शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 31, 2010

नेपाली हुलाक टिकटमा जनआन्दोलन- २ का सहिदहरू


-त्रिचन्द्र 'प्रतीक्षा'
सहिद भनेको के हो ? राष्ट्र र जनताको हित संरक्षण गर्न ज्यानको बाजी लगाएर सङ्घर्ष गर्ने, प्राण आहुति गर्ने वीर पु्रुष वा वीर वीराङ्गनालाई उर्दू भाषामा 'सहिद' भनिन्छ, यी आयातीत शब्दलाई नेपाली शब्दसागर शब्दकोशमा सहिद शब्दलाई 'कुनै पनि शुभ-परिणामको निम्ति लाग्दालाग्दै प्राण गुमाउने व्यक्ति, देश-जाति र जनताको सुखको निम्ति सङ्घर्ष गर्दा मरेको व्यक्ति' भनेर परिभाषित गरिएको छ ।

नेपालमा एकतन्त्री शासनको विरुद्ध सङ्घर्ष गरेर प्राण आहुति गर्ने सहिदहरूको नामावली नेपालको इतिहासमा धेरै पाइन्छ । तापनि शुक्रराज शास्त्री, गङ्गालाल, धर्मभक्त र दशरथचन्दको नाम नेपालीको सहिदहरूको इतिहासमा अग्रपङ्क्तिमा आउने नामहरू हुन् । प्रत्येक वर्ष माघ १६ गतेका दिन सहिद दिवसको रूपमा मनाउँदै आइरहेका छौं ।

नेपालमा गणतन्त्र ल्याउनका लागि पछिल्लोपटक मात्र जनआन्दोलन भाग- २, १९ दिने -२०६२ चैत २४ देखि २०६३ वैशाख ११ सम्म) आन्दोलन सुरू भयो । यस क्रममा हाम्रो मुलुकमा २५ व्यक्तिहरूले शहादत प्राप्त गरे र जुन आफैंमा ठूलो महान् बलिदान हो । यो एउटा यस्तो बलिदान हो, जसले हामीलाई सुन्दर, शान्त र सामुन्नत नेपालका निम्ति केही गर्नुपर्छ भन्ने त्याग भावना जगाउँछ ।

जनताको वास्तविक शासन स्थापना गर्न चलिरहेको लोकतान्त्रिक अभियानको शक्ति र ऊर्जा पनि यही नै हो । नेपाल सरकारले वि.सं. २०५९ असोज १८ पछिको सात पार्टीको संयुक्त जनआन्दोलन-२ मा शहादत प्राप्त गरेका २१ जनालाई २०६३ जेठ २१ गते अमर सहिद घोषणा गरेको थियो भने भदौ १३ गते थप ४ जनालाई सरकारद्वारा सहिद घोषणा गरेको थियो ।

माघ १६ गते सहिद दिवसका दिन जनआन्दोलन भाग- २ का पच्चीस 
सहिदको हृदयदेखि नै सम्झना गर्नुपर्ने दिन हो । देशका लागि जसले प्राण आहुति दिए, राज्यले उनीहरूका भावनाको सम्मान र आदर गर्दै देश र देशवासीको हित गर्ने कार्य गरेमा मात्र उनीहरूप्रति वास्तविक श्रद्धाञ्जलि हुनेछ ।

यसै सन्दर्भमा हुलाक सेवा विभागले सहिदहरूको महान् योगदानलाई सम्मान गर्दै चिरस्मरणीय बनाउन र प्रचारप्रसार गर्न श्रद्धाञ्जलिस्वरूप वि. सं. २०६४ जेठ २१ गतेका दिन संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको छ । यस हुलाक टिकटको डिजाइन श्री मोहन नरसिंह राणाले गर्नु भएको हो भने टिकटको मूल्य रू. २/- राखिएको यस टिकट २५ लाखको सङ्ख्यामा छापिएको थियो । आज हामीले जनआन्दोलन भाग-२ को पच्चीस सहिदहरूको सम्झना गर्दै उहाँहरूको सङ्क्षिप्त व्यक्तिगत परिचयलाई मनन गर्ने कि ?

१. उमेशचन्द्र थापा ः
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शन तितरवितर हुँदा करिब तीन सय मिटर टाढा रहेका ५१ वर्षिय थापालाई सैनिकद्वारा अन्धाधुन्ध चलाइएको गोली लागि थापाको तत्कालै २०६२ माघ २६ गते मृत्यु भएको थियो । जुलुस घोराही तुलसीपुर रोडको चौबाटो पुग्दा प्रहरीले लाठीचार्ज गर्न थालेको थियो ।
२. दर्शनलाल यादव ः
लोकतान्त्रिक आन्दोलनका क्रममा राजविराजमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले दमन गरेपछि मागदौडका क्रममा ५० वषर्ीय यादव लडेका थिए । त्यसपछि उनलाई हृदयाघात भयो र सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारकै क्रममा २०६२ चैत २३ गते राति ९ः३० बजे उनको मृत्यु भयो । लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने यादव मधेसी समुदायकै पहिलो व्यक्ति थिए ।

३. भीमसेन दाहाल ः
लोकतान्त्रिक आन्दोलनका क्रममा शान्तिपूर्ण जुलुसमाथि सेनाले हानेको गोलीले २०६२ चैत २६ गते पोखरामा ३६ वर्षिय दाहालको घटनास्थलमै निधन भएको थियो । जुलुमा सहभागी हुनासाथ उनलाई नेपाल टेलिकमको सुरक्षार्थ सेन्ट्रीमा रहेका सेनाले हानेको गोली दाहालको टाउकोमा लागेको थियो ।
४. तुलसी क्षेत्री ः
जनआन्दोलन हेर्नका लागि घरको बरन्डामा निस्कँदा एक्कासि उनलाई गोली लागेको थियो । चैत २६ गते दिउँसो ३ः ३० बजे गोली लागि मेडिकल शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा २०६२ चैत २८ गते उनको मृत्यु भएको थियो ।
५. शिवहरि कुँवर ः
पोखरामा मारिएका काभ्रेका भीमसेन दाहालको हत्याविरूद्ध बनेपामा प्रदर्शन भएको बेला प्रहरीको गोलीले २२ वर्षिय कुँवरको २०६२ चैत २७ गते शिर मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । छतमा बसेर प्रदर्शन हेरिरहेको अवस्थामा दायाँ काँधमा लागेको गोली बायाँ काँधबाट निस्केको थियो ।
६. विष्णुप्रसाद पाण्डे ः
शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेपछि घाइते साथीको उद्धारमा गएका २९ वर्षिय पाण्डेलाई दायाँ कोखामा र कञ्चटमा गोली लाग्दा उनको २०६२ चैत ३० गते घटनास्थलमै मृत्यु भएको थियो । पाण्डे नवलपरासी र लुम्बिनी अञ्चलकै पहिलो लोकतान्त्रिक सहिद भएका छन् ।
७. हीरालाल गौतम ः
बारा-निजगढ बजारमा निस्केको लोकतान्त्रिक आन्दोलनमा सहभागी गई निरङ्कुशताविरूद्ध शङ्ख फुकिरहेका बेला युनिफाइड कमान्डका सुरक्षाफौजले चलाएको गोलीबाट २०६३ वैशाख १४ गते निधन भयो । २५ वर्षिय गौतमको कम्मरमा गोली लागेको थियो । उहाँ बाराका पहिलो सहिद हुन् ।
८. सेतु वि. क. ः
लोकतन्त्रको आन्दोलनमा सहभागी हुँदै आएकी २५ वर्षिय वि. क. को २०६३ वैशाख ५ गते प्रदर्शनकै क्रममा मृत्यु भएको हो । वि. क. लाई अश्रुग्यासको सेल लागेको थियो । भेरी अस्पतालमा उपचार सम्भव नभएपछि लखनऊ लैजाने क्रममा नानपारा भन्ने ठाउँमा उनको मृत्यु भएको थियो ।
९. राजन गिरी ः
लोकतान्त्रिक आन्दोलनका क्रममा सेनाले चलाएको गोली लागेर २०६३ वैशाख ६ गते झापाको चन्द्रगढीमा गिरीको मृत्यु भएको थियो ।
१०. सुरज विश्वास ः
लोकतन्त्रवादीको शान्तिपूर्ण विरोध प्रदर्शनमा सेनाले चलाएको गोली लागेर २०६३ वैशाख ६ गते विश्वासको झापामा मृत्यु भएको थियो ।
११. यामलाल लामिछाने ः
बर्दियाको गुलरियामा सात दलले आयोजना गरेको आन्दोलनमा पेटमा गोली लागि घाइते भएका ५५ वर्षिय लामिछानेको भारतको लखनऊमा २०६३ वैशाख ८ गते मृत्यु भएको थियो । सात दलले लामिछानेलाई लोकतान्त्रिक आन्दोलनको सहिद घोषणा गरेका हुन् ।
१२. वासुदेव घिमिरे ः
लोकतन्त्रको स्थापनाका निम्ति कलङ्कीमा आयोजना गरिएको शान्तिपूर्ण जनप्रदर्शनमा सुरक्षाफौजले प्रहार गरेको गोली लागि घिमिरेको २०६३ वैशाख ७ गते कलङ्की चोकमा मृत्यु भयो । श्रीमतीले शव मकवानपुर पुर्‍याइदिन अडान राखेपछि सुरक्षाकर्मीले घिमिरेको शव परिवारलाई नदिई अर्थात् परिवारको उपस्थितिबिना नै वैशाख ८ गते जबर्जस्ती दाहसंस्कार गरेको थियो ।
१३. दीपक विश्वकर्मा ः
२१ वर्षिय दीपक विश्वकर्मा सात दलले आयोजना गरेको शान्तिपूर्ण जुलुसमा सहभागी भइरहेको बेला सशस्त्र प्रहरीले चलाएको गोली लागि २०६३ वैशाख ७ गते उपचारका लागि मोडल अस्पताल लग्दालग्दै उनको बाटैमा मृत्यु भएको थियो । सुरक्षाकर्मीले उनको शवलाई जबर्जस्ती मोडलबाट शिक्षण अस्पताल पुर्‍याइएको थियो ।
१४. सगुन ताम्राकार ः
परीक्षा सकेर मामाघर आएका १८ वर्षिय सगुन कलङ्की चोकमा मामाघर जाने क्रममा आन्दोलनमा सहभागी बनेका थिए । त्यसै क्रममा २०६३ वैशाख ७ गते आन्दोलनकै क्रममा छातीमा गोली लागि उनको मृत्यु भयो । उहाँ जनआन्दोलनका लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने कान्छो व्यक्ति हुनुहुन्छ ।
१५. गोविन्दनाथ शर्मा ः
जनआन्दोलनका क्रममा २०६३ वैशाख ८ गते कुश्मा बजारमा गरिएको प्रदर्शनमा गोली लागि घाइते भएका शर्माको वैशाख १२ गते गण्डकी अञ्चल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । कुश्मा बजारस्थित आफ्नै घरको छतमा बसिरहेको अवस्थामा प्रहरीले जुलुसलाई नियन्त्रण गर्ने क्रममा हवाई फायर गर्दा उनलाई गोली लागेको थियो ।
१६. प्रद्युम्न खड्का ः
जनआन्दोलनका क्रममा चक्रपथ घेराउ कार्यक्रममा कलङ्की चोकमा २०६३ वैशाख ७ गते घाइते भएका खड्काको भारतमा उपचारका क्रममा २०६३ वैशाख १६ गते मृत्यु भयो । गोली लागि गम्भीर घाइते भएका खड्काको आन्द्रा र दिसानलीको काम नलाग्ने भई स्वास्थ्यस्थिति गम्भीर भएपछि मोडल अस्पतालबाट थप उचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको थियो ।
१७. मोहम्मद जहाँगिर खान ः
जनआन्दोलनका क्रममा काठमाडौँको त्रिपुरेश्वरमा प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको अन्धाधुन्धा गोली र लाठी प्रहारबाट टाउकोमा गोली लागि घाइते भएका जहाँगिरको २०६३ वैशाख १८ गते उपचारका क्रममा मस्तिष्क सुन्निएपछि मोडल अस्पतालमा मृत्यु भएको थियो । नेपालको आन्दोलनमा शहादत प्राप्त गर्ने पहिलो विदेशी सम्भवतः खान नै हुन् ।
१८. अनिलकुमार लामा ः
जनआन्दोलनका क्रममा वैशाख ४ गते चुच्चेपाटीमा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासबाट ४२ वर्षिय अनिल लामा बेहोस भएका थिए । होस खुलेपछि उनी पुनः आन्दोलनमा सहभागी भएका थिए । एक्कासि मुटु र फोक्सोमा पीडा हुन थालेपछि वैशाख १३ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना भई आईसीयुमा १० दिन कृत्रिम श्वास दिएर राखिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा २०६३ वैशाख २२ गते अस्पतालमै लामाको मृत्यु भयो ।
१९. होरीलाल राना थारू ः
धनगढी नगरपालिका-१०, कैलाली स्थायी घर भएका थारूको जन्म वि.सं. २०३८ सालमा भएको थियो । नगरपालिका निर्वाचन विरोधका क्रममा सुरक्षाकर्मीको गोलीबाट उनको २०६३ माघ २६ गते मृत्यु भएको थियो ।
२०. देवीलाल पौडेल ः
स्याङ्जा स्थायी घर भएका २५ वर्षिय देवीलाल पौडेलको बुटवल नगरपालिका वडा नं. ५ रूपन्देहीमा सुरक्षाकर्मीको गोलीबाट २०५९ चैत २५ गते मुत्यु भएको हो ।
२१. चन्द्र बयलकोटी ः
बयलकोटीको सुरक्षाकर्मीको प्रहारबाट वैशाख ९ गते त्रिपुरेश्वरमा अश्रुग्यासको सेल छातीमा लागेर घाइते भएपछि मोडल अस्पताल लगिएको थियो । बयलकोटीलाई मोडल अस्पतालमा भेन्टिलेटर नभएका कारण काठमाडौँ चाबहिलस्थित मेडिकेयरमा आईसीयुमा राखेर उपचार गरेकै क्रममा २०६३ वैशाख २३ गते बयलकोटीको मृत्यु भएको थियो । जनआन्दोलन- २ का बयलकोटी एक्काइसौँ सहिद भएका थिए ।
२०६३ भदौमा नेपाल सरकारद्वारा घोषित गरिएका थप ४ जना शहादत प्राप्त गर्ने सहिदहरू
२२. लालबहादुर विष्ट ः
वि.सं. २०२४ साउन २४ गते डोटी जिल्लाको महादेवस्थान-३ मा जन्मनुभएका लालबहादुर विष्ट काठमाडौंमा जनआन्दोलनका क्रममा घाइते भएका थिए । घाइते विष्टलाई उपचारको क्रममा अस्पतालमै २०६३ असार ७ गते मृत्यु भएको थियो ।
२३. चक्रराज जोशी ः
डोटी जिल्लाको मान्नकापडी-१ स्थायी घर भएका जोशीको जनआन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २०६१ मङ्सिर २७ गते कैलालीको धनगढी नगरपालिकामा मृत्यु भएको थियो ।
२४. ताहिर अलि अन्सारी ः
रौतहट जिल्लाको प्रतापपुर, पल्टुवा- ६ निवासी अन्सारी जनआन्दोलनका बेला काठमाडौँको पुतलीसडकमा जुलुस प्रदर्शन हुँदा सुरक्षाकर्मीले हानेको अश्रुग्यासको असरले घाइते भई उपचारका क्रममा उनको २०६१ वैशाख ५ गते जितपुर, बारामा मृत्यु भएको थियो ।
२५. प्रा. हरिराज अधिकारी ः
दाङ निवासी, ४८ वर्षिय अधिकारी महेन्द्र बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष थिए । २०६२ चैत २६ गते सात दलले घोषणा गरेको जनआन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पेशागत संस्थाको सञ्जाल पापड तथा प्राध्यापक सङ्घको आयोजनामा निस्केको ऐक्यबद्धता र्‍यालीमा सहभागी हुने क्रममा बिरामी भई उपचार गर्दागर्दै नेपालगन्ज मेडिकल कलेजमा उनको निधन भएको हो ।
युवामन्च २०६५ माघमा प्रकाशित

No comments:

Post a Comment