शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 20, 2015

'मेरो जिन्दगी एक पाइलाको सुन्दर यात्रा' (भिडियो सहित)



आठ वर्षकै उमेरमा सडक दुर्घटनामा परेर रोमा न्यौपानेले एउटा खुट्टा गुमाइन्। तर, उनले हिम्मत हारिनन्। आफूलाई सबैभन्दा मन पर्ने कुरा नृत्यलाई अघि बढाइन्। आज उनको नृत्यको सर्वत्र प्रशंसा हुन्छ। नृत्य गर्नकै लागि संसारका १६ देश पुगिसकेकी छिन्। फिल्म, टेलिफिल्म र म्युजिक भिडियोमा अभिनय गरिरहेकी छिन्। यतिबेला भने भूकम्पप्रभावित क्षेत्रमा पुगेर 'डान्स थेरापी'मा संलग्न छिन्। उनीसँग धनबहादुर खड्काको कुराकानीः
वैशाख १२ को शक्तिशाली भुइँचालो आउँदा कहाँ हुनुहुन्थ्यो?
घरमै थिएँ। भूकम्प आएपछि परिवारमध्ये सुरुमा भाग्ने मै थिएँ। तर, भागेर बाहिर गइनँ, खाटमुनि लुकेँ। त्यसपछि त्यहाँबाट निस्केर एक तलामाथि आमाबुबा हुनुहुन्थ्यो। सहारा खोज्दै त्यहाँ पुगिछु। एउटै खुट्टाले एकतला चढिसकेको त्यतिबेला चाल पाएँ, जब झर्नुपर्ने भयो, बैसाखी भेटिनँ। त्यो दिन डरले अर्कै खालको शक्ति समेत पैदा गर्ने रहेछ भन्ने लाग्यो।

पराकम्पन आइरहेका थिए तर तपाईं त भूकम्पपीडितको 'चर्किएको मन भत्किन नदिने' भन्दै विभिन्न ठाउँमा पुगेर नाचिरहनुभएको थियो। डर लागेन?
मेरो डान्स गुरु सुमनराज केसी र मैले वैशाख २० गतेदेखि डान्समार्फत भूकम्पप्रभावितलाई राहत दिन सुरु गरेका हौँ। घर भत्किए पनि मन भत्किन नदिउँ्क, शरीर घाइते भए पनि मन घाइते हुन नदिउँ्क र प्रकृतिले शारीरिक रूपमा अपांग बनाए पनि मानसिक रूपमा आफैँ अपांग नबनौँ भन्नका लागि पनि हिँडियो। हामीले डान्स थेरापीको प्याकेज नै बनाएर हिँडेका हौँ।

मान्छेहरूले कस्तो प्रतिक्रिया दिए?
धेरैले राम्रो प्रतिक्रिया दिए। मान्छेहरूले 'हामी निकै डराइरहेका थियौँ, तपाईं आएपछि डर भाग्यो, आत्मविश्वास पनि बढेको छ' भने। मलाई पनि आफ्नो नृत्यमाथि पहिलोपल्ट गर्व भयो।

डान्स खुट्टा गुमाएपछि सिकेको कि पहिले पनि जान्नुभएको थियो?
हिरोइन बन्ने मेरो सानैदेखिको सपना थियो। तर, आठ वर्षकै उमेरमा एउटा खुट्टा गुमाएँ। छ महिना हस्पिटल बसेँ। जब घरमा ल्याइयो, हिँड्न नसक्ने भएकाले दिनभरि टीभी हेरेर बस्थेँ। नाच्ने रहर छँदै थियो, त्यसैले प्य्राक्टिस गर्न खोज्थेँ। लड्थेँ, फेरि नाच्थेँ। बिस्तारै नाच्न सक्ने भएँ तर कसैलाई देखाइनँ। डर लाग्थ्यो– 'जसको सिङ छैन, उसैको नाम तिखे भन्या जस्तै खुट्टा नभएकाले नाच्नुपर्ने!' भन्छन् कि भन्ने। जानेर पनि लामो समय कसैलाई नेदेखाई डान्स गरेँ। डान्स गरेपछि सारा तनाव दूर भएको महसुस गर्थें।

कसरी बाहिर आयो त तपाईंको नृत्यकला?
मैले डान्स जानेकै नौ वर्षजति भइसकेको थियो। कक्षा ९ मै पढ्दा हो। इटहरीमा नै थिएँ। छरछिमेकसहित पिकनिक गएका थियौँ । सबै नाचेर, गाएर रमाइलो गर्न थाले। त्यही समयमा मलाई पनि नाचाँैनाचाँै लाग्यो। उठेर गीतको तालमा एक खुट्टाले छमछमी नाच्न थालेँ। सबै चकित परे। त्यसपछि भने मलाई नृत्य अघि बढाउन हौसला मिल्यो।

सार्वजनिक कार्यक्रममा पहिलोपल्ट नाचेको याद छ?
नेपाल पारा ओलम्पिक कमिटीले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा गरेको एउटा कार्यक्रममा हो। साह्रै वाहवाही पाएकी थिएँ। दौरासुरुवाल लगाएका ठूलठूला मान्छेहरूको बीचमा बस्न बोलाए। आठ सय रुपैयाँ टिप्स पाएँ। जिन्दगीको पहिलो कमाइ पनि थियो त्यो।

लामो समय नाच्नुहुन्छ। थकाइ लाग्दैन?
नाच्न थालेपछि सब चिज भुल्छु। गीतमात्रै सुनिरहेकी हुन्छु। संगीतको ताल नरोकिएसम्म मेरो खुट्टा रोकिन मान्दैन। म त मेरो एउटा खुट्टा छैन भन्ने नै बिर्सिन्छु। अहिले मेरा नृत्य गुरुसँग जोडी डान्स गर्छु। उहाँ पनि 'एउटा खुट्टा छैन भन्ने फिल गर्नैदिन्नौ' भन्नुहुन्छ।

तपाईंको नृत्यबाट प्रभावित हुने धेरै छन्। नृत्य देखेर तपाईंलाई सहयोग पनि गरे होलान्?
नयाँ वर्षको अवसर पारेर टुँडिखेलमा नाचेकी थिएँ। त्यतिबेलाका इजरायली राजदूत त्यो कार्यक्रममा हुनुहुँदो रहेछ। एउटै खुट्टाले गरेको मेरो डान्सबाट प्रभावित भएर उहाँले मलाई 'नक्कली खुट्टा राख्न इजरायल जान्छौ?' भनेर सोध्नुभयो। खुशीको सीमा नै रहेन। उहाँले नै सबै प्रक्रिया मिलाएर मलाई इजरायल पठाउनुभयो। एक महिनाको मेरो कार्यक्रमसमेत तय गरियो त्यहाँ। एउटै खुट्टाले धर्ती टेकिरहेकी म जिन्दगीमा पहिलोपल्ट आकाशमा उड्ने मौका समेत पाउँदै थिएँ। प्लेनको अनुभव गर्न म केही बेर त प्लेनको सिटमा नबसेर उभिएँ।
सुरुको समयमा तपाईंलाई सबैको अगाडि नाच्न रहर लाग्थ्यो होला। ती कार्यक्रमका आयोजकले तपाईंलाई स्टेजमा उतार्न कत्तिको सहयोग गर्थे?
सुरुमा त मेरो अवस्था देखेर पत्याउँदैनथे। हाँस्दै भन्थे, 'खुट्टा छैन, नाच्ने रे!' पछि मैले पैसा चाहिँदैन, नाच्न दिनुहोस् भनेर स्टेज मागेँ। कतिले त पालो आउँदै छ भन्दाभन्दै कार्यक्रम सकिएको घोषणा गर्थे। अहिले पनि म स्टेज कार्यक्रमका लागि त्यस्तो डिमान्ड गर्दिनँ।

पछिल्लो समय तपाईं असाध्यै व्यस्त हुनुहुन्छ। विदेश र उपत्यकाबाहिरका कार्यक्रममा समेत धेरै जानुहुन्छ है?
विश्वका १६ देश पुगेर नृत्यकला देखाउन पाएँ। उपत्यकाबाहिर पनि गइरहेकी हुन्छु। बाहिरका आयोजकले बोलाउँछन्। तर, भेदभाव अहिले पनि हुन्छ। अरू ठूला कलाकारलाई प्लेनमा बोलाउँछन्, हामी बसबाट जानुपर्छ। कति आयोजकले त मेरो पर्फर्मेन्स हेरेर फर्किंदा प्लेनबाट पठाएका छन्।

अहिले त तपाईंजस्तै खुट्टा गुमाएका धेरैजना नृत्यकलाबाट अघि बढिरहेका छन्। तपाईंलाई निकै खुशी लाग्दो हो?
मैले मेरै सपना पूरा गरेँ। समयक्रममा त्यो अरूका लागि समेत मार्गदर्शक बनिदियो। योभन्दा ठूलो खुशी अरू के हुन सक्छ? एउटै खुट्टाले नाच्ने बहिनीहरू अन्तर्वार्ता दिँदा मेरो नाम लिनुहुन्छ– 'उहाँको प्रेरणाले यो अवस्थामा आइपुगेँ' भन्नुहुन्छ। यसले मलाई झन् अघि बढ्न हौसला मिल्छ। मेरो जिन्दगी एक पाइलाको सुन्दर यात्रा हो।

तपाईंलाई कुन नृत्य सिक्न वा गर्न मन छ?
साल्सा डान्स गर्न निकै रुचि छ। तर, एउटै खुट्टाले त्यो गर्न सकिन्छ कि सकिँदैन, मेसो पाइरहेकी छैन।

फिल्म र टेलिसिरियलमा पनि अभिनय गरिरहनुभएको छ है?
सुरुमा महानायक राजेश हमालकी बहिनीको भूमिकामा सुशील पोखरेल दाइले सिफारिस गरिदिनुभयो। त्यसपछि केही फिल्ममा अभिनय गरेँ। 'मदनबहादुर हरिबहादुर'का लागि हरिवंश आचार्य दाइले नचिनेरै मलाई अफर गर्नुभयो। त्यस्तै 'डा. सुनीता'मा पनि अभिनय गरेँ। म्युजिक भिडियोहरूमा पनि गरिरहेकी छु।

आफ्नै बलबुताले अघि बढिरहनुभएको छ। कहिलेकाहीँ कुनै अभाव खट्किन्छ कि?
गाडीमा अपांग लेखिएको सिटले मलाई नमज्जा महसुस गराउँछ। त्यो झुक्याउनका लागि मात्रै लेखिएको जस्तो लाग्छ। धेरै समय उभिएर यात्रा गर्नुपर्छ। विशेषगरी सडकहरू अपांगमैत्री छैनन्। म त बैसाखी टेकेर मज्जैले हिँड्छु। ह्विलचियर प्रयोग गर्ने र आँखा नदेख्नेहरूलाई त असाध्यै समस्या छ।

भूकम्पपछि धेरैले अंग गुमाएका छन्। कति थलिएका छन्। उनीहरूका लागि तपाईंको सन्देश के हुन्छ?
शारीरिक रूपमा केही गुमायौँ होला तर मानसिक रूपमा हामी सग्ला छौँ। त्यसैले मन सम्हालेर रचनात्मक काममा लाग्नुपर्छ। परिस्थितिले दिएका चोट सहनुको विकल्प हुँदैन। तर, सग्लो रहेको मन भत्किन दिइएन भने सफलता हात लाग्छ। सबैलाई हतोत्साहित नभई आफ्नो अवस्था स्विकारेर अघि बढ्न अनुरोध गर्छु।

तपाईंलाई अब कुन ठाउँमा गएर नृत्य देखाउन मन छ?
भूकम्पमा घाइते भएकाका लागि पुनःस्थापना केन्द्र खुलेपछि त्यहाँ पुगेर डान्स थेरापी गराउँछु। दुर्गम गाउँ पुगेर नृत्य देखाउने रहर छ। किनभने, अझै पनि गाउँमा अपांगता भएको मान्छेलाई समाजसँग घुलमिल हुन दिइँदैन। त्यहाँ गएर क्षमता देखाउन पाए जनचेतना वृद्धि हुन्थ्यो।
-शुक्रबार साप्ताहिकबाट

भिडियो हेर्नुहोस् 


No comments:

Post a Comment