शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, February 15, 2018

बुद्धकाे नाममा भद्दा मजाक


*************
बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा नकारात्मक नै हुने तर “बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन 
यसअघि नै बितिसकेको हुन्छ ।
*************


बसन्त महर्जन
(बुद्ध तथा बाैद्ध विषयक लेखक तथा अनुसन्धानकर्ता


हिन्दीमा एउटा उखान छ, ‘नाम हो या बदनाम, कभी न हो गुमनाम’ । नेपालीमा पनि एउटा उखान छ, ‘अरुको ध्यान जसै गरी तान्न नसके गधा बोकेरै भएपनि हिड्नु’ । यस्तै नै नेवार समाजमा अर्को उखान प्रचलित छ, ‘ज्या मन्त कि खिचाया सँ खाः जुइगु’ (काम नपाएपछि कुकुरको कपाल काटेर बस्नु) । यी तीनै उखानको भावार्थ एउटै हो र केही नेपालीहरु बेलाबेलामा ‘बुद्ध बाज बर्न इन नेपाल’ भनी कराइ हिड्नुलाई यसै सन्दर्भमा हेर्न सकिन्छ । बुद्ध र बौद्ध धर्मदर्शनप्रति खास कुनै लगाव नभएपनि यो वर्ग बुद्ध कहाँ जन्मेको भन्ने प्रसङ्गमा भने सा-है सम्बेदनशील भएजस्तो देखाउँछन् र यस सम्बन्धमा अब्बल दर्जाको राष्ट्रवादी भइटोपल्छन् । यस्तो लाग्छ, कसैलाई चटक देखाउनु छ, तर हेरिदिने कोही छैन भने उसले बुद्धको जन्मस्थलबारे बोलिदिनु मात्रै पर्छ, भलै वक्ता बुद्धका बारेमा अनजान नै किन नहून्, यहाँ मान्छेको भीड लागि हाल्छ ।


एक नेपाली युवा गायक छन्, ‘बुद्ध वाज बर्न इन नेपाल’ को अभियन्तामध्ये एक । आफूलाई माइकल ज्याक्सन भन्न रुचाउने ती गायकले यही बोलमा गीत गाएर नाचेको दृष्यले बौद्ध विषयलाई निकै हलुको पारेको छ । डकुमेन्ट्री पनि बनाएका छन् र ठाउँ ठाउँमा गएर आफ्नो यही परिचय दिँदै हिँडिरहेका छन् । अर्का एक संचारकर्मी छन्, यही अभियानको ‘थीम’मा लामो टिभी कार्यक्रम चलाएर रेकर्ड बनाएका । लाटो देशमा गाँडो तन्नेरी भनेजस्तो केही मात्रामा यिनीहरुको ख्याति पनि बढ्यो । पत्रपत्रिकामा एउटै कुरा दोहोर्याई तेहर्याई सामग्री छापिन्छन् पनि । तर मान्छेको चित्त न हो, यस्ता ख्यातिहरु जति भएपनि पुग्दैन । त्यही ख्यातिले अहिले तृष्णाको रुप लिएको छ र थप तृष्णा जागेको छ । यिनै दुई युवा मिलेर अब अर्को रेकर्ड राख्ने भन्दै काठमाडौंमा ७५ हजार मान्छेलाई भेला पारेर ‘बुद्ध वाज बर्न इन नेपाल’ वाक्य घोकाउने कार्यक्रम राखेको छ र यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने मनसाय छ । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ विश्वमा भएका सबैभन्दा ठुलो, सानो, छिटो, धेरै, थोरै, पुरानो, नयाँ, गहिरो, होचो, लामो, छोटो आदिको रेकर्ड प्रकाशन गर्ने संस्था हो । मानौं, बुद्धको सम्बन्धमा पनि ७५ हजारको सहभागितामा उक्त वाक्य घोकाउन सफल भयो र धेरैले एउटै वाक्य घोकाएको भनी रेकर्डमा पनि राख्यो, तब के ? यसलाई प्रवृत्तिगत रुपमा चिन्तन गरिएन भने हाँस्यास्पद नतिजा आउनै मात्रै नभएर मान्छेहरुलाई बुद्ध र बौद्ध विषयवस्तु हलुका हुन जाने र वाक्कदिक्क नै पनि बनाइदिने हुन्छ जुन खतराको कुरा हो । बुद्धको नाममा भद्दाको मजाक बनाइएको यस अर्थहीन अभियानमा स्वयं बौद्ध भिक्षुहरु पनि उत्साहित हुनु अर्को उदेकका कुरा हो ।

अब बुझ्नु पर्यो, ७५ हजार सहभागी भएर बुद्ध नेपालमा जन्मेको भनियो भने मात्रै गिनिज बुकमा बुद्ध नेपालमा जन्मेको भनेर लेखिने र कायम हुने रहेछ । आयोजक दुई नेपालीको मनसाय यही हो र यही भनेर प्रचारप्रसार गरिंदै छ । कथंकदाचित त्यति संख्यामा मान्छेहरुको सहभागिता भएन वा गिनिज बुक अफ वर्ल्ड रेकर्डले यस घटनालाई महत्व दिएन वा कार्यक्रम नै स्थगित भयो भने बुद्ध नेपालमा जन्मेको नठहरिने भयो त भन्ने प्रश्न छ । यो विषयवस्तु यसरी खेलाँचीमा खेल्ने खेल नै होइन ।
गौतम बुद्ध ई.पू. ५६३ मा लुम्बिनी वनमा जन्मेको कुरामा दुई मत कहिल्यै भएन । समयको अन्तरालमा त्यो लुम्बिनी कहाँ पर्दछ भन्ने कुरा चाहीँ खोजीको विषय भएको पक्का हो तर पुरातात्विक प्रमाणसहित ई.सं. १८९६ मा नेपाल देशको भूमिमा भेटिएदेखि अहिलेसम्म यही मान्यता कायम छ । बुद्ध भारतमा जन्मेको भन्यो, भारतले बुद्ध जन्मस्थलमाथि दावी गर्यो, भारतले नक्कली लुम्बिनी बनायो, हाम्रो लुम्बिनीजस्तै गरी भारतले आफ्नो भूमिमा नक्कली लुम्बिनी बनायो भन्नेजस्ता अनौठा अनौठा दाबीहरु गर्दै कोकोहोलो मचाउनेहरुको पछि लाग्ने जमात पनि कम्तीको छैन । नाम कमाउने लालसाले पनि होला, संस्था नै गरेर लागि परेका छन् ।
पुरातत्वसम्बन्धी भारतको आधिकारिक निकाय ‘आर्कोलोजिकल सर्भे अफ इन्डिया’ले बुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी कहिल्यै दोस्रो मन्तव्य दिएको छैन । न दिनेवाला नै छ । आधिकारिक प्रकाशन तथा निकायले नेपाल भूमिभित्र रहेको लुम्बिनीलाई नै मान्दै आइरहेको सन्दर्भमा पुनः ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै रुवावासी गर्नु र भारतविरुद्ध त्यस्ता आरोपहरु लगाउँदै हिड्नु नै अचम्मको कुरा पक्कै हो । यो पनि पक्का हो, भारतीयहरु बुद्धलाई पनि भारतीय नै ठान्छन् । अन्य कतिपय देशका प्रकाशनमा मात्रै होइन, मनमस्तिष्कमा पनि बुद्धलाई भारतसँग जोडेर चिन्ने गरेको छ । यो किन भयो भन्ने सन्दर्भमा नेपाली पक्षले न चिन्तन गर्यो न त चिन्तन गर्नु आवश्यकता नै ठान्यो । लुम्बिनीको अवस्थिति नेपालमा मानेर पनि बुद्धलाई भारतीय चरित्रका रुपमा लिनुको अभिप्रायः गौतम बुद्धको तत्कालीन गाउँठाउँलाई आधार मान्नु हो । लुम्बिनी जन्मस्थल मात्रै हो, बुद्धको गाउँठाउँ होइन । व्यक्तिको परिचय लिने बेलामा गाउँठाउँको नाम मात्र लिइन्छ, जन्मस्थल होइन । यसलाई अझ स्पष्ट पार्न यसै पंक्तिकारको उदाहरण लिनु पनि उपयुक्त हुन्छ । यो पंक्तिकार कीर्तिपुर (काठमाडौं) निवासी हुन् र पहिचानमा कीर्तिपुर नै जोडिएको छ । शिशु जन्मिदाका बखत आमाबाबु कहाँ बसेका हुन्, जन्मस्थल त्यहीँ मान्नु पर्ने मान्यताअनुसार कीर्तिपुरमा जन्मेको भन्नु पर्ने हुन्छ । तर साँच्चै कहाँ जन्मेको भनेर थप प्रश्न गर्ने बेलामा तोकेरै भन्नुपर्दा थापाथली (काठमाडौं) स्थित श्री ५ इन्द्रराज्यलक्ष्मी–परोपकार प्रसूतीगृह नामको अस्पताल उल्लैख गर्नु पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सन्दर्भमा पनि यही लागू हुन्छ । गौतम बुद्धको गृहनगर तत्कालिन शाक्य गणराज्यको राजधानी कपिलवस्तु थियो अर्थात् उनी कपिलवस्तु निवासी थिए । कतिपयलाई कपिलवस्तु र लुम्बिनी उही हो भन्ने भ्रम पनि रहेछ, जुन बेग्लै प्रसङ्ग हो ।
हेक्का राख्नुपर्ने कुरा के हो भने, उक्त सिङ्गो कपिलवस्तु न भारतमा पर्दछ, न त नेपालमा नै । प्राचिन कपिलवस्तुको केही भूभाग वर्तमान नेपाली भूमिमा पर्दछ भने केही भूभाग वर्तमान भारतीय भूभागमा पर्दछ । यस सम्बन्धी विस्तृत अध्ययन भएको छैन पनि । केही भूभाग भारतमा परेकै आधारमा सिङ्गो कपिलवस्तु भारतमा रहेको वा केही भूभाग नेपालमा परेको मान्यता भारतीय पक्षको छ भने नेपाली पक्ष सम्पूर्ण कपिलवस्तु नेपाली भूभागमा परेको भ्रममा छ । यही आधारमा भारतीयले गौतम बुद्धलाई भारतीय भन्ने हुन् भने नेपालका केहीले लुम्बिनीको आधारमा र केहीले लुम्बिनी र कपिलवस्तु दुबै क्षेत्रको आधारमा नेपाली भन्ने गरेका हुन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछिको अधिकांश समय वर्तमान भारतीय भूभागमा विचरन गरेको, बौद्ध धर्मको प्रसारप्रसार भारतबाटै अन्यत्र भएको तथा बौद्ध पुनर्जागरणपछि पनि भारतले यसबारे क्रेडिट लिँदै आइरहेको कुरा यहाँ स्मरणमा राख्नु पर्दछ । बुद्ध र बौद्ध धर्मका सवालमा भारतले प्राथमिकता दिंदै आएको समयमा नेपालका शासक तथा उनका आसेपासेहरु बौद्ध धर्मको विरुद्ध कतिसम्म लागिपरेको थियो भन्ने सन्दर्भमा भिक्षु भएकै आधारमा जेलमा कोच्ने, शासना दिने, देशनिकाला गर्नेलगायतका कर्तूतहरु गरेबाट छर्लङ्ग हुन्छ । ती शासकहरु बुद्धलाई बुद्ध भन्न चाहँदैन्थै बरु ‘बाँडा देवता’ भनी होच्याउँथे । यस्तो अवस्थामा बुद्ध र बौद्ध धर्मलाई नेपालको सन्दर्भमा विश्वलै कसरी हेर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ । उहिलेको कुरा खुइलियो नि भनेर तर्क गर्नेहरु पनि छन् तर यसै विषयवस्तुमा काम गरिरहेका हामीले त्यसमा तात्विक भिन्नता पाउन सकिरहेका छैनौं ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘बुद्ध वाज वर्न इन नेपाल’ भनेर दर्ता गराउन सके बुद्ध नेपालमा जन्मेको हुने, नत्र नहुने हो ? ई.सं. १८९६ मा पत्ता लागेको र विश्वले नै मानेको तथ्यमा भरोसा नभएर ७५ हजारको भीड जुटाउने र भीडलाई नै प्रमाण मान्ने हो भने हामी पुरातत्व र इतिहासको खोजीनीति गर्नेहरु पनि त्यही भीडमा मिसिन जानु पर्ने हुन्छ । राज्यले पनि अध्ययन अनुसन्धानमा नभएर त्यस्ता भीडहरुमा लगानी बढाउनु पर्ने हुन्छ ।
मानौं, ७५ हजार मान्छे जुटाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर लेखाउन सकियो रे, तर त्यहाँ रहने रिकर्ड सधैँ एउटै हुँदैन, फेरिरहन्छ । त्यो रेकर्ड तबसम्म मात्रै कायम रहन्छ जबसम्म अरूले तोड्दैन । त्यसको लगत्तै ७५ हजारमा केही संख्या थपेर चीन, जापान, कोरिया, अमेरिका, भारत वा कुनै अन्य देशले बुद्ध आफ्नो देशमा जन्मेको भनी अभियान थाल्यो भने गिनिज बुकले सोहीअनुसार कायम गरिदिने हुन्छ र फेरि अरु देशले अर्कै रेकर्ड कायम गर्यो भने अर्कै हुन्छ । यस हिसाबले गौतम बुद्धको जन्मस्थल लुम्बिनी चाहीँ ‘मूभएबल’ पो हुने भएछ त । त्यसको काउन्टरमा नेपालले फेरि रोइलो गर्दै थप संख्यामा सहभागी जुटाएर गिनिज बुकको शरणमा जानु पर्ने रहेछ । गौतम बुद्धले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर रोइकराइ हिड्न कहिल्यै भनेनन्, बरु धर्मका कुरा गर्न र ध्यानअभ्यास गर्न भनेका छन् । साँच्चै, आजभोलिसम्म पनि बौद्ध समाजमा सूत्र पाठ, दैनिक जीवनमा अभ्यास र ध्यानभावना बढाउनुलाई नै प्रमुखता दिइन्छ ।
बुद्ध र बौद्ध धर्मका सम्बन्धमा सामान्य जानकारी पनि नराख्ने वा नकारात्मक नै हुने तर “बुद्ध वाज बर्न इन नेपाल’ भनेरै हिड्न मन पराउनेहरुलाई नियाल्दा यस्तो लाग्छ, यी विचराहरुको आधा जीवन यही नारा फलाक्दै बित्छ र बाँकी आधा जीवन यसअघि नै बितिसकेको हुन्छ ।
साभारः discovery4p

No comments:

Post a Comment