घर भत्काइदिएपछि फेरि कुटपीटको धम्की
महोत्तरी, चैत ५– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महोत्तरी जिल्लाको बथनाहा गाविसका दशगजा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सयौँ दलित परिवारका घरबार तोडफोड गरेपछि उनीहरू बिचल्लीमा परेका छन् ।
सो गाविसका वडा नं ५, ६, ७ र ८ मा बसोवास गर्दै आएका ३०० मुसहर, खत्बे, बिनलगायत दलित परिवारको १५० घरबारलाई एसएसबीले दशगजा क्षेत्र खाली गर भन्दै भत्काइदिएका हुन् ।
पुर्र्खौपुर्खादेखि दशगजा क्षेत्रमै बसोबास गर्दै आएका ती भूमिहीन दलित परिवारको अर्को ठाउँमा जान जग्गाजमिन नरहेको, घरबार बनाउन साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेको बथनाहा– ६ का श्रीचन सदाले बताए ।
एसएसबीले गत माघ २९ गते आउँदो पाँच दिनभित्र दशगजा क्षेत्र खाली नगरे डोजर चलाइदिने भनेर गएको र बुधबार साँझ अचानक आएर दशगजा क्षेत्रको १५० घरको अधिकांश भाग भत्काएको थियो ।
बाँकी रहेका १५० घर पनि दुई दिनभित्र भत्काउन आदेश दिएको बथनाहा– ५ रामजी खत्बेले बताए । त्यस्तै एसएसबीले दशगजा क्षेत्र आफैँ खाली गरी नगए घरबार तोडफोड गर्नाका साथै कुटपिटसमेत गर्ने धम्कीसमेत दिएको बथनाहा– ७ का सुरजा बिनले बताए ।
गाँस, बास र कपासको समस्या सधैँभरि रहेका तथा गरिबी र विपन्नताले जरो गाडी बसेका बथनाहाका मुसहर, बिन र खत्बेलाई बिनावैकल्पिक व्यवस्था नगरीकनै घरबारविहीन बनाएपछि उनीहरू वास्तवमै ठूला समस्यामा पर्न गएको एमाओवादी नेता सत्येन्द्र यादवले बताए ।
अहिले पीडितहरू
नेपालपट्टिका खेतमा पाल टाँगेर बस्न बाध्य छन् । कतिले नजिकैको गाउँमा समेत शरण लिएर बसेको बथनाहा–
४ का राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता
चन्दन दुबेले बताए ।
साभार: रातोपाटी