शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, September 21, 2014

थेम्स नदी र टावर ब्रिज

-त्रिचन्द्र प्रतीक्षा
बेलायतमा थेम्स नदीलाई माया गरेर बूढाबा थेम्स भनिन्छ । बेलायतको दक्षिणको बीचतिर पर्ने सुन्दर कट्सवल्ट पहाडहरूबाट बग्ने चारओटा खोलाको संगमपछि थेम्सको उत्पत्ति हुन्छ ।
रोमी सम्राट् जुलियस सिजरले ईसापूर्व ५५ मा आफ्नो विशाल सेना लिएर बेलायतमाथि पहिलो पटक चढाइ गरेका थिए । यसको ९० वर्षपछि क्लाउडियस भन्ने अर्कै रोमी सम्राट्ले बेलायतलाई कब्जा गरे । त्यसपछिका चार शताब्दीभित्र रोमीहरूले यही थेम्सको मद्दत लिएर युरोपका अन्य देशहरूसित व्यापार बढाए र भूमध्यसागर पारिका देशहरूबाट विलासीका सामानहरू भिœयाए । फलतः थेम्सबाट देशको चारैतिर आवतजावत गर्न मिल्ने बाटोघाटोहरू बनाइए र लन्डन महत्वपूर्ण व्यापारिक केन्द्र बन्यो ।

राजा सम्राज्यको पतनपछि, सन् ४१० मा रोमी सेनाहरूले बेलायत छाडे । रोमी साम्राज्य हटेपछि बेलायतमा एंग्लोस्याक्सन राजाहरूले शासन गरे । ११औं शताब्दीमा नर्भेन्डीका राजा विलियम प्रथमले बेलायत कब्जा गरेपछि इतिहासले अर्कै मोड लियो । राजा विलियम प्रथमले लन्डनबाट लगभग ३५ किलोमिटर पश्चिमतिर चुनको विशाल ढिस्कोमाथि पनि दरबार बनाउन लगाए । हाल यो ठाउँ विन्डसर नाउँले चिनिन्छ । त्यसपछि स्याक्सन राजपरिवारको पुरानो दरबारलाई त्यागेर राजा विलियमका परिवार नयाँ विन्डसर दरबारमा आएर बस्न थाले । अहिले विन्डसर दरबार बेलायतकै सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षण बन्न पुगेको छ ।
सन् १२०९ मा थेम्स नदीमा युरोपकै पहिलो ढुंगे पुल निर्माण भयो । बनाइसिध्याउन झन्डै ३० वर्ष लागेको यो पुललाई अतुलनीय मान्नुपर्छ । किनकि, यो पुलमाथि पसल, घरका साथै गिर्जाघरसमेत थियो । त्यति मात्र होइन, आवश्यक परेमा पुलको आधा भागलाई नदीवारि र अर्को आधा भागलाई नदीपारि उठाउन सकिन्थ्यो । पुलको सुरक्षाका लागि भनेर पुलको दक्षिणतिर साउथवार्कमा गढ निर्माण गरिएको थियो ।
१९औं शताब्दीमा थेम्स नदीको दुवै किनाराको होचो जमिनलाई भित्रसम्म काटेर विश्वकै सबैभन्दा ठूलो बन्द नौकाघाट (बन्दरगाह) बनाउन बेलायती संसद् राजी भयो । सन् १८०० दशकको सुरुतिर निर्मित कमर्सियल डक, लन्डन डक र वेस्ट र इस्ट इन्डिया डक सबैभन्दा पहिला निर्माण गर्न सकिएका घाटहरू हुन् । त्यसपछि सन् १८५५ मा रोयल भिक्टोरिया डक र सन् १८८० मा यसको सहायक रोयल अल्बर्ट डक निर्माण गर्न सकियो ।
सन् १८४० मा मार्क आई र इजमबार्ड के बनेल नाउँ गरेका दुई बाबुछोरा इन्जिनियरले संसारकै पहिलो पटक पानीमुनि सुरुङ खनेर थेम्स नदीका दुई किनाराको मिलन गराए । ४ सय ५९ मिटर लामो यो सुरुङ अहिले लन्डन महानगरको भूमिगत रेल कुद्ने मार्गसित जोडिएको छ । लन्डन घुम्न आउने पर्यटकहरू टावर ब्रिज भनेपछि हुरुक्क हुन्छन् ।
सन् १८९४ मा निर्माण भएको यो पुललाई पनि लन्डन ब्रिजलाई जस्तै आधा–आधा भाग गरी उठाउन सकिन्छ । यसरी पुललाई उठाउन मिल्ने भएकाले बडेबडेमानका जहाजहरू टावर ब्रिजको दुई अग्ला टावरबीच ७६ मिटर चौडा खुला बाटो हुँदै आरामसित अगाडि बढ्न सक्छ । यदि, तपाईंलाई लगभग ३ सयओटा खुड्किलो उक्लिन थकाइ लाग्दैन भने टावर ब्रिजको टुप्पोसम्म चढ्न सक्नुहुन्छ ।
सन् १९२१ मा महाराज जर्ज पाँचौंको नाउँ राखेर अन्तिम घाट निर्माण गर्न सिद्धिएपछि लन्डन ‘विश्वकै सबैभन्दा ठूलो अनि धनी बन्दरगाह’ बन्न पुग्यो ।
बेलायत घुम्न आउने पर्यटकहरूका लागि तयार पारिएको एउटा गाइड बुकले थेम्स नदीको बखान गर्दै भनेको छ, ‘बेलायती मौलिकताको परिचय दिने होचा पहाड, रमणीय वन, घाँसे मैदान, पुरानो डिजाइनका घर, चिटिक्क परेका गाउँ अनि बजारमा मन लोभ्याउने दृश्यहरू थेम्सहुँदो प्रशस्त पाइन्छन् । प्रायजसो ठाउँमा थेम्सको दायाँ–बायाँ घोरेटो बाटो मात्र छ । त्यसै कारण मोटरमा हुइँकिन चाहनेहरूले सहर छेउ भएर बग्ने थेम्सको सौन्दर्य चुम्न सक्छन् भने असली पारखीहरूले भने घोरेटो बाटोको पैदल यात्रा गरेर वा आफ्नै सुरमा डुंगा खियाउँदै आँखा थाकुन्जेल नदीको आनन्द लिन सक्छन् ।’

मनोरञ्जनस्थल बन्यो थेम्स नदी

सन् १७४० को दशकमा वेस्टमिनिस्टर पुल बन्नुअघि थेम्स नदीमा लन्डन ब्रिजबाहेक अरू पुल थिएन । सन् १८२० को दशकमा लन्डन ब्रिजलाई हटाएर अर्कै पुल निर्माण गरियो । लन्डन ब्रिज यति ठूलो थियो कि त्यसका १९ ओटा गुम्बजको भार थाम्न बनाइएका जग अनि खम्बाहरूले गर्दा नदीको पानी सलल बग्न पाउँदैन थियो ।
थेम्समा हुने खेल प्रतियोगिताहरूको कुरा गर्दा, हरेक वर्ष वसन्त ऋतुमा अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयबीच हुने नौकादौडको कुरा पनि आउँछ । लगभग २० मिनेट लाग्ने सात किलोमिटर लामो यो दौडमा भाग लिने हरेक डुंगामा आठ प्रतियोगी हुन्छन् । सन् १८२९ मा थेम्सको मास्तिर हेन्ली भन्ने ठाउँमा पहिलो नौकादौड प्रतियोगिता भएको थियो । यस प्रतियोगितालाई युरोपकै सबैभन्दा पुरानो अनि सुविख्यात नौकादौड मानिन्छ । अहिले पनि विभिन्न मुलुकका उत्कृष्ट खेलाडी १ हजार ६ सय मिटर लामो यो दौडमा भाग लिन थेम्स पुग्छन् ।
राष्ट्रिय राजधानी दैनिक
प्रकाशित मिति: २०१४ 8 २३ १८:३३:०५

No comments:

Post a Comment