शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 21, 2024

डा. दामोदर पुडासैनी 'किशोर'का दुई कविता

 

छुर्पी

तिम्रो र मेरो माया
सजिलैसँग टोक्न नमिल्ने
टोकेर त्यसै छोड्न नमिल्ने 

कठिनाइहरूको सुनामी
घाँटीभित्र छिराउँदै
काखे बालकलाई
स्तनपान गराइरहेकी बिधुवा
छोडाउन खोज्दैछिन् बेलका बोक्रा
सोच्दैछिन्
नयाँ पहाड ननाघे
पुगिन्न कतै पनि

उता पारिपट्टी
दाउराझैँ सुकाइरहेछिन् शरीर
एउटी कुमारी आमा

जटासहितको नरिवल बटुलेर
कुरिरहेछ मलाई कोही
आँगनछेउ नयाँ फूल रोपेर
नहिँडे पुगिन्न
पुग्नका लागि म पहाडभित्र
दूलो खनिरहेछु

तिखा दाँतहरूको
साहस छ र पो
मीठो छ
कसैको लागि जिन्दगी

चपाउने आँट नगर्नेहरूकोलागि
जीवन
बहुआकारको ढुँगा रै’छ
केवल नयनपान छ
रसपान छैन कतै

घटना होस् वा दूर्घटना
कुरिरहेछु
म कसैको तिर्सनालाई

परदेशी कुरिरहेकी तरूनी झैँ
कुरिरहेछु कुनै ग्राहकलाई
सट्टामा सुम्पँदैछु सारा जीवन
कसैका इच्छाका सिरानीभित्र

छुर्पी जस्तै हो रहेछ प्रेम र जीवन
चाटेर मात्र नहुने
टोक्न, चपाउन र निल्न सक्नेले मात्र
भेट्नेछ मीठो स्वाद
मीठो स्वाद सकिन नपाउँदै
सकिन्छन् सबै किनारा

कुनैबेला दूधझैँ वास्नादार थिएँ
झुम्मिन्थे सबैजना
कुनैबेला दही थिएँ
हारालुछ गर्थे सबै कोण-कोणबाट
आज जमेकोछु ढुङ्गा बनेर
प्रिय !
तातो बरफ चपाएपछि मात्र
बल्ल भेटेको हुँ तिम्रो स्वाद

म कडा सालिक होइन
मान्छे बन्न खोजिरहेछु
बन्द ओखर होइन
ओखरगुदी बन्न चाहिरहेछु

कोही छ
मलाई मायाले टोकिदिने ?
म तिम्रा तिखा दाँतहरू
कुरिरहेछु ।

*************

लिभिङ्ग डिक्लेरेसन

















सर्टभित्र अँगुलीमालको लकेट भिर्नेहरू
बुद्धमूर्ति निर्माणको नक्कली कार्यसम्पन्न प्रतिवेदन बनाएर
धमाधम अश्वेत बिलको रक़म हसुरिरहेछन्

हिप्पोक्रिटहरू गोप्य मिटिङ्गमा मस्त छन्
नयाँ नयाँ एक्सपेरिमेण्टल कहानीहरू कथेर
दुई सूत्रे काम फत्ते गर्दैछन् जागीरे जीवनावधिमा
पहिलो-आफ्नो ग्रुप सेटिङ्गमा नपर्नेहरूको
ज़रा र टाउकोनै दोहोलो काड्ने, र
दोश्रो-हेरेर, फेरेर र केरेर जसरी होस्
आफ्नो खल्तीको उचाई थप्ने

फिरौती असुलीका डनहरू
कामको बहानामा खटाउँदैछन् ज्यामी माहुरीहरूलाई
देशका कुनाकाप्चाहरूमा
मातहतकाहरूले देशको मुटु कलेजोहरू चिमोटेर ल्याएपछि
थन्क्याँइदैछ आफ्नो मुठ्ठीभित्रको ब्ल्याक सेन्ट्रल फण्डमा

फिरौतीको डोजर आतङ्क छ कुर्सी कुर्सीबाट
सेटिङ्ग 
को सर्कलभन्दा बाहिरकाहरूलाई मुख सिलाईदिन

बेलामा गरिरहन्छन् डेट एक्पायर्ड इथिक्सका परिपत्र
आफू भने तिनै इथिक्सलाई धोती लगाएर
नाचिरहन्छन् नाङ्गो नाच

एँगलिँग खेल असाध्यै प्यारो छ
कार्यालयका सबैभन्दा भव्य कोठाहरूमा
रातारात शेयरका भाउ बढाउनेहरू
र रातारात कटफट गर्दै ग्रुप मर्जर गर्नेहरू
हुरीको पिपलझैँ सल्बलाइरहेछन् शाखा शाखाहरूमा

गिनीपिग र प्रेरिमाउसहरू
आफूलाई अरबी घोड़ा ठानेर
हिनहिनाउँदै टापले कुल्चन खोज्छन्
सक्कली माहुरीका अनुहारहरूमा
ठस्ठसी गन्हाएका गधा चढेर
बेगवान घोड़ा चढेको अभिनयमा छन् चरिकमिले सारथीहरू
भर्चुअल लभको सेन्ट्रल डिपार्टमेंट बनेकाछन् सेवा केन्द्रहरू
तोपचरो निखार्ने बृहत् अभियान सल्बलाइरहेछ
चिडियाखाना मासेर
आखेटोपहारले सिँगारिँदैछ कार्यकक्ष

तिमीहरू
कयौं धानखेत र मकैबारीका सपनाहरू लुटेर
क़ैद गर्दैछौ आफ्नै लालपूर्जाहरूमा
सुदूर गाउँका उज्यालो खोसेर
लुकाउँदैछौ आफ्ना सन्दुस र मदुसहरूमा
देशका सपना उमार्न बाग्डोर सुम्पिएको हो तिमीलाई
तिमी भने सपेराले विन बजाएझैं जनतालाई लठ्ठयाएर
बिषालु दाह्रा र नङ्ग्रा गाडिरहेछौ जनताका पिठ्यौ र पेटहरूमा

चोरीका भर्टिकल्ली र होरिजिन्टल्ली
लिडरसिप हाँक्नेहरूको हातमा
हल्लिरहेछ देशको सुन्दर साँचो

म मृत्युप्रिय मान्छे होइन
लतपतिएका अक्षरले सुसाइड नोट लेखेर
सुकिला परिधानमा सुकिला भाषण ठोक्दै
अँध्यारोमा निर्दोष चराहरू मार्ने

तिमीहरूजस्ता हुँडारहरू
आत्तिरहु मेरो छायाँले पनि

म यतिखेर
डाईँग डिक्लेरेसन होइन
लेख्न खोज्दैछु लिभिङ्ग डिक्लेरेसन

इनर्जेटिक ढँगले बढिरहेछ क्याट्रिना साइक्लोन
यसबेला सखाप पार्नुपर्छ
ढुङ्गामा अबिर दलेको नाटक मञ्चन गर्दै
अर्काको आन्द्रा चुस्न पल्केका पूजारीहरूलाई

नदीहरू उकालो चढिरहेछन्
पहाडहरू उठाउँदैछन् ढुङ्गे बासना
झूठो ईश्वर अग्राशनमा राखेर
सिधा मान्छेका ममिज चपाउनेहरूका लागि
खन्दैछु म एउटा गहिरो खाल्टो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment