शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, November 3, 2016

यसरी खिचिएको थियो तरकारीवालीको फोटो : भाइरल भएपछि फोटोग्राफर नै डराए

कात्तिक १८, २०७३ काठमाडौं : कात्तिक ११ गते बेनिघाटबाट त्रिशुलीमा १ बजे  छुटेको र्‍याफटिङ बोट चितवनको फिस्लिङबजारमा साँझ ५ बजे रोकियो। चार घन्टा प्याडल चलाएर थकाईले चुर भएका रुपचन्द्र महर्जनलाई उनका क्लाइन्टले फस्लिङमै बस्न आग्रह गरे। 

क्लाइन्टको आग्रह अनुसार नै उनी फिस्लिङमा बास बस्न राजी भए र भोलिपल्टको प्लानिङ गरे- ब्रेकफास्ट अघि 'सर्ट हाइकिङ' गर्ने। महर्जन सहित ७ जनाको टोली बिहान ८ बजेतिर फिस्लिङ बजारको पारीपट्टी गोरखाको भुम्लीचोक गाविसतर्फ लम्किए। त्रिशुलीको पुल तर्ने क्रममा हातमा नाम्लो बोकेकी युवती रुपचन्द्रको नजरमा पर्छिन्। हातमा नाम्लो बोकेकी युवती देखेपछि उनले पक्कै भारी बोकेर आउने अनुमान लगाउँछन् र झोलाबाट क्यामेरा झिकेर ठीक पार्छन्। एकछिनमा युवती दुई क्रेट गोलभेँडाको भारी बोकेर आइन्। रुपचन्द्रले पुलमा हिडिरहेको बेला उनको फोटो खिचिहाले।

'सर्ट हाइकिङ' सकेर फिस्लिङ बजार आइपुग्दा रुपचन्द्रले फेरि देखे ती युवतीलाई। उनी फोनमा कुरा गरिरहेकी थिइन् र साथमा थियो गोलभेँडाको क्रेट। रुपचन्द्रले यो मुभमेन्ट पनि क्याप्चर गर्न छुटाएनन्। कात्तिक १२ गते बेलुका दुबै फोटो फेसबुकमा पोष्ट गरे। 

पुलमा भारी बोकेको फोटोको क्याप्सन लेखे  'फिस्लिङ गोरखा जोड्ने पुल। तरकारी बजारमा लग्दै गाउँकी बहिनी।' मोवाइलमा कुरा गर्दै गरेको फोटोको क्याप्सन लेखे 'बिजी फिस्लिङ मार्केट।' 

सुरुमा उनकै साथीहरुले त्यो पोष्ट सेयर गरे। एक, दुई हुँदै धेरैले यो फोटो सेयर गरे। अनि फेसबुकभरी ती युवतीको फोटो भाइरल भयो। 'शनिबार (कात्तिक १३ गते) म अर्को टोली लिएर र्‍याफ्टिङमा आउनुपर्ने थियो, त्यो दिन फेसबुक नै खोलिन', रुपचन्द्रले स्मरण गरे, 'आइतबार साथीहरुले फोन गरेर मलाई तिमीले हालेको फोटो त भाइरल भयो।' 

काठमाडौं कीर्तिपुरका बासिन्दा रुपचन्द्र महर्जन पर्यटन व्यवसायी हुन्। उनी फोटोका सौखिन छन्। पर्यटकलाई घुमाउन लैजाँदा दृश्य कैद गरी उनीहरुलाई उपलब्ध गराउँछन्। कात्तिक १२ गते उनले तरकारी बोकेर आएकी युवतीको फोटो कैद गरे। उनले युवतीको रुप देखेर फोटो खिचेका थिएनन्, परिश्रम देखेर खिचेका थिए। 'फिस्लिङ पुलमा ती बहिनीको परिश्रम देखेर  म प्रभावित भएँ अनि गाउँको परिश्रमबारे जानकारी दिन मैले फोटो लिएको हुँ,' महर्जनले थाहाखबरसँगको कुराकानीमा सुनाए। 

फोटो भाइरल भएपछि उनलाई डर लाग्यो। 'भाइरल भन्ने कुरा मलाई थाहा थिएन, साथीहरुले सुनाएपछि मेरो सातो गयो, यसले ती बहिनीलाई असर गर्ने हो कि भन्ने लागेपछि मैले तुरुन्त फोटो डिलिट गरेँ।' 

फोटो भाइरल भएपछि युवती तनावमा 
तरकारीवाली भन्दै सामाजिक सञ्जालमा भाइरल बनेकी युवती हुन् गोरखा भुम्लीचोक बाङ्लिङटारकी कुसुम श्रेष्ठ। उनी स्थानीय किसान चन्द्रनारायण श्रेष्ठ र ज्ञानुकी छोरी हुन्। भुम्लीचोकबाट नजिकको बजार फिस्लिङमा तरकारी बेच्न १ घण्टा बोकेर ल्याउनुपर्छ। 

उनी चितवनमा व्यवस्थापन संकायमा ११ कक्षामा पढ्छिन्। दशैँ विदामा घर आउँदा कुसुम तरकारी बेच्न फिस्लिङ बजार आएकी थिइन्। आफूले तरकारी बोकेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि कुसुमले असजिलो महसुस गरेको उनका काका पदम श्रेष्ठले बताए। 'ला मेरो फोटो त यस्तो गर्दिएछ भनेर आत्तिराथ्यो,' श्रेष्ठले भने। 

काका पदमले यसलाई नराम्रो रुपमा लिन नहुने भनी सम्झाएका थिए। 'त्यस्तो नराम्रो केही भएको छैन, राम्रो नै भएको छ,  मैले सम्झाएँ,' पदमले भने। फोटो भाइरल भएर कुसमुलाई चिन्ता पर्ला भन्ने कुरा रुपचन्द्रले चिताएका पनि थिएनन्। फोटो भाइरल भएपछि उनले काका पदमलाई फोन गरेर भने 'मैले मोडल जस्तो देखेर फोटो खिचेको थिइनँ, बहिनीको परिश्रम देखेर फोटो खिचेको हुँ, यसले सकारात्मक सन्देश प्रवाह गर्ला।'

सामाजिक सञ्जालमा भाइरल भएको यो फोटोबारे नेपाली मात्र होइन विदेशी सञ्चार माध्यममा पनि समाचारहरु प्रकाशित भएका छन्। फेसबुकमा कतिपयले कुसुमको फोटो पोस्ट गरेर आफ्नो वधु त्यस्तै पौरखी हुनुपर्ने धारणा राखेका छन्। फोटो खिच्ने रुपचन्द्र महर्जन कुसुमको परिश्रमको सम्मान गर्दै सकरात्मक सन्देश फैलाउन सबैलाई अपिल गर्छन्। 'उनी मोडल होइनन् उनी परिश्रमी हुन्, पौरखीको सकारात्मक कोणबाट चर्चा गर्न सबैलाई आग्रह गर्छु', उनले भने। 

कुसुमको फोटो भाइरल भएपछि काका पदमलाई भतिजीबारे जानकारी लिन र भेटाइदिन तारन्तार फोन आइरहेको छ। फोन गर्नेमा अधिकांश पत्रकार छन्। उनको अन्तरवार्ताका लागि घरमै आउन अनुमति मागेका छन् भने कतिपयले केही दिनमा आउने जानकारी गराएका छन्। तरकारी बोकेकी कुसुमको फोटो खिच्ने रुपचन्द्र समेत उनलाई भेटेर फोटो खिच्नुको कारण र आशय बताउन आतुर छन्।
साभार: थाहा खबर

No comments:

Post a Comment