शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 27, 2015

नेपाली चेली मिराले बनाइन् विश्व रेकर्ड


काठमाडौं : अल्ट्राम्याराथन च्याम्पियन मिरा राईले म्याराथन दौडमा अर्को विश्व कृर्तिमान कायम गरेकी छिन् । फ्रान्समा सम्पन्न भएको ८० किलोमिटर मोन्ट ब्लंक म्याराथुनमा बाजी मार्दै मिराले नेपालको झन्डा फ्रान्समा फर्फराएकी हुन् ।
शनिबार भएको ८२ किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा मिरा महिलातर्फ पहिलो भएकी हुन् । मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी छन् ।  म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भएकी छिन् । यसअघि एशियन च्याम्पियन बनेकी मिरा अब विश्व च्याम्पियन बनेकी छिन् ।
यसअघि हङकङमा भएको ५० किलोमिटरको एसियन स्काईरनिङ अल्ट्रा च्याम्पिनसिप र इटालीमा भएको इन्टरनेशनल अल्ट्रा रनको उपाधि पनि जितेकी थिइन् । उनले नेपालमै  भएका हिमालयन आउटडोर फेष्टिवलमा ५० किमी दुरीको ट्रेल रेस,  १ सय ५७ किमीको मुस्ताङ ट्रेल रेस पनि जितेकी थिइन् ।


बालछापामारदेखी अन्तर्राष्ट्रिय च्याम्पियनसम्म
एक वर्षअघिसम्म मीरा राईको परिचय एक आमनेपाली युवतीभन्दा फरक थिएन । भोजपुरको दुर्गम गाउँमा जन्मिएकी र विद्यालय पढ्दापढ्दै माओवादी विद्रोही बनेर विद्यालय र परिवार छोडेर हिँडेकी उनले एक दिन अन्तर्राष्ट्रिय खेलाडी बनुँला भनेर सोचेकी पनि थिइनन्  माओवादीले बालसैन्यमा भर्ना गरेकाहरु धेरै अहिले पछुतो मान्छन् । क्रान्ति पूरा नभएकोमा । नेताहरुले आफूहरुलाई स्वार्थसिद्धिका लागि प्रयोग गरेकोमा । मीराको भने माओवादी विद्रोही क्याम्पमा बिताएको केही वर्ष नै अहिले अन्तर्राष्ट्रिय अल्ट्राम्याराथन च्याम्पियन बन्ने बाटो बन्न पुग्यो ।


गतवर्ष नेपालमा भएको ५० किलोमिटर दुरीको हिमालयन आउटडोर फेस्टिवलमा प्रथम भएपछि उनले पछि फर्केर हेर्नु परेको छैन । त्यसको केही महिनापछि भएको मुस्ताङ ट्रेल रेसमा उनी प्रथम भइन् । त्यसपछि इटलीमा भएका ५७ किलोमिटरको सेलारेन्दा ट्रेल रेस र ८३ किलोमिटर लामो ट्रेल डेग्ली इरोयमा उनले अरुलाई उछिन्नै दिइनन् ।
यस्तै, हङकङमा भएको ५० किलोमिटर दुरीको एमएसआइजीमा प्रथम, किङ अफ हिल म्याराथन हङकङमा दोस्रो, एचके एमएलआइजी भर्टिकलमा प्रथम, एमएसआइजी लान्टाउ ५० एचके ५० सेरिजमा दोस्रो स्थान हात पारिन् । यसैसाता काठमाडौँमा सम्पन्न द नर्थफेस काठमाडौँ अल्ट्रा म्याराथनमा उनी फेरि पहिलो भइन् । विश्वका लामा दूरीका धावकहरुको पंक्तिमा छोटो समयमा नै उनले आफूलाई उभ्याएको हङकङको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ ।
०००

 

लडाकु हुँदा मीरा तस्वीर : साउथ चाइना मर्निङ पोष्ट

मीरा पाँचजना दाजुभाइ दिदीबहिनीमा दोस्रो सन्तान हुन् । पहाडको जीवन दुःखपूर्ण हुने नै भयो । १४ वर्षको उमेरमा उनी परिवर्तनको रंगीन सपना साँचेर कुम्लो बोकेर घर छोडिन् । त्यसपछिको बाँकी दुई वर्ष उनको माओवादी क्याम्पमा बित्यो शुरुमा राजनीतिसित मलाई चासो थिएन ।
स्कुलमा विद्यार्थी युनियनले क्याम्पिङ र अरु खेलकुदसम्बन्धी गतिविधि गर्थे । त्यसैले मलाई घर छोड्न त्यसैले उक्सायोउनी भन्छिन् । उनले माओवादीमा लाग्दैछु भनेर घर छोडेकी थिइनन् । बरु भनेकी थिइन् केही साताका लागि क्याम्पिङ जाँदैछु ।  राई माओवादी सैनिक हुँदा नेपालमा माओवादी र सरकारबीच दोस्रो शान्ति सम्झौता भइसकेको थियो ।
त्यसैले भयानक युद्धका भीडन्तको उनले साक्षी बस्न परेन । घरबाट दुईदिन हिँडेपछि उनी माओवादी क्याम्पमा पुगिन् । जहाँ उनले खाना पकाउने र पहरेदारी गर्नुपर्थ्यो । बाँसहरु ओसार्नु अराइन्थ्यो । जसबाट क्याम्पहरु बनाइन्थे । उनलाई बिस्तारै राइफल, चक्कु, लठ्ठी लगायतका हतियारहरु चलाउन र सफा गर्न पनि सिकाइयो । गोली हान्ने अभ्यास चाहिँ सातामा दुईपटक हुन्थ्यो । यसबाहेक कवाज र साँस्कृतिक गतिविधिहरु त हुने भैहाले ।
बेलुका नेताहरुले उत्प्रेरणा जगाउने भाषण दिन्थे । जसले उनीहरुको रगत उमाल्थ्यो । क्याम्पमा उनले फुटबल, भलिबल, कराते, दौड जस्ता विभिन्न खेलकुदहरुमा उनले भाग लिन पाइन् । हरेक बिहान हामीले करिब एक घण्टा दौड्न पर्थ्यो। अनि अरु शारीरिक अभ्यास गरेपछि पनिउनले क्याम्पका दिन सम्झिन् ।
कराते सिकाउने गुरुले मीरामा लुकेको प्रतिभा देखे । त्यही प्रतिभा प्रष्फुटन गर्दै उनले करातेमा ब्लाक बेल्ट लिइन् । ह्वाइट बेल्टदेखि ब्लाक बेल्टसम्मको यात्रामा उनले धेरै दुगुर्नु पर्यो । म राम्रो दगुर्थें । त्यसबेला नै मेरा गुरुले मलाई दौडमा जाने हो कि भनेर भन्नुभयोपुराना दिन आलो पार्दै उनले भनिन् । करातेमा धेरै नियमहरु हुन्छन् तर दौड खुल्ला र नियमविहीन । म मेरो पूरा सामर्थ्य लगाउन पाउँछुदौड रोज्नुको कारण उनले यसरी खुलाइन् । जब क्यानटोनमेण्ट बन्द हुने र माओवादी सेना विघटना हुने कुरा कमाण्डरले सुनाए । जीवनले अर्कै मोड लियो
माओवादी सेनाहरु नेपाली सेनामा समायोजन हुने प्रक्रिया शुरु भयो । यसका लागि लडाकुहरुको शारीरिक नापजाँच र अन्तर्वार्ता हुन लागे । अफसोच, शारीरिक तन्दुरुस्तीको बावजूद मीरा आर्मीमा छानिन सकिनन् । छनौट प्रक्रिया निष्पक्ष थिएन किनभने म खेलाडी र तालिमहरुमा पनि राम्रो थिएँ । तर मैले अरु पनि केही गर्न सक्थेँ ।
त्यसैले धेरै किचकिच गरिनँपुराना दिन स्मरण गर्दै उनले भनिन् । शायद उनलाई भगवानले नै आर्मी नबनाएको होला । नत्र त्यतिबेला आर्मी भएको भए उनी आज कसरी अन्तर्राष्ट्रिय च्याम्पियन हुन्थिन् र  अयोग्य लडाकु राईलाई १० हजार रुपियाँ दिइयो र घर फर्काइयो । तर उनी घर जानुको साटो नजिकको बजारमा बस्न गइन् । माओवादीले केही परिवर्तन गरेका थिएनन् ।
त्यसैले घर गएर मैले केही भविष्य देखिनँ । म बजारमा बसेर केही जागिर गर्न चाहन्थेँघर नजानुको कारण खोल्दै उनले भनिन् । राई कराते गुरुसित सम्पर्कमा रहिरहिन् । जसले उनलाई काठमाडौंमा बोलाए र अरु धावकहरुसित बस्न आमन्त्रण गरे ।
००००
अहिले काठमाडौँमा बस्छिन् उनी । तालिम नभएका बेला स्वअध्ययन गर्छिन् । अहिले उनले तालिमका लागि दाताको सहयोग पाएकी छिन् तर थप सहयोग पाएको खण्डमा उनी अंग्रेजी र खेलकुदका बारेमा अध्ययन गर्न चाहन्छिन् । उनले विदेशमा गएर पदक जितुँला भनेर कहिल्यै सोचेकी थिइनन् । तर प्रशिक्षकले उनलाई आत्मविश्वास दिलाए । दौड्दा धेरैले गोरखा गोरखाभनेर हुटिङ गरिरहेका थिए । त्यसले मलाई उत्साहित बनायो । म उनीहरुलाई धन्यवाद दिन चाहन्छुउनी भन्छिन् ।
(फिचर साउथ चाइना मर्निङ पोष्ट र ट्रेल म्यागेजिनको सहयोगमा 
नरेश खपाङी मगरले तयार गरेका हुन्)
 


No comments:

Post a Comment