शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, April 30, 2016

साँझ ढलेपछि पोखिने सुर

साँझको ८ बज्नु भनेको आमयुवतीका लागि घर फर्किसक्नुपर्ने ‘डेडलाइन’ हो तर सञ्जिमा लामा, १९, को भने बल्ल ‘ड्युटी आवर’ सुरु हुन्छ । काम सकिँदा मध्यरात भइसक्छ । रात छिप्पिएपछि उनले गर्ने काम के होला त ?
ठमेल र दरबारमार्ग क्षेत्रका रेस्टुराँ तथा पबमा आक्कलझुक्कल पुग्नेलाई पनि पक्का थाहा हुनुपर्छ, सञ्जिमाको काम र क्षमता । किनभने, उनले ती पबमा आफ्नो स्वर घन्काउन थालेको तीन वर्ष बितिसकेको छ । अरू निद्रामा मस्त हुँदा सञ्जिमा पबका श्रोतालाई संगीतको तालमा झुमाइरहेकी हुन्छिन् । एकै सोमा ३०–३५ गीत गाउनु आदत बनिसकेको छ उनको ।

“बारमा गीत गाउन सुरु गरेबाटै निकै इन्जोय गरिरहेकी छु । बाहिरबाट हेर्दाजस्तो यो पेसा न हाम्रा लागि असुरक्षित छ, न त चुनौतीपूर्ण नै,” रात्रिकालीन गायनमा आबद्ध यी युवती भन्छिन्, “परिवारको विश्वास जित्न सकियो भने बाँकी केहीले रोक्दैन ।” 

जति आधुनिक र शिक्षित भए पनि साँझ ढल्किएपछि छोरीहरू घर पसेनन् भने बाबुआमाको मन भतभती पोल्छ । राती ढिला हुँदा छोरी बिग्रेली र छरछिमेकीले कुरा काट्लान् भन्ने चिन्ता हुन्छ अभिभावकलाई । सामाजिक सोच र संरचना यस्तै छ । त्यसैले नियत र व्यवहार सफा भएका युवती पनि बेफिक्री घरबाहिर समय बिताउन पाउँदैनन् । तर, सञ्जिमाको हकमा भने समय र स्थानले उनको कामलाई रोकेको छैन । भन्छिन्, “हाम्रो कामको प्रकृति नै राती गाउनु हो । अनि, दिउँसो खोजेर कहाँ पाइन्छ ? आफू राम्रो छ भने जतिबेला जहाँ गाउँदा पनि हुन्छ ।”

गायनमा रुचि राख्ने सञ्जिमाले एसएलसीपछि नेपाल म्युजिक सेन्टरमा वेस्टर्न भोकल सिकिन् । त्यही बेला उनले रेकर्ड गरेको ‘तिमी मेरो...’ बोलको गीतले यूट्युबमा चार लाख भ्युअर्स पाइसकेको छ । पेप्सी भ्वाइस अफ नेपालमा सहभागी भएपछि स्टिग्मा ब्यान्डसँग आबद्ध भइन् तर ६ महिना नबित्दै ब्यान्ड टुक्रियो ।

भलै उनलाई फाइदा भयो किनभने रात्रिकालीन गायनमा ख्याति कमाएको टोन ट्रयांगल ब्यान्डमा जोडिने मौका पाइन् । त्यसपछि त प्रत्येक रात सो गर्न थालिन् । “त्यतिबेला म मात्र होइन, ममी पनि एक्साइटेड हुनुभयो । बुबाको पनि साथ पाएँ, जसले मेरो उत्साह बढायो,” हाल सञ्जिमा एन्ड द मेलिफ्लुअस ब्यान्डको नेतृत्व गरिरहेकी उनी भन्छिन्, “तीन वर्ष रात्रिकालीन गायनमा मैले कहिल्यै असहज र असुरक्षित पल भोग्नुपरेन ।”

पहिलो कुरा त, हाम्रो समाजले अझ पनि गायनलाई सम्मानित र सुरक्षित पेसा मान्दैन । केटाले गिटार भिरेर गाउन थाल्यो भने ‘ट्यापे’को संज्ञा दिइन्छ । केटीलाई त परिवारले नै गायनमा अवरोध खडा गरिदिन्छ । त्यसमाथि भर्खरकी युवतीले राती गाउन त चुनौतीको पहाड छिचोल्नु पर्छ, पाइलैपिच्छे गाली र दुव्र्यवहार सहनु पर्छ । तर, सञ्जिमाजस्ता आत्मविश्वासी र क्षमतावान् युवती समाजको यो परम्परागत सोचाइ र सीमिततालाई भत्काउँदैछन् । गायनकलामार्फत आर्थिक रूपमा स्वावलम्बी त बनेकै छन्, सँगै प्रसिद्धि र करिअरको दायरा पनि फराकिलो बनाइरहेका छन् ।

यस्तैमा पर्छन्, तेञ्जिङ ह्याल्मो, अञ्जली थुलुङ राई अनि सुजाता शाह पनि । काठमाडौँ ‘नाइट लाइफ’मा अभ्यस्त भइसकेको छ । अनि, सञ्जिमाहरू यही मौकामा आफ्नो गायन कौशल देखाउन अभ्यस्त हुँदैछन्, जसलाई समाजले के भन्छ ? पर्वाह छैन । उनीहरूलाई त परिवारको विश्वास जितेर आफ्नो गायनकला पस्कनै फुर्सद छैन । द इलेक्ट्रिस ब्यान्डकी एक्ली भोकलिस्ट तेञ्जिङ सुनाउँछिन्, “अनुशासितचाहिँ हुनुपर्छ, पब, बार, रेस्टुराँ वा खुला कन्सर्ट, जहाँ गाउनु पनि एउटै हो, आखिर आफ्नो कला देखाउने नै त हो ।” उनीहरूको आत्मविश्वासी आवाज र अनुभव सुन्दा यस्तो लाग्छ, रात्रिकालीन गायन युवतीहरूका लागि अवसरको नयाँ आयामका रूपमा स्थापित हुँदैछ ।

जस्तो : तेञ्जिङकै कुरा गरौँ न ! उनी बस्छिन् बौद्धमा, गाउँछिन् ठमेलमा । ६ वैशाखको साँझ भेट्दा उनी पर्पल हेजमा सोको तयारी गर्दै थिइन् । सो सकिँदा १२ बजिसक्छ । लगातार तीन दर्जन नेपाली, हिन्दी र अंग्रेजी गीत गाउनु पर्छ । घर पुग्दा ज्यान निकै थाक्छ, खानाको खास टुंगो हुँदैन । तैपनि, झर्को मान्दिनन् । हाँस्दै सुनाइन्, “थरीथरी रङका लाइटले सुन्दर हुने बारमा लाइभ म्युजिक गाउन पाउँदा यति आनन्द लाग्छ कि बाँकी सबै दु:ख भुलिन्छ ।”

रात्रिकालीन गायनमा आउनुको पछाडि तेञ्जिङको योजना भन्दा संयोगको भूमिका बढी रहेछ । कलेज पढ्दा गीत गुनगुनाउँथिन् । साम्देन भन्ने साथीले भोकलका लागि अनुरोध गर्दा उनले नाईं भनिनन् । ‘मिसिङ यु...’ र ‘मौनता...’मा दुई गीत रेकर्ड गरिन्, ठमेलको रेन्ज स्टुडियोमा । गीत बाहिर नआउँदै 
उनको स्वर स्टुडियो र संगीतवृत्तमा चर्चित भइसकेको थियो । जसले गर्दा उनी ठमेलमा नाइट सो गर्ने ब्यान्ड सफोकेटेड सोजमा आबद्ध हुन पाइन् । सम्झिन्छिन्, “ब्यान्डकी एक्ली केटी सदस्य भएकीले पहिलो सो फ्लुट बारमा हुँदा केही नभर्स त थिएँ तर क्राउडबाट निकै राम्रो रेस्पोन्स पाएँ । त्यसले मेरो आत्मविश्वास बढायो ।”

एकातिर स्थापित ब्यान्डसँग जोडिन पाइन्, अर्कातिर परिवारका सदस्यले साथ दिए । उनका बुबा थाङ्का लेख्छन्, त्यसैले छोरीको कलाकारितामा बाधक बनेनन् । त्यति मात्र होइन, बेलामौकामा उनको सो हेर्न नै आउँछन् । झन् तीन वर्षअगाडि द इलेक्ट्रिस ब्यान्डसँग गाँसिन पाएपछि त तेञ्जिङको व्यस्तता र पारिश्रमिक दुवै बढेको छ । ब्यान्डमा सबैभन्दा सिनियर भएकाले सिक्न पाएको र सोको पनि अभाव छैन ।

अधिकांश गीत क्राउडको रोजाइ अनुसार गाउनुपर्छ तर उनी आफैँ भने आर एन्ड बी जनराका अंग्रेजी गीत रुचाउँछिन् । छिट्टै सोलो ट्रयाक निकाल्दैछिन् । उनको ब्यान्डको हप्तामा कम्तीमा तीन सो हुन्छ । एउटा सोबाट उनको हातमा घटीमा दुई हजार रुपियाँ पर्छ । ठमेल र दरबारमार्गका प्राय: पबमा आफ्नो गायकी प्रस्तुत गरिसकेकी तेन्जिङ भन्छिन्, “हामी राती सो गर्छौं भनेर डराउनु र लजाउनुपर्ने अवस्था छैन । लाइभ म्युजिकमा आफूलाई तिखार्न पाइन्छ ।”

प्रहरी सेवा र रात्रिकालीन गायन दुवै महिलामैत्री लाग्दैन, चुनौतीपूर्ण मानिन्छ तर जोरपाटीकी अञ्जली थुलुङ राई यही चुनौतीमा रमाइरहेकी छन् । दिनभर उनी सशस्त्र प्रहरी बलको स्वयम्भूस्थित हेडक्वार्टरमा व्यस्त हुन्छिन् अनि साँझ परेपछि दरबारमार्गको जुजुबा लाउन्जमा, जहाँ उनी लगातार चार घन्टा सुमधुर नेपाली गीत पस्किन्छिन् ।

उसो त उनी सशस्त्र प्रहरीको पनि सांगीतिक शाखामा छिन् । रात्रिकालीन गायन सुुरु भएको चार वर्ष बितेको छ भने प्रहरी सेवामा तीन वर्ष । भन्छिन्, “रात्रिकालीन गायन र प्रहरीको जागिर एकअर्कामा भिन्नजस्तो देखिन्छ तर मलाई कुनै अप्ठ्यारो महसुस भएको छैन । बरू, मज्जा लाग्छ ।”
इमेज च्यानलको रियालिटी सो वागिना जिते पनि अञ्जलीको व्यावसायिक गायन सुरु भएको हो, होटल र्‍याडिसनबाट । त्यतिबेला उनी साइना ब्यान्डकी एक्ली केटी सदस्य थिइन् । र्‍याडिसनमा भीआईपी र विदेशी पाहुना हुन्थे, उनीहरूलाई टिपिकल नेपाली गीत गाएर मनोरञ्जन दिलाउन खप्पिस हुँदै गइन् । तर, परिवार कहिल्यै ‘भिलेन’ भएन । किन त ? भन्छिन्, “बुबा बिट्रिस आर्मी र दाइ नेपाल प्रहरीमा भएकाले उहाँले मलाई स्वतन्त्र छोडिदिनुभयो । मैले पनि उहाँहरूको विश्वासमा कहिल्यै घात गरिनँ । त्यसैले राती होटलमा गाउँदा पनि सधैँ साथ पाइरहेकी छु ।”


सशस्त्र प्रहरीमा नाम निक्लिएपछि तालिम अवधिभर अञ्जलीको गायन रोकियो । साइनासँगको व्यावसायिक सम्बन्ध पनि टुट्यो तर भाग्यवश उनी सशस्त्र प्रहरीभित्र सांगीतिक शाखामा छानिइन् अनि रात्रिकालीन गायनमा पनि जागिर बाधक बनेन । जे ब्यान्डसँग जोडिएपछि त उनको गायनले झन् तीव्रता पाएको छ । १० मध्ये उनीसहित दुई केटी सदस्य छन् । यो ब्यान्डले जुजुबामा प्रत्येक दिन आफ्नो कला पस्किन्छ, अञ्जलीले हप्तामा पाँच दिन । टिप्सबाहेक मासिक २८ हजार रुपियाँ कमाई हुन्छ । काम र दाम आफ्नै रोजाइ अनुकूल भएकाले उनी फुरुंग छिन् ।

रात्रिकालीन गायनमा चिनिएको अर्को नाम हो, सुजाता शाह । स्नातक तहमा अध्ययनरत सुजाता लाइभ म्युजिक भनेपछि हुरुक्कै हुन्थिन्, बच्चैबाट । अहिले त्यही रहर पूरा गरिरहेकी छन्, बार र पबहरूमा गाएर । उसो त रात्रिकालीन गायन सुरु गर्नु पहिल्यै उनले गाएको ‘बेबी आई...’ बोलको डान्सिङ नम्बर हिट भइसकेको थियो । नेपथ्य फिल्मका लागि ‘मस्त जवानी...’ बोलको आइटम गीत पनि गाइन्, त्यसपछि मात्र उनी ठमेलका रेस्टुराँमा आफ्नो स्वरको जादू छर्न थालेकी हुन् ।

सुजाता जोडिएको पहिलो ब्यान्ड हो, द लिटिल विंग्स । आफ्नै समकक्षीसँग मिलेर खोलेको ब्यान्डले केही ठाउँमा सो गर्‍यो तर निरन्तरता पाएन । त्यसपछि ठमेलको फंकी बुद्ध क्लबमा इभेन्ट म्यानेजरका रूपमा काम सुरु गरिन् । सोको व्यवस्थापन गर्दागर्दै उनी भोकलिस्ट बनेकी हुन्, आवाज अनप्लग्डको । प्राय: अंग्रेजी गीत गाउन रुचाउने सुजाता भन्छिन्, “एकै उमेरका साथीहरू छौँ, कुरा पनि मिल्छ । त्यसैले, एकै रात ३०–४० वटा गीत गाउनुपर्दा पनि काम गरेको जस्तो महसुस हुँदैन । रमाइलोसँग बित्छ ।”

हप्तामा कम्तीमा तीन सो गर्छ उनको ब्यान्डले । प्रति सोबाट दुई हजार पाउँछिन् । सो सकेर मध्यरातमा घर पुग्दा पनि परिवारको गाली खानु पर्दैन, बरू मौका मिलेको बेला रेस्टुराँमै आएर उनको गायनकलाको तारिफ गर्छन् पारिवारिक सदस्य । खुसी पोख्छिन्, “पबमा गाउँदा मेरो आत्मविश्वास र जनसम्पर्क बढेको छ । पारिश्रमिक पनि ठीक छ । परिवारको साथ पनि भएकाले पबहरूमा गाउन छोड्दिनँ । सँगै सोलो ट्रयाक निकाल्छु ।”

रेस्टुराँहरूमा पुग्ने पाहुनाको पहिलो सर्त हुन्छ, मनोरञ्जन गर्ने । आफ्नो रोजाइ अनुसारको गीत नगाउँदा ग्राहकहरू झनक्क रिसाउँछन् । रक्सीले मात्दै गएपछि कतिपयले दुव्र्यवहार गर्न नखोज्ने होइनन् । कहिलेकाहीँ ग्राहक नहुँदा पनि गाइरहनु पर्छ ।

हरेक पेसामा जस्तै रात्रिकालीन गायनमा पनि अप्ठ्यारा र चुनौती नभएका होइनन् । तर, केटीका लागि असुरक्षित हुन्छ भन्ने पनि होइन । बरू, यो अवसरको नूतन ढोका हो । “बाहिर प्रोग्राममा लैजान्छु, पारिश्रमिक बढी दिन्छु भनेर प्रलोभन देखाउने धेरै हुन्छन्,” अञ्जली आफ्नो अनुभव सुनाउँछिन्, “तर, हामी फस्नु हुन्न, उसको नियत पहिचान गर्नुपर्छ । हामी हाम्रो दायराभित्र रहने हो भने रात्रिकालीन गायनबाट पैसा र प्रसिद्धि दुवै कमाइन्छ ।”

साभार:

No comments:

Post a Comment