अनुजासित ३ घन्टा बयान
अनुजाले बयानका क्रममा अखबारमा प्रकाशित समाचारलाई हेरेर हतारमा आफूलाई बधाई र धन्यवाद दिने राष्ट्रपतिले पनि नागरिकसँग क्षमायाचना गर्नुपर्ने बताएको प्रहरी स्रोतको भनाइ छ
सुनसरी, १२ वैशाख
९१ लाख रुपैयाँ र हिराको हार फेला पारेर फिर्ता गरेको भन्दै चर्चामा आएकी २२ वर्षिया अनुजा बानियाँसित प्रहरीले बयान लिएको छ । बयानमा उनले आफूले गल्ती गरेको भन्दै कारबाही भोग्न तयार रहेको बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी दीपक रेग्मीको नेतृत्वमा इटहरी आएको सादा पोसाकको प्रहरी टोलीले अनुजाको बयान लिएको हो । एक महिला प्रहरीसहित पाँचजनाको टोलीले उनीसँग तीन घन्टा बयान लिएको थियो । अनुजाले बयानका क्रममा प्रकाशित समाचारलाई हेरेर हतारमा आफूलाई बधाई र धन्यवाद दिने राष्ट्रपतिले पनि नागरिकसँग क्षमायाचना गर्नुपर्ने बताएको प्रहरी स्रोतको भनाइ छ ।
बयान लिन जाँदा प्रहरीले सञ्चारकर्मीलाई बाटोमै रोकेको थियो । प्रहरीले अनुजाका दिदी-भिनाजुमार्फत सञ्चारकर्मीलाई 'आन्तरिक छलफलमा छौँ, अहिले नआई दिनुहोला, भरे साँझ तपाईंहरूलाई डाकौलाँ' भन्न लगाएको थियो । अनुजा बस्ने सो घरको माथिल्लो तल्ला पुग्ने सिँढीको मुख्य गेटमै ताला लगाएर प्रहरीको टोलीले अनुजासँग बयान लिएको थियो ।
तीन घन्टा लामो बयान लिनेक्रममा अनुजाले के-के भनिन् भन्ने प्रहरीले खोलेको छैन । अहिले छानबिनकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने डिएसपी रेग्मीले बताए । अनुजाको पछाडि लाग्नुको अर्थ नरहेको भन्दै उनले टोलीसँग कुराकानीमा अनुजा पूरै गलेको जानकारी दिए ।
अनुजाले किन र के-का लागि यस्तो नाटक रचेकी हुन् भन्नेबारे दुई-चार दिनभित्रै पत्ता लगाउने प्रहरीले जनाएको छ । आवश्यक परे उनीसँग लिइएको बयान सार्वजनिक गरिने नत्र नगरिने पनि प्रहरीको भनाइ छ । अनुजासँग प्रहरीको एक टोलीले बयान लिएको भन्दै सुनसरीका प्रहरी प्रमुख भूपालकुमार भण्डारीले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिले नै गर्न नमिल्ने बताए । नेपाल प्रहरीको टोलीले अनुजाले प्रयोग गरेको मोबाइल कलको विस्तृत विवरण संकलन गरेको छ ।
बयान लिइसकेर प्रहरी टोली धरानतर्फ लागेपछि नाताले अनुजाका सोल्टी पर्ने माधव विष्टले पत्रकार सम्मेलन गरी अनुजाले आफ्ना कुरा राख्ने बताउँदै एक घन्टापछि आइदिन पत्रकारलाई आग्रह गरेका थिए । तर, राति ७ बजेसम्म उनीहरूले पत्रकारलाई डाकेनन् ।
अनुजासँग प्रहरीले बयान लिई फर्किएपछि सोल्टी माधवले फोनमा भने, 'उनले दुनियाँलाई ढाँट्न मिल्दैन । हामीलाई चाहिँ अझै पनि घटना साँचो भएको दाबी गरिरहेकी छन् । उनलाई पहिले पनि र अहिले पनि हाम्रो परिवारको समर्थन छैन । त्यसकारण उनले गल्ती गरेकी हुन् भने कारबाही गर्नै पर्छ ।'
अनुजाको फटाइँका कारण आफूहरूलाई पनि विभिन्न ठाउँबाट धम्की आउन थालेको उनले बताए । 'हाम्रो परिवारमा असुरक्षा बढेको छ । अब अनुजालाई प्रहरीले पक्राउ गरी लगे पनि हामीलाई मतलब छैन,' उनले भने । उनले एक/दुई दिनभित्रमा अनुजा आफ्नो घर भोजपुरतर्फ लाग्ने बताए । प्रहरीले तीन घन्टा बयान लिएपछि पनि अनुजाले आफ्नो मोबाइल स्विचअफ गरेकी छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले अनुजामाथि कुन कानुन प्रयोग गरी कस्तोखालको कारबाही गर्नेबारे सोमबार छलफल गरिएको बताए । उनलाई कुन कानुनअनुसार कारबाही गर्ने भन्ने कुराको टुंगो लगाउन मंगलबार पनि छलफल राखिएको उनले जानकारी दिए । थपलियाले प्रहरी प्रमुख, सरकारी वकिललगायतसँग छलफल गरेको स्रोतले बतायो । अनुजा एक्लैले यति ठूलो नाटक रच्न नसक्ने भन्दै छलफलमा सहभागीले विविध पाटोबाट गहिरिएर अनुसन्धान गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको छ ।
अनुजाबारे अनुन्धान गर्न अपराध अनुसन्धानबाट पनि प्रहरीको एक टोली आएको प्रहरी स्रोतको दाबी छ । तर, कसको नेतृत्वमा आएको भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख भण्डारीले अरू नै घटनाको अनुसन्धान गर्न टोली आएको दाबी गरे । उनले टोलीमा रहेका अधिकारीहरूको नाम खुलाएनन् । टोलीलाई इलाका प्रहरी कार्यालयले विराटनगर एयरपोर्टबाट रिसिभ गरेको बुझिएको छ ।
साभार: नयाँ पत्रिका
No comments:
Post a Comment