शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, April 30, 2016

फेसबुकको (कु)लत

सोसल मिडियाको उपयोगभन्दा पनि दुरूपयोगले किशोरकिशोरीको व्यक्तिगत र सामाजिक जीवन भताभुंग
जनकराज सापकोटागोकर्ण गौतम

‘अब म मेरा शुभचिन्तकमाझ धेरै समय रहन सक्दिनँ । उनीहरूबाट धेरै टाढा जाँदैछु । धेरै टाढा जाँदैछु ।’
२९ फागुनमा सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजी भाषामा यस्तो सन्देश लेखेर आत्महत्या गर्न तम्सिएका झापाका एक तन्नेरीलाई प्रहरीले जोगाएको छ । आयरल्यान्डस्थित फेसबुकको क्राइम जोनले उक्त स्ट्याटस पोस्ट गरेलगत्तै प्रयोगकर्ताको गतिविधि शून्य भएको र स्ट्याटसका आधारमा प्रयोगकर्ता आत्महत्याउन्मुख भएको निक्र्यौल निकाल्दै काठमाडौँस्थित महानगरीय प्रहरी प्रभागमा खबर गरेको थियो । त्यसलगत्तै महाशाखाका प्रहरी निरीक्षक पशुपति रायले झापास्थित जिल्ला प्रहरी कार्यालयलाई घटनाबारे विस्तृतमा अवगत गराए । र, ती किशोरलाई आत्महत्या गर्नबाट बचाइयो ।
यो त्यस्तो घटना हो, जसले सामाजिक सञ्जालको उपयोगको नौलो प्रवृत्तिलाई मात्रै बुझाउँदैन, कस्तो सूचना सम्प्रेषणका लागि समेत सामाजिक सञ्जाल प्रयोग गरिन्छ भन्नेसमेत देखाउँछ । इन्टरनेट सञ्जालको बढ्दो विस्तार र यसको उपयोग गर्ने जनसंख्याको द्रुतत्तर वृद्धिसँगै यसको उपयोगिताका परम्परागत दायराहरू त बदलिएको छ नै, नयाँ पुस्ता इन्टरनेट र यसमा आधारित अनेक प्रविधि र प्रयोगमा अभ्यस्त देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुनम लिम्बूको शोधको निष्कर्ष छ, किशोरकिशोरीहरू इन्टरनेटको उपयोग सामाजिक सञ्जालका निम्ति सबैभन्दा धेरै गर्छन् (हेर्नूस् सर्वेक्षणको निष्कर्ष) । काठमाडौँका निजी ‘प्लस टू’मा अध्ययनरत १ सय ६१ जना विधार्थीमाझ गरिएको प्रश्नावली सर्वेक्षणको निष्कर्ष सुनाउँदै उनी भन्छिन्, “सूचना र ज्ञान आदानप्रदान भन्दा पनि दैनन्दिनमा असम्भव प्रतिक्रियाहरू व्यक्त गर्न र आफूलाई सो अप गर्न सामाजिक सञ्जालको उपयोग भएको देखिन्छ ।”
अम्मली पुस्ता
काठमाडौँको एक सुविधासम्पन्न विद्यालयमा कक्षा ९ की छात्राको अफेयर चल्यो, सहपाठी छात्रसँग । भेट्दा कहिल्यै नबोलेका उनीहरू फेसबुकमार्फत नजिकिए । ‘हाई हेल्लो’बाट सुरु भएको सम्बन्ध प्रेममा बदलियो । भलै भेट्दा कुरा गर्न पनि आनाकानी गर्थे । तैपनि, नियमित च्याट र फोनबाटै किशोरीले कतिसम्म विश्वास गरिन् भने घरमा कोही नभएका बेला आफ्नो नांगो फोटो म्यासेन्जरबाट पठाइन् । तर, उनलाई के थाहा ? प्रेमीको मन जित्न पठाएको त्यही फोटोले आफ्नो जीवनमा बज्रपात ल्याउन सक्छ !

केही दिनपछि प्रेमीको साथीले उक्त फोटो फेसबुकमा अपलोड गरिदिएछ । युवतीले झन्डै आत्महत्याको बाटो रोज्नुपरेको । धन्न परिवार र स्कुलको साथ पाइन् । मनोविज्ञकहाँ पुर्‍याइयो, आत्मविश्वास बढाउने परामर्श दिइयो र बिस्तारै तंग्रिदै गइन् उनी । तैपनि, ६ महिना बितिसक्दा उनी सामान्य अवस्थामा फर्कन सकेकी छैनन् ।
भर्खर ११ कक्षा पढ्न थालेको छोरो बिनासित्तैँ रिसाउन र झर्कन थालेपछि एक दम्पती अत्तालिँदै मनोविज्ञ नवीन बज्राचार्यकहाँ पुगे । ती दम्पतीले छोराको आवश्यकता र चाहना पूरा गर्न कुनै कसर राखेका थिएनन् । तैपनि, छोरो आमाबाबुका अगाडि पर्नै नखोज्ने । ढोका थुनेर मोबाइल चलाउन पाए मस्त । अरू केही र कोही नचाहिने । बुझ्दै जाँदा बज्राचार्यले थाहा पाए, केटोलाई ‘इन्टरनेट एडिक्सन’ भइसकेको थियो । उनी सुनाउँछन्, “फेसबुकको लत यस्तो लागिसकेछ कि बाँकी दुनियाँको मतलबै थिएन उसलाई । त्यसैले बाबुआमासँग पनि झर्को मान्थ्यो ।”

यी दुई घटनाको प्रकृति फरक छ तर अन्तर्य एउटै हो, फेसबुक । एकातिर फेसबुक मानवीय जीवनको अपरिहार्य पक्ष भइदिएको छ । त्यसमा किशोरकिशोरीको मोह अझै अकासिएको छ । अर्कोतिर वरदान मानिएको यही फेसबुक किशोरकिशोरीको अध्ययन, व्यक्तित्व विकास र पारिवारिक प्रेममा विखण्डन ल्याउन प्रमुख कारक बनेको छ । त्यसका बहुआयामिक असर बिस्तारै सतहमा आउन थालेका छन् ।
फेसबुकमा परिवारका सदस्यलाई साथी नबनाउने, आफन्तको आँखा छल्न नक्कली एकाउन्ट बनाउने, च्याटमा मात्र होइन, स्ट्याटस र कमेन्टमा अश्लील शब्द लेख्न किशोरकिशोरी अभ्यस्त भइरहेका छन् । फेसबुकले निम्त्याएका समस्यालाई नजिकबाट नियालिरहेकी मनोविज्ञ करुणा कुवँर भन्छिन्, “हिजोआज किशोरकिशोरीले गर्ने हरेक नकारात्मक व्यवहारमा इन्टरनेटकै भूमिका प्रमुख हुन्छ । अझ फेसबुक त रिस र आवेग पोख्ने थलो भएको छ ।”

ट्वीटर, युट्युब, वाट्सएप, भाइबर, स्काइप, स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल पनि किशोरकिशोरलाई ‘एडिक्ट’ बनाउन सहायक सिद्ध भइरहेको उनको बुझाइ छ । कति कलेज तथा स्कुलले अनलाइनमा आधारित ‘एसाइनमेन्ट’ दिन्छन् तर त्यही विद्यार्थीलाई इन्टरनेट चलाउने बहाना बनिदिन्छ । अभिभावकले निगरानी नगर्दा फेसबुकदेखि पोर्नोग्राफीसम्म हेर्न भ्याउँछन् ।

त्यसो त किशोरकिशोरीमा मात्र सोसल मिडियाको लत छ भन्ने होइन । अन्य उमेर समूहका व्यक्तिलाई पनि फेसबुकले आफ्नो वशमा पारेको छ तर त्यसको असर किशोरकिशोरीमा बढी पर्छ । किनभने, प्राकृतिक रूपमा उनीहरूमा शारीरिक परिवर्तन आइरहेको हुन्छ, विपरीत लिंगीप्रतिको आकर्षण बढेको हुन्छ । प्रेम र यौनका विषयमा अधिक ध्यान जान्छ । इन्टरनेटले किशोरकिशोरीका यिनै कौतूहल मेटाउँछ, त्यो पनि कसैले थाहा नपाउने गरी ।

सामाजिक सञ्जालमा लत बस्नुको मुख्य कारण यही मान्छन् मनोविज्ञ बज्राचार्य । तर, यसको प्रभाव उमेर अनुसार पलाउने जिज्ञासा वा आवश्यकता मेट्न मात्र सीमित हुँदैन । बरू, फेसबुकको बहुआयामिक असरको सिकार हुन पुग्छन् । मान्छेभन्दा मेसिन (मोबाइल, कम्प्युटर)सँग आत्मीय र सहज महसुस गर्नु नै सबैभन्दा ठूलो समस्या बनेको र यसले पारिवारिक विखण्डनसँगै किशोरकिशोरीको मनोविज्ञानमा क्षति पुर्‍याएको बज्राचार्यको बुझाइ छ । अमेरिकाको मिसिगन विश्वविद्यालयको अध्ययनले यस्तै निष्कर्ष निकालेको थियो । किशोरकिशोरीले जति बढी समय फेसबुक चलाउँछन्, त्यति मात्रामा सुखप्रतिको अनुभूति र जीवनप्रतिको सन्तुष्टि कम हुँदै जाने देखिएको थियो । सामाजिक सम्बन्ध र मित्रता बढ्दै जाने गरे पनि अधिक प्रयोगले मान्छे–मान्छेबीचको भावनात्मक दूरी बढाएको उक्त अध्ययनको निचोड छ ।

हामीकहाँ सामाजिक सञ्जालले किशोर–किशोरीमा पारेको प्रभावका बारेमा त्यस्तै वैज्ञानिक अध्ययन त भएको छैन तर इन्टरनेटले गर्दा आफ्नो सन्तानको पढाइ बिग्रेको, झगडा गरेको, आफन्तसँग टाढा भएको, डिप्रेसन र तनावमा फसेको भन्दै अत्तालिँदै मनोविज्ञकहाँ पुग्ने अभिभावकको संख्या अचाक्ली बढेको प्रस्टै देखिन्छ ।

मनोविज्ञ बज्राचार्यका अनुसार कतिपय बाबुआमा एउटा समस्या लिएर आउँछन् तर त्यसको रहस्य कारण त्यही मोबाइल र इन्टरनेट हो भन्ने भेउ पाएका हुँदैनन् । फेसबुकको नियम अनुसार १३ वर्ष नभई अकाउन्ट खोल्न पाइन्न तर उमेर बढाएर त्यसभन्दा अगाडि नै अकाउन्ट खोल्ने धेरै हुन्छन् । कतिले अभिभावकसँग लुकेर चलाउँछन् भने कतिको अभिभावकले नै खोलिदिन्छन् । ‘टिनएज’ सुरु भइसक्दा त फेसबुक नहुने अपवाद नै हुन्छन् ।

जोडिने र छुट्टिने माध्यम
एसएलसी पास गरिसक्दा त सबैको हातहातमा स्मार्टफोन परिसकेको छ । वाइफाइ भइहाल्छ । नभए मोबाइलमा डाटा त चलिहाल्छ । यति भएपछि चौबीसै घन्टा इन्टरनेट उपलब्ध भइहाल्यो । त्यसो हुनु भनेको किशोरकिशोरी हरपल फेसबुकमा ‘इन्गेज’ हुनु हो । अझ राती इन्टरनेट छिटो चल्छ, होहल्ला पनि हुँदैन । रात कटेको पत्तै पाउँदैनन् । त्यसैले त आँखा सुन्नाएर र टाउको झुम्म बनाएर ढिला कलेज जानु सहरिया किशोरकिशोरीको दैनिकी बनिसकेको छ । तर, राती फेसबुक चलाउनु स्वास्थ्यका हिसाबले अझ जोखिमपूर्ण हुने विभिन्न अध्ययनले प्रमाणित गरेका छन् । जस्तो : सन् २०१५ मा ग्लास्गो विश्वविद्यालयल स्कटल्यान्डमा करिब पाँच सय टिनएजर विद्यार्थीमाझ गरिएको अनुसन्धानमा दिउँसोभन्दा राती इन्टरनेटमा झुन्डिँदा बढी असर पर्ने देखिएको थियो ।

उक्त अध्ययनमा भनिएजस्तो हाम्रै समाजमा पनि फेसबुक किशोर–किशोरीलाई डिप्रेसनमा फसाउने दरिलो माध्यम बनेको छ । कसरी भने फेसबुकबाट मित्रता र प्रेम सम्बन्ध बनाउन त सजिलो हुन्छ तर त्यसलाई टिकाउन त्यत्तिकै मुस्किल । एकपछि अर्को सम्बन्ध भत्कँदै जाँदा तनाव बढ्छ किनभने किशोरकिशोरी स्वभावले भावुक हुन्छन् । “फेसबुकले जोड्दैन, दुई जनाबीच सञ्चार मात्र गराउँछ । त्यसैले नियमित भेटघाट हुने सम्बन्ध जस्तो भावनात्मक र प्रेमिल हुँदैन,” यस्तो समस्याबाट गुज्रेका धेरै युवकयुवतीलाई परामर्श दिएकी मनोविज्ञ कुँवर भन्छिन्, “त्यसैले फेसबुक वा अन्य सामाजिक सञ्जालमा अफेयर चल्नु भनेको भ्रम मात्र हो । फेसबुकले कनेक्ट होइन्, ब्लक गर्छ ।”

यही सत्य किशोरकिशोरीमा बोध हुँदैन । उनीहरू रोमान्टिक च्याट र इमेलमा रमाइरहेका हुन्छन् । भेट हुँदा त्यही सामीप्य र आत्मीयता कायम रहन्न किनभने मान्छे फोटोमा जस्तो सुन्दर र स्ट्याटस लेखेजस्तो भद्र नहुन सक्छ । यसरी एकअर्काको अपेक्षा पूरा हुँदैन र बिस्तारै असमझदारी सुरु हुन्छ, सम्बन्ध टुक्रिन्छ । ब्रेकअपपश्चात् दुवै डिप्रेसनमा जाने खतरा हुन्छ । अझ सम्बन्धमा गम्भीर हुनेमा यस्तो समस्या अधिक हुन्छ । फोटोमा लाइक, कमेन्ट कम आयो वा आफूले चाहेको मान्छेले गरेन भने पनि तनाव लिने धेरै किशोरकिशोरी आफूले भेटेको कुँवर सुनाउँछिन् ।

फेसबुक नचलाउँदा पनि त्यसको ‘ह्यांग’बाट मुक्त नहुनु अझ डरलाग्दो हुन्छ । चाइनिज एकेडेमी अफ साइन्सले मस्तिष्क स्क्यानमार्फत गरेको अध्ययनको निष्कर्ष झन् भयावह छ । अनुसन्धानमा इन्टरनेटको लत बसेका केटाकेटीको मस्तिष्कमा ड्रग्स प्रयोगकर्ताकै जस्तो असर देखापरेको पाइएको थियो । सोसल मिडियाबारे चासो राख्ने अध्ययनकर्मी उज्ज्वल आचार्य सामाजिक सञ्जाल प्रयोगकर्ताको बढ्दो संख्यासँगै यसबाट सिर्जित नकारात्मक असरप्रति नेपाली समाज अनभिज्ञ रहेको बताउँछन् । भन्छन्, “इन्टरनेट अम्मलबाट बच्ने उपाय तन्नेर ीलाई सिकाउन अब ढिला भइसक्यो ।”

अनियन्त्रित रूपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई चिकित्साको भाषामा इन्टरनेटको कुलत अर्थात् इन्टरनेट एडिक्सन डिसअर्डर (आईएडी) भन्ने गरिन्छ । मनोविज्ञ, शिक्षक हुन् वा किशोरकिशोरीको क्षेत्रमा काम गर्ने अन्य सरोकारवाला, केमा एकमत छन् भने सहरिया क्षेत्रका अधिकांश किशोरकिशोरीमा ‘आईएडी’को समस्या देखा पर्न थालिसकेको छ । तर पनि, उनीहरूलाई न राम्रो मार्गनिर्देशन गर्न सकिएको छ न इन्टरनेटको फाइदा/बेफाइदाका बारेमा उचित परामर्श नै । जबकि, फेसबुक घातक भएको प्रमाण दिनानुदिन सार्वजनिक भइरहेका छन् ।

“अभिभावकको प्रत्यक्ष निगरानीमा त्यो पनि खुला ठाउँ र दिनमा एकाध घन्टा इन्टरनेट वा फेसबुक चलाउन दिँदा फाइदै होला,” वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्याय भन्छन्, “तर, यही शैलीमा छाडा छोड्ने हो भने किशोरकिशोरीको व्यक्तिगत र सामाजिक दुवै जीवन भताभुंग हुने
पक्का छ ।”

सर्वेक्षण विधि
काठमाडौँका निजी प्लस टूमा अध्ययनरत १ सय ६१ विद्यार्थी प्रश्नावली सर्वेक्षणमा सहभागी थिए । जसमध्ये, पुरुष ७८ र महिला ८३ जना थिए । नमुना छनोट विधिमार्फत छानिएका विद्यार्थीलाई इन्टरनेटको उपयोगिताबारे बन्द प्रश्नावली भर्न लगाइएको थियो । कतिपय उत्तरमा उनीहरूले एकभन्दा धेरै उत्तरको छनोट गरेका छन् । जसका कारण उत्तरदाताको निश्चित संख्याभन्दा उत्तरको प्रतिशत धेरै देखिन सक्छ ।


सर्वेक्षणमा जे देखियो
– पुनम लिम्बू
सोसल मिडिया आफैँमा ‘ओपन स्पेस’ हो । तर, अधिकांश तन्नेरीले सोसल मिडियालाई निजी स्पेसका रूपमा उपयोग गरिरहेका छन् । स्कुलको अनुशासन र अभिभावकको नियमनबाट भर्खरै उन्मुक्ति पाएका किशोर–किशोरीहरू सामाजिक सञ्जालमा स्वतन्त्रताको उपभोग गर्नेतर्फ हदैसम्म उद्धत देखिन्छन् । सामाजिक नियम र कलेजको अनुशासनले त तन्नेरीहरूलाई बाँध्न सकेको लाग्दैन । अभिभावक, शिक्षक र आफूभन्दा सिनियरलाई पत्तै नदिई वा नियम मिचेर उनीहरूले जति पनि स्वतन्त्रताको अनुभव गरेका छन्, त्यसलाई उनीहरू सामाजिक सञ्जालमा व्यक्त गर्छन् र त्यसलाई आफ्जो जितका रूपमा प्रस्तुत गर्छन् । जस्तो : केटाहरू लुकेर चुरोट खान्छन्, गाँजाको स्वाद लिन्छन्, कलेज ‘बंंक’ गरेर घुम्न जान्छन् र त्यो अनुभवलाई उनीहरू सामाजिक सञ्जालमा राख्छन् ।

सामाजिक रूपमा वर्जित तर आफूले अनुभव गरेको कुरालाई तन्नेरीहरू बढाइचढाइ गरेर सामाजिक सञ्जालमा राख्छन् । जस्तो : चुरोट तन्काएको कुरा उनीहरू गर्वसाथ लेख्छन् र अरू साथीभन्दा आफू माथि पुगेको भनेर देखाउन चाहन्छन् । आफूले लुकेर गरेका कुरालाई गर्वसाथ व्यक्त गर्ने माध्यमका रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्न चाहन्छ नवपुस्ता । उनीहरू के कुरामा निश्चिन्त देखिन्छन् भने आफ्ना अभिभावक, शिक्षक वा आफूभन्दा पाकाहरू सामाजिक सञ्जालबारे जानकार छैनन् वा भए पनि आफ्नो प्रोफाइलमा उनीहरूको ध्यान पुग्दैन ।

प्लस टू पढ्ने चार जना केटा र चार जना केटीको फेसबुक प्रोफाइल मैले उनीहरूलाई थाहा नदिईकन एक महिनासम्म मिहिन अवलोकन गरेँ । ती आठमध्ये एक जनाले मात्र आफ्ना बाबुआमालाई फेसबुकमा साथी बनाएको पाइयो भने अरूले आफूभन्दा सिनियर दाजु, दिदी, अन्य नातेदार र शिक्षकलाई साथी बनाएका छैनन् । किनभने, त्यसो गर्दा आफ्ना कुरा अरूले थाहा पाउँछन् भन्ने उनीहरूको डर हो ।
सामाजिक सञ्जालको प्रयोगमा पनि तन्नेरीहरूको फरक अनुभव छ । उनीहरू कि त आफ्नो सौन्दर्यता वा सामाजिक नियम मिचेर आफूले हासिल गरेको खुसी व्यक्त गर्छन्, कि त बिहानै–बेलुकै भेटिने साथीसँग अनौपचारिक च्याटमा धेरै समय बिताउँछन । दैनन्दिनमा व्यक्त गर्न अप्ठ्यारो हुने अश्लील र द्विअर्थी शब्दको प्रयोग पनि उनीहरू च्याटमै धेरै गर्छन् । एक जना छात्रले त केसम्म बताए भने आफूले मन परेका केटीसँग सोझै गफ गर्न र मनको कुरा राख्न सकिन्न जबकि फेसबुक च्याटमा त्यस्ता कुरा निर्धक्क राख्न सकिन्छ ।

औपचारिक कुराकानीमा उनीहरू सामाजिक सञ्जालको प्रयोगले ज्ञानको वृिद्ध हुने, अनुभवहरू साट्न सकिने र नयाँ नयाँ कुरा थाहा पाइने बताउँछन् । जबकि, व्यावहारिक रूपमा भने उनीहरू यसबाट फाइदाभन्दा बरू सामाजिक सञ्जालकै अम्मली बनिरहेका देखिन्छन् ।

अधिकांश तन्नेरीहरू औपचारिक कुराकानीमा आफूहरूले इन्टरनेटको उपयोग ‘पोर्न’ ( अश्लील) साइट हेर्नका निम्ति नगर्ने बताउँछन् तर नाम उल्लेख नगर्ने सर्तमा गरिएको प्रश्नावलीमा भने उनीहरूले आफू र आफूजस्तै अधिकांश तन्नेरी इन्टरनेटमा पोर्न साइट हेर्ने गरेको बताउँछन् । प्रश्नावली सर्वेक्षणले पनि यो कुरालाई पुष्टि गर्छ । किनभने, अधिकांश तन्नेरी रातमा आफ्नो कोठाभित्र लुकेर इन्टरनेट चलाउन रुचाउँछन् । एक महिनासम्म आठ तन्नेरीले सञ्जालमा पोस्ट गरेको तस्बिर, स्ट्याटस र कमेन्टहरूलाई नियाल्दा उनीहरू दैनिक कैयन्पटक सोसल साइट लग इन र लग आउट गर्छन् । केटी र केटा दुवै जनाको एउटा समानता भनेको उनीहरू आफ्ना अनेकन् हाउभाउसहितको र सम्पादन गरिएको फोटो पोस्ट गर्न रुचि राख्छन् र त्यसमा आउने कमेन्ट अनि लाइक गनेर खुसी हुन्छन् ।
आफ्नो फेसबुक प्रोफाइल आफ्ना अभिभावकले हेर्दैनन् भन्नेमा अधिकांश तन्नेरी ढुक्क देखिन्छन् । परिवारका सदस्यले आफ्नो प्रोफाइल चेक गर्छन् भन्ने ठान्नेहरूले फेसबुकमा अश्लील वा घुमाउरो भाषासहितको स्ट्याटस लेख्दैनन् । कतिपयले आफ्नो वास्तविक फोटो राख्ने तर नाम भने स्टाइलिस वा सही नराख्ने प्रवृत्ति देखिन्छ । जसले, उनीहरू अभिभावकले राखिदिएको आफ्नो नामबाट समेत खुसी छैनन् भन्ने देखाउँछ । पंकी अक्षर वा हिज्जे बिगारेर आफ्नो नाम राख्नुलाई उनीहरू ट्रेन्डी भएको वा स्टाइलिस भएको भन्ठान्छन् ।

इन्टरनेटमा पहुँच
सन् २०१४ को डिसेम्बरमा नेपाल टेलिकमको इन्फरमेसन म्यानेजमेन्ट सिस्टम(एमएसआई)ले निकालेको तथ्यांकले एक करोड ९ लाखले मोबाइलमार्फत इन्टरनेट चलाउँछन् । यो कुल जनसंख्याको झन्डै ३९ प्रतिशत जनसंख्या हो । विश्व बैंकको रिपोर्टले नेपालको कूल जनसंख्याको झन्डै २९ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको देखाउँछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्टका अनुसार पछिल्लो एक वर्षमा मात्रै इन्टरनेट प्रयोगकर्ताहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको छ । इन्टरनेट वल्र्ड स्टाटसको रिपोर्टमा चाहिँ सन् २००० मा ०.२ प्रतिशत नेपाली इन्टरनेट प्रयोगकर्ता थिए भने सन् २०१४ मा १४ प्रतिशत पुगिसकेको छ ।
साभार: नेपाल साप्ताहिकhttp://bit.ly/1pHPGy5

No comments:

Post a Comment