मोहन बुढाऐर धनगढी, चैत्र २४ - कैलालीको बेलादेवीपुर गाविस ७ घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार झिसमिसे नहुँदासम्म मीठो निद्रामा थिइन् । बिहान ४ बजे अचानक केही व्यक्ति आए र ढोकामा लात बजार्दै भन्न थाले- 'ए बोक्सेनी ढोका खोल् ।’ ढोका खोल्नेबित्तिकै उनीहरूले खाटमा सुतिरहेकी रानालाई लछार्दै बाहिर आँगनमा लगे । त्यसपछि सुरु भयो अमानवीयता पराकाष्ठा । उनीहरूले चर्पीबाट दिसापिसाब ल्याएर उनलाई खुवाए र कुटपिट गरे । त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारे । बुढ्यौलीले आफैं थला पर्न लागिसकेकी वृद्धामाथि छिमेकीले यति बर्बर यातना दिइसकेपछि उज्यालो भयो र वरपरका अरू छिमेकीसमेत आए । तर ती सबै रमिते मात्रै भए । उनीसँगै अर्का वृद्ध करिब ६० वषर्ीय बन्दी रानालाई समेत बोक्साकै आरोपमा कुटपिट गरियो ।
६० वर्षीया वृद्धा राजकुमारी रानालाई छिमेकी ३० वर्षे लालसिंह राना, उनकी श्रीमती २७ वर्षे नीरा राना र भाइ रामसिंह रानाले बोक्सीको आरोपमा दिसापिसाब खुवाउँदै यसरी निर्घात कुटपिट गरेका हुन् । राजकुमारीको मुख, टाउको र शरीरभरि चोट लागेको छ । कुटपिटबाट घाइते वृद्धवृद्धा दुवैलाई सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 'आमालाई घरभित्र खाटमै सुतिराखेको अवस्थामा लर्छादै आँगनमा लगी कपाल खौरेर दिसापिसाब खुवाई निर्घात कुटपिट गरे,' पीडित वृद्धाका छोरा दलबहादुर रानाले भने, 'आमाको बचाउ गर्न खोज्दा मलाई लालसिंह र रामसिंहले समातेर मारिदिने धम्की दिए ।' कुटपिट र यातना दिइसकेपछि छिमेकी आए पनि उनीहरू सबै रमितेमात्र भएको दलबहादुरले बताए । 'झन् गुरुवा (झाँक्री) बोलाएर बोक्सी हो/होइन पत्ता लगाई कालो मोसो दलेर गाउँ घुमाउने कुरा पो गर्न थाले,' उनले भने । अर्का पीडित बन्दी रानाले भने आफूलाई उनीहरूले बोलाएरै कुटपिट गरेको बताए । 'म खेतबारीतिर बिहानै काम गर्न निस्केको थिएँ । घटनाबारे केही थाहा थिएन,' उनले भने, 'भलमन्साले बोलाएको छ भनेर खबर आएपछि घटना भएको स्थानमा पुगेको थिएँ ।' उनले त्यहाँ आफूमाथि एक्कासि पीडक परिवार र अर्की गाउँले महिला रामकुमारी रानाले आक्रमण गरेको बताए । बन्दीको टाउकोमा चोट लागेको छ । 'यो पनि बोक्सा भन्दै मेरो टाउकोमा लाठी हाने,' उनले भने । पीडक परिवारसँग आफ्नो लेनदेन भएकाले त्यही रिसइबी साधेको उनको भनाइ छ । 'त्यो परिवारलाई ६ सय रुपैयाँ दिनु थियो, दिएको थिएन, त्यसैकारण हानेको हुनुपर्छ,' उनले भने । करिब ८/९ बजेतिर गाउँको मेलमिलाप समाजका उत्तम जोशी घटनास्थल पुगेपछि उनले निर्वस्त्र रहेकी वृद्धालाई एउटा कपडा दिएर ओड्न लगाएको दिलबहादुरले बताए । उनले भने, 'तर पीडक पक्षका धेरै जना भएको हूलमा उनी पनि मौन रहे । गाउँको एकमतमा म निरीह भएर कसैसँग गुहार माग्न सक्ने अवस्थामा थिइनँ । कताबाट आफैं खबर पाएर पुलिस आइपुग्यो ।' दिलबहादुरका अनुसार प्रहरी आइपुग्दा रामसिंह भने फरार भइसकेका थिए । २०६८ साल चैत ४ गते यस्तै घटनामा गाउँकै भानुराम रानाले पनि उनकी आमामाथि दुव्र्यवहार गरेका थिए । गाउँकै दबाबका कारण त्यतिबेला आफूहरूले पीडा सहेर बसेको उनले बताए । यसपटक भने उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले पीडक लालसिंह राना, उनकी श्रीमती नीरा रानालाई पक्राउ गरी कारबाही सुरु गरेको जनाएको छ । पीडक नीराले वृद्धालाई कुटपिट र यातना दिएको स्विकारेकी छन् । उनले कपाल काटेर दिसापिसाब खुवाई नांगै गाउँनिकाला गरेपछि बोक्सीबाट छुटकारा पाइन्छ भन्ने ठानेर त्यस्तो गरेको बताइन् । बेलादेवीपुरको ७ घुरसुवा गाउँ धनगढी नगरपालिकासँगै जोडिएको छ । यो गाउँमा आदिवासी राना थारूको बाहुल्य छ ।
साभार: कान्तिपुर दैनिक
प्रकाशित मिति: २०६९ चैत्र २४ ०८:३७
No comments:
Post a Comment