शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 22, 2017

नेवार समुदायको लुकाइएको इतिहास

प्रा.डा. एच.जी. बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेक नेवारले पढनै पर्दछ । कृपया एकपल्ट पढ्नु होला ।

राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरी लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ । तर वास्तविक इतिहास लुकाइएको छ । यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरी प्रकाशित गरेको छ । पृथ्वीनारायण शाह सम्बन्धी केही पानाहरु यहाँ म प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाएपछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्ध भक्तहरु मर्माहत हुने छन् । त्यसैले अन्ध भक्तहरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु ।

सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी)मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो । नेपाल (हाल काठमाडौँ पाटन भक्तपुर)का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनी पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
शक्तिशाली रजौटासित बिहे गरी सम्बन्ध बनाउने र कमजोर रजौटालाई कज्याउने राजनीति पछ्याउँदै  सम्पन्न र शक्तिशाली बन्न सिमा बिस्तार गर्ने उद्देश्य लिएर उनले धेरै पल्ट बिहे गरे तर उनी सफल भएनन् । अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे । सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वीनारायणलाई भक्तपुरको राजासित बस्न पठाए ।

त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यवस्था मिलाइदिन अनुरोध गरेको थिए तर उनको वास्तविक उद्देश्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो । छोरा नेपाल दरवार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।

(अन्य स्रोत बाट जानकारी बटुलेर थपेको) : हुन त राजा नरभूपालले यस्तो प्रस्ताव काठमाडौँ र पाटनको राजालाई पनि पठाएका थिए । तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्व:मा राखेर हुर्काउने पढाउने भए सहयोग गरुम्ला भनि मौखिक जवाफ दिएर पठाए । न्वाक्व: भनेको हाल नुवाकोट हो जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्दथे । काठमाडौँ र पाटनको राजाहरुको यस्तो ब्यवहारबाट नरभूपाल शाहले अपमानित महसुस गरे । तर अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमन्त्रणा दिइ शिक्षादिक्षा दिन स्विकार गरे ।

(फेरी मूल पुस्तक बाटै):
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत् व्यवहार देखाउँदै बालक पृथ्वीनारायण शाहलाई दरवारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए । उनका राजकुमार राजकुमारीहरुलाई पृथ्वीनारायण सित खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे | धर्मको काम भन्ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरी उत्कृष्ट शिक्षा दिक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन ।

पृथ्वीनारायण शाह स्मरण शक्तिमा तेज थिए । एकपल्ट देखेको कुरा हम्मेसी नबिर्सने । उनले भाषा पनि छिटै सिके र दरबारमा प्यारो बनेर हुर्किए । पाँच वर्ष पछि उनी आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरबारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदानभित्रका कलहलाई नजिकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन, के कुरामा झगडा गर्छन, के कुरामा इर्ष्या गर्छन्, के कुरामा रीस गर्छन्, ती सबै कुरो बुझेका थिए । त्यस्तैगरि कति सेना छन्, कति हतियार छन् र सामरिक महत्वका ठाउँहरु कता कता छन् त्यो जानकारी पनि बटुलेका थिए ।

फर्केर गएपछि पृथ्वीनारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनि निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले । तर युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्रो हारको सामना गरे ।

त्यो बेला देखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक वर्ष जसो आक्रमण जारी राखे । गोरखाली आक्रमण सधैँजसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धनसम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्य तिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ । तर यो आक्रमण कहिलेपनि सफल भएको देखिन्न । यस्तो लुटमार गर्ने उद्देश्यले आक्रमण गर्ने र असफल भै फर्कने क्रम सम्बत् १७६४ सम्म जारी रह्यो ।

तत्पश्चात पृथ्वीनारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरु तर्फ पठाए । अन्त्यहीन जस्तो वार्षिक लडाई र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए । त्यो भन्दा पनि यस्तो सानो सानो स्तरको लडाइले त्यो बेला नेपालको अन्तर्राष्ट्रिय बन्द ब्यापार (तिब्बत भारत तिरको ब्यापार)लाई नोक्सान पुगी राखेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्ताव सित वास्तवमा खुशी भएका थिए ।

तर पृथ्वीनारायणको प्रस्ताव वास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन । जव गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए ।  मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए । लडाई अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्लराजाहरु गोरखाले वर्षेनी लडाई लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखा बाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुँदै थियो भन्ने सोचेर चकित परेका थिए ।

गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालिन बेलायती सरकार थियो । तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ । इस्ट इंडिया कम्पनि सम्बन्धि आर्काइवमा त्यो छ ।

मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नुपर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो जहाँ बाट हालको भारत र चीन बीच नेपाल भै व्यापार चलेको थियो ।

भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजा सित मिलेर ब्यापार बढाउँदै थिए । बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतीहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानी बढाउन चाहन्थे ।

लण्डनमा रहेको दस्तावेजमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहका सेनाले ८०० वटा काँधमा राखेर प्रहार गर्नुपर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायती सैन्य सल्लाहकार प्राप्त गरे । सम्बत् १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाह समेतको सहयोगमा गोरखाले कीर्तिपुर कठिन युद्द गरी जिते | कीर्तिपुरले अदम्य शाहस देखाउँदा देखाउँदा पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन । त्यो लडाईमा कीर्तिपुरका दुइ तिहाइ जनसंख्या मारिएका थिए ।

हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पानी त्यो ठाउँ "नाक नभएको मान्छेको गाँउ" भनेर परिचित छ । यो घटना घटिसकेपछि बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।

जय प्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए । उनले इस्ट इंडिया कम्पनीलाई गोरखाको आक्रमण बिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे। इस्ट इंडिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए । यी क्याप्टेन असाध्यै मदिरा प्रेमी थिए ।

क्याप्टेन किनलोक नेतृत्वको बेलायती सेना जब काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे तिनले गोर्खालीसित लडाई लडेको नाटक गरे र उक्त लडाईमा बेलायती सेना हारेको भनि गलत प्रचार गरे । गोर्खाली आक्रमणमा परि क्याप्टेन आफै घाइते बनेको प्रचार गरे । यो घटना "म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर" भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केही गर्न सक्तैनौ भनि बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।

बेलायती सहयोगको आश मरेपछि जय प्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले । एक ज्योतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनि बताईदिए । राज्य बचाउने आशमा सम्बत् १७६८ मा उनले कुमारी माताको भब्य पूजा गर्दै  इन्द्र जात्रा धुमधाम मनाए । त्यो वर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए ।

जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन । रथमा सवार जयप्रकाश रथबाटै हाम फाले उनका दुई श्रीमती पनि उनकै पछि पछि लागे र पाटन तिर सकुशल भागे ।

अशान्त भीडका बीचबाट पृथ्वीनारायण शाह अगाडि बढे र चिच्याए – "म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु" ।

मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडि झन् धेरै मदिरा पिए । हात हातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए | कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन ।

त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायती सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।
तीन बर्षको नाकाबन्दी पछि भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभाव सितै त्यहाँ दरवार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने धोकाको चुकुल खोलिदिए गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके । जय प्रकाश मल्लले आत्महत्या गरे । उनी प्रति उदारता देखाउँदै पृथ्वीनारायणले उनको शवलाई पशुपतिमा दाहसंस्कार गर्ने ब्यवस्था मिलाई दिए ।

भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वी नारायण शाहलाई पाले, पोसे, हुर्काए, उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनी मारिएनन् तर उनको आँखा फोडियो र हिन्दू पवित्र शहर बनारसमा निर्वासनमा पठाइयो । ललितपुरका राजा तेज नरसिंग मल्ल पृथ्वीनारायण शाह सित कुनै शब्द बोल्न चाहँदैन थिए र मौन मात्रै बसी रहे । तेज नरसिंगलाई एउटा शव राख्ने जस्तो इँटाको च्याम्बरमा थुनियो त्यहाँ सानो प्वाल थियो, जहाँ बाट दिनको एक कटौरा भात छिराउँथ्यो । केहि दिन पछि त्यो कतौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा इँटाले छोपी टालियो।

पृथ्वीनारायण शाहले जे जति गरे त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वीनारायणलाई भनेका थिए – "नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ़ने गरी आतंक फैलाउन सक्नु पर्छ | उनीहरुलाई अबको कयौं  शताब्दिसम्म पनि शासन सत्तामा आउन दिनु हुँदैन । शासन सत्तामा कब्जा जमाउने बिचार सृजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न  कडा नियम र तरवार (हत्या हिँसा)को साथ लिनै पर्छ ।"

तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्न बाट बन्चित गरियो । नयाँ निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दिर पुनर्निर्माण गर्न पनि रोक लगाइयो । व्यापार ब्यवसायमा नियन्त्रण गरियो । सम्बत् १७६७ को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरिको उत्पादन हुने गर्थ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन । स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो । सम्बत् १७७० मा मात्रै पनि २५०० नेवारहरु संजायको नाममा  मारियो । यस्तो व्यापक दमनको नतिजा स्वरूप दोस्रो पुस्ताको नेवारहरु एकदम काथर र पलायनबादी बन्न थाले । दमन र अत्याचार बिरुद्द बोल्नासाथ मारिने स्थिति बन्यो । तेस्रो पुस्ताका नेवारसम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकी रहेनन् र ती कुराहरु बिर्सन थाले ।

पृथ्वीनारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । सृजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो । तत्पश्चात बेला बेला भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाँचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरे तापनि ती शहरहरुको जीवन्तता फेरी कहिल्यै फर्किएन ।

बेलायतीहरुको हिंस्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे । सम्बत् १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्यो । पृथ्वीनारायणलाई हतियार बनाई त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो ।

यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछाँयामा सामन्ती व्यवस्था फस्टाउन पुग्यो ।यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीनसम्म पनि बिस्तृत भएको थियो ।

पछिल्लो समयमा बेलायतीहरु गोरखा सित खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखिसकेको थियो र जीतको उन्माद तिब्र थियो । उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाई छेडदै हिड्न थाले । त्यस्तै आफुले जितेका क्षेत्रलाई "निषेधित इलाका" मा परिणत गर्दै गए । उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन तर सम्बत् १७८९ मा उनीहरु युद्द उन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउँहरुमा समेत हमला गर्न थाले ।

बेलायतका जनरल अक्टरलोनीले लेखेका छन् – "हामीले गोर्खाली सेनालाई कतै न कतै अल्झाउनु पर्छ ताकी उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस् ।"

लर्ड हेस्तिन्गले सम्बत् १८१७ मा उनको डायरीमा लेखेका छन् – "नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाइ व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा ।"

यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायती सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार)लाई दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी श्रोत बन्न गयो ।

गोर्खाली जवानहरु देश छोड्दै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलात्मक रुपमा शान्ति देखिन थालियो । तर दरबार भित्र भने शान्ति आएन । शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए ।

यस्तै घटनाक्रम सँगै कोट पर्व भयो । यस पछाडी जंगबहादुर राना शक्तिशाली बनि निस्किए र उनले शाह राजा सित शक्ति खोसेर शासन चलाए ।

यस पछाडी के भयो आफै किताब खोजेर पढ्नु होला । 
Nepal: Geschenk der Götter (Nepal Gifts of the Gods)
by Hans-Georg Behr  

No comments:

Post a Comment