पहिलो विश्वयुद्धको पहिलो वर्ष युद्ध मैदानमा युद्धरत मुलुकहरु जर्मनी र गठनबन्धन
मुलुकका सैनिकहरुले एकआपसमा ख्रीष्टमसको शुभकामना आदानप्रदान गरेका थिए । पछि
यसलाई ‘सन् १९१४ को ख्रीष्टमस युद्धविराम’ नाम दिइयो । यस दिन प्रायः धेरै देश, सम्प्रदायहरुमा 'क्रिसमय ट्री' लाई विशेष रुपमा सिंगार्ने चलन छ । यस्तो क्रिमसमको
वृक्षलाई सजाउन थोमस एडिसनका सहायक एडवर्ड जोन्सनले सन् १८८२ मा विद्युतिय
प्रकाशको सोच ल्याएका थिए । ख्रीष्टमस वृक्षका बत्तीहरुको आमउत्पादन पहिलोपटक सन्
१८९० मा भएको थियो । यस्तै पहिलो ख्रीष्टमस कार्ड बेलायतका सर हेनरी कोलका लागि
जोन क्यालकोट हर्सनले सन् १८४३ मा डिजाइन गरेका थिए । यो आधुनिक पोष्टकार्डजस्तै
थियो र यसमा लेखिएको शब्दहरु यस्ता थिए – 'मेरी ख्रीष्टमस' ।
नेपालमा २०६२÷६३ को आन्दोलन अघिसम्म चर्च भित्रमात्र सीमित रहने
ख्रीष्टमस मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रुपमा विस्तार भएको हो । नेपालको
अन्तरिम संविधान, २०६३ र हालै जारी
भएको नयाँ संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेको छ । धर्म निरपेक्षतासँगै
सबै धर्मावलम्बीहरुले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडपर्व मान्न थालेका छन् ।
ख्रीष्टमस मनाउन सरकारले वि.सं. २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन
थालेको हो । पछिल्लो जनगणनाअनुसार नेपालमा १.४२ प्रतिशत ख्रीष्टियन धर्मावलम्बी
रहेका छन् ।
नेपालमा
ख्रीष्टमसप्रति बढ्दो आकर्षणका बारेमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका
महासचिव सिबी गहतराज भन्नुहुन्छ, "केही युवाले फेसनका रुपमा यो पर्व मनाएको देखिए पनि मुख्य
कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रीष्टियन धर्मावलम्बी खुल्न
थालेका हुन् ।" बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा 'ख्रीष्टमस इभ' भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र
नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ ।
विश्वव्यापीकरणसँगै
विविध संस्कृति फैलने क्रम तीव्र हुँदै गइरहेको छ । परम्परागत क्याल्भिनिस्ट
घरानामा हुर्केका प्रसिद्ध अमेरिकी ख्रीष्टधर्म प्रचारक हेनरी वार्ड बीचरलाई ३०
वर्षको उमेरसम्ममा पनि ख्रीष्टमसबारे ज्ञान थिएन । बीचरले सन् १८७४ मा यस्तो लेखे, "ख्रीष्टमस मेरो
जीवनको भाग थिएन ।"
साभारः गोरखापत्र दैनिक, २०७४ पुस ८ मा प्रकाशित
साभारः गोरखापत्र दैनिक, २०७४ पुस ८ मा प्रकाशित
Cccccccc_cczccfcccfv_
ReplyDelete