शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, October 20, 2015

गुञ्जियो मालसिरी, आयो दसैं


आकास पोखिएर ओभानो छ। माटो भिजेर मलिलो। घाम न्यानो हुन थाल्यो। बेलुकी चिसो बतासले ज्यानमा काँडै उमार्छ।
बगैंचा बसाइरहेका छन्। मौरी चर्न निस्के। खेत पहेँलपुर छ। फलका हाँगा झुकेका छन्।
यो शृंगार ऋतु शरदको आरम्भ हो। यो बेला हो शक्ति पूजाको। पाप हार्छ। असुरहरू नासिन्छन्। शक्तिपिठहरूमा मेला लाग्छ।
र, ऋतु र पर्वको संगममा उत्सव मनाउन गुञ्जिँदैछ मंगल धुन।
मालसिरी धुन।
डम्म हुस्सु लागेको छ। कुखुरा बासेकै छैन।
केही व्यक्ति तम्तयार भएर घरबाट निस्कन्छन्। उनीहरूका हातहातमा गुजराती बाजा छ। त्यसलाई नेवारीमा ‘मुवाली’ भनिन्छ। उनीहरू त्यो बाजा आफ्नो ओठमा जोड्छन्। पाइला मालसिरी धुनसँगै अघि बढ्न थाल्छन्।
उहिले काठमाडौं उपत्यकामा दसैंको एक महिनाअघि अष्टमी तिथिदेखि यसैगरी मालसिरी गुञ्जिन्थ्यो। टोलैपिच्छे बाजा बजाउनेहरू फरक हुन्थे। सबैको आफ्नै क्षेत्र हुन्थ्यो। बजाउँदै हिँड्नेलाई दसैं बेला घर–घरबाट भोज खुवाइन्थ्यो। गच्छेअनुसारका सरजाम भेटी चढाइन्थ्यो।
मालसिरीको प्रभातफेरि हरेक दिन घाम टाउकोमाथि नआइपुग्दासम्म चल्थ्यो। बेलुकी पनि काठमाडौं उपत्यकाका मन्दिरमा आरती गर्दा मालसिरी बजाउन अनिवार्यजस्तै थियो। पशुपति, गुह्येश्वरीजस्ता ठूला पिठमा यो चलन अझै छँदैछ। ज्यापु समुदायकाहरू समूह बनाएर मालसिरी बजाउँदै भद्रकाली, शोभा भगवतीलगायत शक्तिपिठ दर्शन गर्न जान्थे, कोजाग्रत पूर्णिमासम्मै।
९५ वर्षमा हिँड्दै गरेका संस्कृतिविद् सत्यमोहन जोशीले दसैं पर्वसँग जोडिएको मालसिरी परम्परालाई अत्यन्त निकटबाट देखेभोगेका छन्। पाटनमै हुर्केबढेका उनी स्वयं पनि कतिचोटि मुवाली बजाउँदै हिँडे। भजन–कीर्तन गाए। यस्ता परम्परागत उत्सव–जश्नहरूमा सरिक भए।
संस्कृतिका यी अध्येतासँग मालसिरी संवाद गर्न पाटन, मंगलबजारको उनकै निवासमा भेट्दा सुरुमा त अन्कनाए। भने, ‘अब यो धेरै पुरानो कुरा भयो। ०७ सालअघिसम्म थियो मालसिरी। त्यसपछि बिग्रँदै बिग्रँदै गयो। २०–२५ वर्षयता त झन्झन् खिइँदै गएको छ। के कुरा गर्नु!’
उनलाई थाहा छ, अचेल मालसिरी टोलमा घुम्दैन। न मुवाली बजाइन्छ, न कीर्तन गाइन्छ। यो त रेडियो–टेलिभिजनका शास्त्रीय संगीत र मोबाइलका रिङटोनमा सीमित छ।
काठमाडौं उपत्यकाको नेवार परम्परासँग गाँसिएको यो धुनको स्वरूप बिग्रेकोमा थकथकी मान्दै उनी भन्छन्, ‘जोगाउन पनि त मुस्किल भयो! पहिले पो सबै धर्मभीरु थिए, बाजा बजाउँदै हिँड्नेलाई भगवानको डर हुन्थ्यो, अहिले त परम्परा धानेर केही पाइएला भन्ने आस पनि छैन, केही बिग्रेला भन्ने त्रास पनि छैन।’
‘कहीँबाट प्रेरणा र प्रोत्साहन गर्ने चलन नै कहाँ छ र!’
मालसिरी धुन दसैंको धुन होइन, यो ऋतुराग हो।
सत्यमोहनका शब्दमा भन्दा, ‘ऋतुपरक लोकधुन’। दसैं यही ऋतुमा पर्ने हुँदा यो धुनले त्यसको महत्ता झल्काउने मात्र हो।
पूर्वीय सभ्यताअनुसार हरेक दुई महिनाको एउटा ऋतु हुन्छ। ऋतु परिवर्तन भनेको मौसममा आउने फेरबदल मात्र होइन, जीवनपद्धति हो। यही जीवनपद्धतिसँग जोडिएको हुन्छ संस्कृति। गृष्मको तालु फुट्ने गर्मीको परम्परा हिलाम्मे वर्षासँग मिल्दैन। हिलाम्मे वर्षा वसन्तको बहारभन्दा फरक हुन्छ। यी सबै ऋतु झल्काउन मौलिक रूपले नै धुनहरू सिर्जना भएका छन्। त्यसैमध्ये एक हो, मालसिरी।

मालसिरी धुनले समृद्धि, ऐश्वर्य र शक्तिको झलक दिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वगःका अनुसार ‘मालसिरी’ शब्द नै माता र श्रीबाट अपभ्रम्स हुँदै बनेको हो। माता अर्थात् देवी र श्री अर्थात् ऐश्वर्य।
‘शरद ऋतु फलफूलले लटरम्म हुने याम हो। रूखहरू आफ्नै फलको बोझले निहुरिने मौसम हो। यही मौसममा हामी शक्तिकी देवी दुर्गा भवानीको आराधना गर्छौं,’ उनी भन्छन्, ‘मालसिरीले यी दुवै भाव झल्काउँछ। यसले शरदको समृद्धि कहन्छ, देवी भगवतीको आराधना पनि गर्छ।’
सत्यमोहन यसमा सहमत छन्।
‘यो कुनै शास्त्रीय सिर्जना होइन,’ उनी भन्छन्, ‘ऋतु परिवर्तनको संकेत गर्ने मौलिक परम्परा हो। हाम्रो नैसर्गिक उपज हो।’
उनी यसरी अर्थ्याउँछन् :
‘वर्षामा असारे भाका छन्। रोपाइँ गर्दा यही भाकामा गीत गाइन्छ। यो भाका कहाँबाट आयो? वसन्तमा नयाँ पालुवा पलाउँछ, मौसम रंगीन हुन्छ, फागु पर्व आउँछ, हामी वसन्त उत्सव मनाउँछौं। वसन्त धुन बजाउँछौं। यो वसन्त भाका कहाँबाट आयो?’
‘मालसिरी भाका पनि त्यस्तै हो। वर्षाको अन्त्यसँगै शरदको आगमन हुन्छ। हिलोमैलो हराउँछ। खेतीकिसानी गर्नेहरू धान भित्र्याउन थाल्छन्। काठमाडौं उपत्यकामा चाडपर्वको उल्लास छाउँछ। इन्द्रजात्रा आउँछ। कुमारीजात्रा आउँछ। दसैं पनि यही बेला पर्छ। यही उल्लास र उमंगको भाव समेट्न लोकले सिर्जेको मंगल गान नै मालसिरी धुन हो।’
महाअष्टमीभन्दा एक महिना अघिदेखि कोजाग्रत पूर्णिमासम्म मालसिरी बजाएपछि धनासिरी धुन बजाउन थालिने उनी बताउँछन्। धनासिरी धनकी देवी लक्ष्मीको आराधना हो। प्रत्येक ऋतुको निम्ति यस्ता छुट्टाछुट्टै धुन नेपाली परम्परामा प्रचलित रहँदै आएको छ।
शरद ऋतुका लागि मालसिरी र धनासिरी प्रचलित भएजस्तै शिशिरका लागि रागविभाष, हेमन्तका लागि राग–रामकली, वसन्तमा वसन्तराग, गृष्ममा रागादेश र वर्षामा सिनःज्या लोकप्रिय रहेको प्राज्ञ रामकृष्ण दुवाल बताउँछन्।
यी सबै रागमा मौसमअनुसार रस हुन्छ। वसन्त रागमा शृंगार रस छ भने गृष्मको रागादेश वीर रसमा आधारित छ। त्यस्तै, शिशिरको रागविभाष र हेमन्तको राग–रामकली करुण रसमा आधारित रहेको उनी बताउँछन्।
उनको भनाइमा यस्ता राग मौलिक संस्कृतिकै उपज हुन्। ‘पहिले समयको सूचक हुँदैनथ्यो, मान्छेले आकास हेरेर समय गणना गर्नुपर्थ्यो,’ उनी भन्छन्, ‘सर्वसाधारणलाई समय र ऋतुको जनाउ दिन यस्ता धुन सिर्जना गरिएका हुन सक्छन्।’
‘ऋतुको मात्र होइन, हामीसँग प्रत्येक महिना, प्रत्येक दिन र प्रत्येक पलको फरक–फरक धुन छ,’ रामकृष्ण अर्थ्याउँछन्।
ऋतुपिच्छेका यी फरक धुन र भाकालाई ‘सुकर्म’ ब्यान्डले आफ्नो स्थापनाकालदेखि सर्वसाधारणमाझ प्रस्तुत गर्दै आएको छ। ‘ऋतु श्रवण’ नामक कार्यक्रममार्फत् ऋतुराग सुनाउँदै आएको यो ब्यान्डले केही अघिमात्र कान्तिपुर टेम्पल हाउसमा मालसिरी धुनसहित शरद श्रवण गरायो। त्यसअघि थिएटर भिलेजमा वर्षा ऋतु श्रवण कार्यक्रम गरेको थियो।
सुकर्मका संस्थापक सदस्य तथा सितारवादक ध्रुवेशचन्द्र रेग्मीका अनुसार राग संगीत भनेकै ऋतुसँग सम्बन्धित छ। ‘जसरी ऋतुको निश्चित समय हुन्छ, रागको पनि समय हुन्छ,’ उनी भन्छन्, ‘मालसिरी धुनले मनमोहक र शृंगारिक ऋतु शरद आगमनको संकेत गर्छ।’
यो धुनको उत्पत्तिमा भने उनको अलिकति फरक राय छ। उनी मालसिरीलगायत नेपालका परम्परागत भाकाको उद्गम शास्त्रीय संगीतबाटै भएको मान्छन्। शास्त्रीयबाट आएको भाका नै स्थानीय परम्परासँग घुलमिल भएर नयाँ रूपमा विकास भएको उनको मान्यता छ।
‘उद्गम शास्त्रीय संगीत नै हो, त्यसमा स्थानीय स्वाद मिसिएका हुन्,’ ध्रुवेश भन्छन्, ‘काठमाडौं उपत्यकाको नेवार परम्परामा घुलिएपछि यहाँ प्रचलित एकथरी भाका जन्मियो भने पूर्वको किरात परम्परामा घुलिएपछि अर्कोथरी भाका निस्क्यो।’ शास्त्रीयमा स्थानीय रङ मिसिएपछि त्यो परिस्कृत, नवीन र मिठासपूर्ण हुँदै गएको उनको भनाइ छ।
ऋतुराग ‘मालसिरी’ को प्रचलन कहिलेदेखि सुरु भयो त?
ठ्याक्कै भन्न नसके पनि मालसिरीको इतिहास लिच्छिवीकालसम्मै तन्किएको संस्कृतिविद् सत्यमोहन बताउँछन्। उनले यसो भन्नुको आधार मालसिरीसँग जोडिएको गुठी परम्परा हो।
नेवार समुदायमा गुठी परम्परा अत्यन्तै लोकप्रिय छ। मान्छेको जन्मदेखि मृत्युसम्मको विधिविधान गुठीभित्रै रहेर गरिन्छ। जात्रा र महोत्सव आयोजना पनि यही गुठीहरूले गर्दै आएका छन्। गुठीपिच्छे जात्रा र भोजभतेर फरक हुन्छ। मालसिरीको परम्परा धेरै पछिसम्म यही गुठीले नै चलाउँदै आएको हो।
मालसिरीको इतिहासमा जाँदा सबभन्दा पहिला गुठीको इतिहास खोज्नुपर्ने हुन्छ। सत्यमोहनका अनुसार लिच्छिवीकालमै ‘बाजित्र गोष्ठिका’ को चलन रहेको पाइन्छ। ‘गोष्ठिका’ बाटै गुठी बनेको उनी बताउँछन्। ‘मालसिरीजस्ता ऋतुधुनको चलन पनि कम्तीमा सातौं शताब्दी वा त्योभन्दा अघिदेखि चलिआएको हो,’ उनी भन्छन्, ‘मल्लकालमा यसले झनै फल्नेफुल्ने मौका पायो।’
संगीतको इतिहासमै विद्यावारिधि गरेका ध्रुवेशचन्द्र पनि यस्ता ऋतुराग गाउने चलन केही हदसम्म लिच्छिवीकालबाटै चलेको बताउँछन्। उनका अनुसार त्यतिबेलै दरबारमा स्तुति गाउने र शंख बजाउनेहरू राखिएका हुन्थे। मल्लकालमा आएर मन्दिरमा गरिने भजनकीर्तनले सांगीतिक परम्परा अघि बढायो। यसको प्रामाणिक लिखित इतिहास भने खासै पुरानो नभएको उनको भनाइ छ।
‘सन् १९१२ मा मर्दनसिंह थापाले ‘बृहत राग मालसिरी’ प्रकाशित गरेको पाइन्छ, जसमा दलजित शाह, तुलाराम पाँडे, प्रतापसिंह शाह, रणबहादुर शाह, गिर्वाणयुद्ध विक्रम शाहका पालामा दरबारबाट रचना गराइएका मालसिरीका गीत छापिएका छन्,’ उनी भन्छन्, ‘योभन्दा पुरानो रेकर्ड मैले भेटेको छैन।’
प्राज्ञ रामकृष्ण भने यो चलन गोपाल वंशावलीदेखि नै चलिआएको बताउँछन्। उनका अनुसार मान्छेले समूह–समूहमा जम्मा भएर विभिन्नखाले मनोरञ्जन गर्ने चलन सभ्यताको विकासदेखि नै सुरु भएको मान्न सकिन्छ। ‘त्यही क्रममा घनघोर झरी हुँदा त्यसैसँग मिल्दोजुल्दो राग निकाल्ने वा शरदको आगमनमा उल्लासपूर्ण गीत गाउने चलन पहिल्यैदेखि चलिआएको हुनुपर्छ,’ उनी भन्छन्।
यतिमात्र होइन, ‘डाफा खलः’ भनेर मल्लकालदेखि नै गीतसंगीत कार्यक्रम गर्ने चलन सुरु भइसकेको उनी बताउँछन्। यस्ता खलः टोलटोलमा हुन्थे। त्यो खलःले हरेक साँझ टोलका भैरव वा दुर्गाका शक्तिपिठमा भेला भएर भजनकीर्तन गर्थे। त्यहीँ ऋतुराग पनि गाइन्थ्यो।
‘२०३०/३१ सालसम्म यस्ता डाफा खलःहरू काठमाडौं उपत्यकामा सक्रिय थिए,’ रामकृष्ण सम्झन्छन्, ‘यस्ता समूह सक्रिय हुँदासम्म एउटा पुस्ताबाट अर्कोमा ऋतुरागको ज्ञान सर्दै आएको थियो, जबदेखि यो निस्क्रिय हुन थाल्यो, ज्ञान हस्तान्तरणको क्रम रोकियो।’ ऋतु संगीत विस्तारै धमिलिँदै जानुको मुख्य कारण उनी यसैलाई मान्छन्।
यसका सबभन्दा भुक्तमान त सत्यमान आफैं हुन्। आफू बालक हुँदादेखि नै मालसिरी धुनको स्वाद चाख्दै आएका उनी गुठी कमजोर हुन थालेपछि यो परम्परा लोप हुँदै गएको र भाव मासिँदै गएको बताउँछन्।
‘स्थानीय गुठीको प्रत्यक्ष रेखदेखमा हुने परम्परागत कर्म हो यो, यसका लागि गुठी नै बलियो हुनुपर्छ,’ सत्यमोहन भन्छन्, ‘अब गुठीसँग पैसा छैन। भएका जग्गाजमिन सबै बिकिसके। यसैमा लाग्ने मान्छेको कमी छ।’ उतिबेला मुवाली बजाएर मालसिरी धुन सुनाउँदै हिँड्ने खलकले आफ्नो यो काम पूरै छाडिसकेको उनी बताउँछन्।
कालो बादलमा चाँदीको घेरा भनेझैं नयाँ पुस्ताले केही हदसम्म यो परम्परा धान्न नखोजेको होइन। आज पनि काठमाडौं उपत्यकामा रहेका गुठीका युवायुवती विभिन्न परम्परागत बाजा बजाउँदै प्रातकालीन वा सन्ध्याकालीन संगीत श्रवण गराउँदै आफ्नो टोलको फेरो मार्छन्। मालसिरी, सिनःज्यालगायत नेवारी लोकधुनको अभ्यास गर्ने चेतनाको दियो धिपधिपे छ। दियोमा तेल थप्ने जिम्मेवारी भने सरकारकै भएको संस्कृतिविद्हरू बताउँछन्।
‘व्यक्तिविशेषको सक्रियताले मात्र यस्ता साँस्कृतिक र लोकधुन संरक्षण हुन सक्दैन,’ रामकृष्ण भन्छन्, ‘सरकारी स्तरमै अभिलेखीकरण हुनुपर्छ।’
सत्यमोहन पनि सरकारले साँस्कृतिक सम्पदा जोगाउन छुट्टै नीति लिनुपर्ने सुझाव दिन्छन्।
मालसिरी मूलतः बजाइन्छ।
यसमा गाइने गीतहरू पनि छन्। मौलिक गीत कुन हो कसैलाई थाहा छैन। नेवारी वा नेपाली भाषाका संग्रहित गीतमा एकरुपता भने छैन।
कसैले दुर्गा भगवतीको आराधनापूर्ण शब्दलाई भक्तिरसमा गाएका छन् त कसैले शरद ऋतुको शृंगारको वर्णन गरेका छन्। कसैले यी दुवै भाव शब्दमा मिसाएका छन्। नयाँ पुस्ताले आधुनिक बाजागाजाका साथ ‘रक’ शैलीमा मालसिरी बजाएको पनि प्रशस्तै सुनिन्छ, जसको शब्दमा प्रेमभाव हुन्छ।
सत्यमोहनले भनेझैं रूप खिइँदै गए पनि, मौलिकता हराउँदै गए पनि मालसिरी धुन आज पनि उत्तिकै प्रचलित छ। छ किसिमका ऋतुरागमध्ये जनस्तरमा बढी लोकप्रिय मालसिरी नै हो। यो लोकप्रियता भोलिका दिनमा पनि कायम रहनेमा संस्कृतिविद्हरू विश्वस्त छन्।
किनकि, जबसम्म शरदको शृंगार रहन्छ, मालसिरी रहिरहेनछ। र, जबसम्म सृष्टि रहन्छ, शरदको शृंगार रहिरहनेछ।
आकास उसैगरी पोखिएर ओभानो हुने नै छ। घाम न्यानो हुन थाल्ने नै छ। बेलुकी चिसो बतासले ज्यानमा काँडा उमार्ने नै छ। बगैंचा बसाउनेछन्। मौरी चर्न निस्कनेछन्। खेत पहेँलपुर हुनेछ। फलका हाँगा झुक्नेछन्। शक्तिको पूजा हुनेछ। शक्तिपिठहरूमा यसैगरी मेला लागिरहनेछ।
र, ऋतु र पर्वको संगममा उत्सव मनाउन गुञ्जिरहनेछ मंगल धुन।
मालसिरी धुन।
(यो लेख एक वर्षअघि नागरिक दैनिकमा छापिएको थियो। रविन सायमिको चित्र पनि त्यहीँबाट साभार गरिएको हो।)

No comments:

Post a Comment