शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, September 26, 2014

आयो दसैं उडे चङ्गा



 -त्रिचन्द्र प्रतीक्षा
असनको एउटा चङ्गा पसलमा निकै भिड थियो । पसले साहूजी ग्राहकलाई लट्टाई, चङ्गा देखाउन र मूल्य भन्नमै व्यस्त थिए । एकजना ग्राहक नरदेवीका दिलिपमान स्थापितले आफ्नो छोराको लागि भनेर चङ्गा र लट्टाई किनेर रु. ३५०/– तिरेर हिंडे । त्यसैभिडमा सामाखुशीका कृष्णभक्त श्रेष्ठ पनि साथीसंग चङ्गा छान्न व्यस्त थियो, कसको लागि भन्ने प्रश्नमा उनले भने– ‘मेरै लागि हो, दशैंको बेला चङ्गा नउडाए दशैं जस्तो लाग्दैन, त्यसैले दशैंलाई दशैं जस्तो पार्नका लागि चङ्गा उडाउने गर्छु ।कति बजेट राख्नु भएको छ भन्ने सोधाईमा – ‘धेरै त हैन ४/५ सय जति मात्र हो, यसपाली त चङ्गाको भाउ पनि निकै महंगो भएको छ, अझ माझा राखेको धागो त अलि महँगो रहेछ ।करिब १ घण्टा पछि दोकानमा भिडको माहौल हल्का भएको मौका छोपी पसले साहूजी अमित जोशीलाई सोधिहालेंनिकै भिड छ, व्यापार त निकै होला हैन ? ‘खै, के व्यापार भन्ने शुरुको ४÷५ दिन चङ्गा प्रेमीहरूको हल्का उपस्थिति भएर अलि बिक्रि हुन्छ, त्यसपछिका दिनहरूमा चङ्गा खासै विक्रि हुन्न ।करिब ३०/३५ वर्षअघिदेखि शुरु गरेको यो चङ्गा व्यापार सिजनको व्यापार भएको हुनाले दशैं अवधिभर जति विक्रि हुन्छ हुन्छ बाँकी पछिल्लो वर्षका लागि थन्क्याएर अन्य व्यापार शुरु गर्ने कुरा बताउनु हुने अमित जोशीले उक्त चङ्गा र धागो सहितको लट्टाई भारतबाट आउने जानकारी दिए । एक सिजनमा करिब ५/६ लाखको व्यापार हुन्छ भने नाफा १ लाखसम्म हुने कुरा बताउनु हुन्छ । ८/१० वर्षअघिको तुलनामा अहिले ४० प्रतिशत पनि आकाशमा चङ्गा नउड्ने कुरा जोशी बताउनु हुन्छ, कारण के त ? उहाँ भन्नुहुन्छ– ‘पहिले मनोरञ्जनको साधन कुनै थिएन, तसर्थ के केटाकेटी, के युवावर्ग सबैले दशैंको लामो बिदामा चङ्गा उडाएर मनोरञ्जन लिने साधन नै चङ्गा थियो भने आजभोलि युवावर्गहरू कम्प्यूटर र अन्य मनोरञ्जनका साधनमा व्यस्त हुने भएको हुनाले चङ्गा मोह कम भएको हो ।
त्रिचन्द्र प्रतीक्षा

इतिहास
स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सुवानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सुवानको वास्तविक नाम लु वानथियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध (सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (६१८९०७) सम्म कायम रह्यो । युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाए ।
नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ, जापानमा यसको प्रचलन चीनबाट आएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्ने आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन । पुख्र्यौली पेसाको रूपमा वि.स. २०२८ सालदेखि बाबुको बिँडो थाम्दै आएका ठँहिटी, नःघल टोलका चङ्गा बिक्रेता प्रतापमान श्रेष्ठ आफ्ना बाजेले पनि चङ्गा व्यवसाय गर्ने गरेको कुरा बताउँछन् ।

धार्मिक रीतिरिवाज
चङ्गा उडाउनुलाई शुभसगुनका रूपमा पनि लिइन्छ युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरूमा यसको उपयोग हुन्छ । हामीकहाँ चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्ती अनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिंदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि रहिआएको छ ।
चीनमा चङ्गा उडाउनुको अर्थ रोगव्याधीबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा लिने गरिएको पाइन्छ भने जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा  चङ्गा उडाउँछन् र छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रुपमा मान्दछन् । भारतमा माघेसंक्रान्तिको अवसरमा धेरै नै चंगा उडाउने गरिन्छ । यस लाई चङ्गा पर्व पनि भनिन्छ । त्यहाँ सूर्यको स्वागत गर्न चङ्गा उडाइएको हो भन्ने मान्यता रहिआएको छ ।
कोरियामा चङ्गाको उपयोग दुर्भाग्य तथा दुष्ट आत्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरू ल्यूनर क्यालेन्डर अनुसार नयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि एउटा ठूलो चङ्गामा अशुभहरू जाओस्भन्ने शब्द लेखेर आकाशमा उडाउँछन् र अकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन् । उनीहरूको विश्वास छत्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजिक आउँछ । श्रीलंका र थाइल्याण्डमा स्वर्ग र पृथ्वीको सम्पर्क हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासअनुरुप चङ्गा उडाइन्छ ।

विज्ञान र आविष्कार
सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम ग¥यो ।
बेलायतका ओलिभर तथा विलवर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।

चङ्गाको किसिम प्रकारहरू
फ्ल्याट काइटसबैभन्दा पुरानो र पुच्छर भएको काइट नै फ्ल्याट काइट हो । यस्ता चङ्गामा हावाको गतिअनुसार पुच्छर राख्नुपर्दछ ।
बोउड काइटबक्राकारको हुने यो चङ्गा, जसले हावासित कोण बनाउँछ । यस्तो कोणलाई डाइहेड्रल एंगलभनिन्छ । यस प्रकारको चङ्गा सन् १८९१ मा पहिलोपटक अमेरिकामा प्रयोगमा आएको थियो ।
बक्स काइटतीनवटा डामेन्सनल एकाइ हुन्छन् । किनाराहरू वर्गाकार, आयातकार र त्रिकोणकार हुने गर्दछन् । यस्ता चङ्गाहरू उडाउन तीव्र हावाको जरुरत पर्दछ । यस्ता बक्स काइटहरू एउटा भन्दा पनि लहरै ५÷१० वटा लहरै उडाउँदा आनन्द आउँछ ।
डेल्टा काइटत्रिकोणाकार चङ्गा हो । यो चङ्गा हल्का हुने भएको हुनाले हावामा पनि उडाउन निकै सजिलो हुन्छ भने निमार्ण गर्न पनि सजिलो हुन्छ ।
स्टोन काइटपाङ्ग्रा जडित कुर्सीमा बसेर उडेको चङ्गाले तानिँदै उडाउने चङ्गा नै स्टोन काइट हो । यो चङ्गा कुर्सीमा बसेर उडाइन्छ, साथै चङ्गाको उडान गतिसँगै गुड्न पनि पाइन्छ, एकप्रकारले यो चङ्गा उडाउन रमाइलो मानिन्छ ।
फ्लेकिसबल काइटयो चङ्गा अरु भन्दा अलि जटिल प्रकारको चङ्गा मानिन्छ । यो चङ्गा पनि सन् १९६३ मा अमेरिकाबाट नै प्रचलनमा आएको पाइन्छ ।

गिनिज बुक वल्र्ड रेकर्डभित्र चङ्गा
सन् १८६८ नोभेम्बर २१ का दिन अमेरिकी नागरिक फिलिप आर. र जय पी. कुञ्ज मिलेर ६,८६० देखि ८,५३० मिटरमाथिसम्म चङ्गा उडाएका थिए । अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्याण्डका ए.ई. सँग मिलेर सन् १८९८ फरबरी २८ मा १२,४७१ फिटमाथि चङ्गा पु¥याएर विश्व कीर्तिमान कायम गरे । विश्व कीर्तिमान राख्ने क्रममा सबैभन्दा ठूलो चङ्गा बढी समयसम्म उडाएर नेदरल्याण्डका हरमन वानडेन ब्रोएपक र जोन पाइटर क्यूएलले सन् १९८४ अगस्त ८ तारिखका दिन कीर्तिमान खडा गरे । उनीहरूले ८५२ वर्गफिट क्षेत्रफलको चङ्गा २२ मिनेटसम्म उडाएका थिए । सन् २००० मा अमेरिकाका रिचर्ड सिनर्जीले पुरानो हेनरी हेल्थको विश्व रेकर्डलाई तोडेको छ । रिचर्ड सिनर्जीले सन् २००० अगष्ट १२ का दिन २७० वर्ग फिटको नाइलनको बनेको आधुनिक चङ्गालाई १३ हजार ६ सय नौ फिट माथि सम्म उडाएर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

यस्तै सबैभन्दा ठूलो चङ्गा १०,००० वर्गफिट क्षेत्रफलको सो चङ्गा सन् २००७ जुन १६ का दिन मलेशियाका जनताले बनाएर उडाएका छन् । यस्तै धेरै टाढासम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्ने व्यक्ति हुन् मोरक्कोका क्रिष्टी जोनास् हुन्, उनले जुलाई १५, २००७ मा मोरक्कको लान्जारोटे देखि टारफायासम्म करिब १४९ माइल अर्थात् २३९ कि.मी. र ७४१ मीटर चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेको छन् ।
हुन त चङ्गा विश्वभरि नै लोकप्रिय छ, तर जापानमा जस्तो चङ्गा मोह शायद अन्त कतै देखिंदैन । सन् १९२६ मा जापानको नारुतो शहरमा संसारकै सबैभन्दा ठूलो चङ्गा बनाइएको थियो । एक सय पैसट्ठी वर्गमिटरको उक्त चङ्गा बनाउन करिब तीन हजार एक सय ताउ कागज जोडेर बनाइएको सो चङ्गाको वजन २५ सय किलोग्राम थियो । त्यो चङ्गाको नाम वानवान डाकोअर्थात् विशाल चङ्गा राखिएको थियो । उक्त चङ्गा नयाँ वर्षका लागि सयौं जापानी युवाहरू मिलेर उडाएका थिए ।
सबैभन्दा धेरै चङ्गा उडाउने व्यक्ति जापानका शादाओ हरादा हुन् । उनले एकै पटक ११ हजार २ सय ८४ चैरासी वटा चङ्गाहरू लस्करै एउटै डोरीमार्फत् उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए । उनले यो चङ्गा सन् १९९० अक्टुबर १८ तारिखका दिन उडाएका थिए । यस रेकर्डलाई जापानले नै तोडेका छन् । सन् १९९८ सेप्टेम्बर २० का दिन जापानको इनामी स्कूलका विद्यार्थीहरूले तोयोहासी सहरमा १५ हजार ५ सय पचासी वटा चङ्गाहरू लस्करै एउटै डोरीमार्फत् उडाएर पुरानो रकर्डलाई तोडेर नयाँ रेकर्ड कायम गरे । 
सबैभन्दा गह्रौं वस्तु उचाल्ने चङ्गा अमेरिकी नागरिक जी. विलियम दिरेलले उडाएको चङ्गालाई मानिन्छ । उनको चङ्गाले सन् १९८४ को सेप्टेम्बर २३ मा ३३०.३१ किलोग्राम वजन उचालेको थियो भने सबैभन्दा लामो समयसम्म चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गर्ने वासिङ्टन अमेरिकास्थित एडमन्ड्स कम्युनिस्टी कलेजको एउटा टोली हो । उक्त टोलीले सन् १९९२ अगस्त २१ देखि २९ सम्म (आठ दिनसम्म) चङ्गा उडाएको थियो । जसको कुल समय एक सय असी घण्टा सत्र मिनेट थियो ।
सबैभन्दा धेरै व्यक्तिहरू मिलेर एकैपल्ट चङ्गा उडाएर रेकर्ड हालै ३१ जुलाई २००९ मा कीर्तिमान कायम गरेका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा बेरुतको लाहिया मेडिटेरेनियन तटमा प्यालेप्टाइनका ११९ स्कूलका हजारौं बालबालिकाहरू जम्मा भएको थियो । सो तटमा ६ हजार जना बालबालिकाहरूले एकैपटक मिलेर चङ्गा उडाएर विश्व कीर्तिमान कायम गरे, त्यो भन्दा पहिले जर्मनीका नौ सय सट्साठी बालबालिकाहरूले बनाएको रेकर्डलाई समेत तोडेको थियो ।
यस्तै सबैभन्दा धेरै व्यक्तिहरूले छुट्टाछुट्टै चङ्गाहरु एकैपल्ट एकै समयमा उडाएर विश्व कीर्तिमान कायम गरेका छन् । गिनिज वल्र्ड रेकर्डका निर्णायक क्रिस्टीयन टफलको उपस्थितिमा सन् २००९ अगस्त १० का दिन जर्मनीको सेन्ट पिटर समुद्री किनारमा करिब सयौं व्यक्तिहरु चङ्गा उडाएर कीर्तिमान कायम गर्न जम्मा भएका थिए । समुद्री तटलाई २० वटा स्थानमा बाँडिएको थियो भने हरेक स्थानमा ७० जना मानिसहरु अटाउन सक्थे । हरेक स्थानमा एकजना स्वयंसेवक पनि थियो । जसले सहभागिहरुले चङ्गा उडाएको छ या छैन भनेर जाँच्ने थियो । यहि क्रममा शुरु नहुँदै चङ्गा उडाउने करिब एक सय भन्दा बढी व्यक्तिहरुलाई अयोग्य ठहरियो भने बाँकी सात सय दश जनालाई सहभागीले एकैपटक चङ्गा उडाएर आधिकारीक रूपमा रेकर्ड राख्न सफल भए ।
सबैभन्दा धेरै व्यक्तिहरू मिलेर एकैपल्ट चङ्गा उडाएर रेकर्ड कीर्तिमान कायम गरेका छन् । ३१ जुलाई २००९ मा संयुक्त राष्ट्र संघको आयोजनामा बेरुतको लाहिया मेडिटेरेनियन तटमा प्यालेप्टाइनका ११९ स्कूलका हजारौं बालबालिकाहरू जम्मा भएको थियो । सो तटमा ६ हजार जना बालबालिकाहरूले एकैपटक मिलेर चङ्गा उडाएर विश्व कीर्तिमान कायम गरे, त्यो भन्दा पहिले जर्मनीका नौ सय सट्साठी बालबालिकाहरूले बनाएको रेकर्डलाई समेत तोडेको थियो ।

स्रोतः Encyclopedia Britannica-2007, गिनिज बुक अफ वल्र्ड रेकर्ड, कादम्बिनी र अन्य पत्रपत्रिकाहरू)

No comments:

Post a Comment