शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, July 19, 2011

आलुको रामकहानी

-त्रिचन्द्र प्रतीक्षा
'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा ''अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक''  भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिंदैन 'आलु खाने' भन्ने शब्दले । 'आलु खाइस् !' भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ ।
नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविहरुले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरुप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्षभैसकेको छ ।
तरकारीको राजा नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधिय गुण समेत छ । नेपाली खानामा आलुको महिमा अपरम्पार छ । आलु तामा, आलु परौठा, आलु दम, आलुको अचार, आलु जिरा, आलु चिउरा के मा छैन आलु ? त्यसैले भीमनिधि तिवारीको शब्दमा ''मध्यम वर्गको श्रीमती'' नै बनेको छ आलु, जे गरे पनि हुने अनि जसरी खाए पनि हुने ।
हामीले आलुले चिनिने वैज्ञानिक नाउँ 'सोलोनम 'ट्युवरोसस' हो । आलुको बारेमा अनुसन्धान गर्न पेरुमा अन्तर्राष्िट्रय आलु अनुसन्धान केन्द्रनै स्थापना गरिएको छ । कोलम्बियामा 'आयोम्जा' अनि 'आयो मी' भनिने आलुले वोलिभियामा नाम पाएको छ- 'आयोमारा' । त्यही आलु चिलीमा 'पौनी', स्पेनमा 'पोया' अनि भारतको गुजरातीमा 'बटाटा' को नामले चिनिन्छ ।
संस्कृतको बटाटाबाट 'पटाटा' र त्यसैबाट अंग्रेजी शब्द 'पोटाटो' बनेको हो । हल्यान्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउण्ड नट' ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात् जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ ।
आलु पोषक र बलवर्द्धक कासकन्द हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी उर्जा हुन्छ । आलुमा २० प्रतिशत स्र्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।
१०० ग्राम आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यु र फलाम ०.७ मिल्रि्राम पाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । अफ्रिकादेखि एशिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति २ हजार वर्षन्दा पहिला र्सवप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिकहरु बताउँछन् । त्यसपछि सत्रौं शताब्दिमा स्पेनका नाविकहरुले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अष्ट्रिया, फ्रउन्स, पर्ुतगाल आदि देशमा फैलिन करीब २०० वर्षलागेको आलुलाई पुर्तगालीहरुले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ ।


तर हिन्दूहरुको प्राचीन ग्रन्थ वेदमा एवं आर्युर्वेदिक ग्रन्थ चरक संहितामा पनि आलूक र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिलेनै भइसकेको देखिन्छ ।
वैज्ञानिकहरु आलुलाई भिटामिन 'सी' को महत्वपूर्ण स्रोत मानिन्छ । यसको कमी भएमा 'स्कर्भी' भन्ने रोग लाग्दछ र त्यसले मृत्युसम्म पनि हुन सक्दछ । सन् १८४७ मा आयरल्याण्ड, सन् १९०४ मा नर्वेमा र सन् १९१६ मा बेलायतमा आलुको संकट परेको थियो र त्यतिबेला ती देशहरुमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको थियो ।
स्पेनका अनुसन्धानकर्ताहरुका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरुमा रोगसँग भिड्ने सामर्थ्य बढ्छ । आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ । सबै प्रकारको आलु शितल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ ।
आलुको बारेमा शोधकर्ताहरु शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्हरुका अनुसार छातीको क्यान्सर रोक्नको लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको ब्रिटिश जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन् । पोषणविद्हरुका अनुसन्धान अनुसार मानिसहरुले सेवन गर्ने आलुमा हुने स्र्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ ।
त्यसैले जसले खानामा बढी मात्रामा आलुको सेवन गर्ने गर्छ, तिनीहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ । उनीहरुले गरेको १२ देशहरुको अध्ययन अनुसार अष्ट्रेलियाका लोग्ने मानिस र अमेरिकाका महिलाहरु प्रतिदिन १०० ग्रामभन्दा कम आलुको सेवन गर्ने गर्छन् भने चीनका बासिन्दा सरदर दैनिक ३७० ग्राम आलु भोजनमा सेवन गर्ने गर्छन् । चीनियाँहरुको खानामा स्र्टार्चको मात्रा बढी हुने हुँदा अष्ट्रेलियन तथा अमेरिकीभन्दा ज्यादै कम क्यान्सर रोग भएको कुरा पुष्टि गरेका छन् । उनीहरुको शोधपत्रमा उसिनेको आलुमा स्र्टार्चको मात्र बढि हुने भएको हुनाले उसिनेको आलुलाई सेवन गर्न समेत सुझाएका छन् ।
 आयर्ुर्वेदिक ग्रन्थ भाव प्रकाश निघण्टुका अनुसार आलु कफ र वायु गर्ने, बलप्रद, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत भनेर उल्लेख गरिएको पाइन्छ ।
वैज्ञानिकहरुका अनुसार आलुको छोक्रा हटाएपछि त्यो संगै केही पोषकतत्व समेत बाहिर गइहाल्छ । आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन् । स्तनपान गराउने आमाले आलु सेवन गर्दा दूधमा वृद्धि हुने गरेको तथ्य फेला पारेको छ ।
यस्तै आर्युर्वेदिक प्रयोगका अनुसार आँखाको तल कालो घेरालाई हटाउन आलुलाई पिँघेर आँखाको चारैतिर लगाउँदा यसले कालो घेरा समाप्त हुन्छ । आलुमा पाइने पोटासियम साल्ट अम्लपित्त रोक्ने काम गर्छ । मृगौलाको पत्थरीमा आलुको सेवनले थुप्रै लाभ भएको पाइन्छ । चोट लाग्दा रगत जमेर हुने नीलो दागमा काँचो आलु पिँघेर लगाउनाले फाइदा पुग्छ । यस्तै तीव्र घाम वा लुले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी परेको छाला आदिमा पनि आलुको रस लगाउँदा फाइदा पुग्ने कुरा आर्युर्वेदिक ग्रन्थ चरकमा उल्लेख भएको पाइन्छ । यस्तै ज्वरो आएकोलाई आगोमा पोलेको आलु खुवाउँदा फाइदा गर्छ । छाती पोलेको बेलामा रोगको स्थिति अनुसार काँचो आलुको रस दिनहूँ नियमितहरुले पिउनाले आराम हुन्छ भने दाँतको गिजा सुन्निने र गिजाबाट रगत आएमा तारेको आलु वा बोक्रासमेतको आलुको पातको सुप बनाएर पिउनाले फाइदा हुन्छ । विशेषगरि उच्च रक्तचापको बिरामीलाई साँझ बिहान काँचो आलुको रस २/२ चम्चा नियमित महिना दिनसम्म खुवाउने हो भने निकै लाभ गर्दछ ।
आलुको महिमा नेपालमा मात्र हैन विश्वभरिनै व्याप्त छ । बलौटेदेखि ओसिलो जस्तोसुकै माटोमा पनि फल्ने भएको कारण यसलाई भविष्यको खाद्यान्नको रुपमा चिनाउन थालिएको छ । 'ग्लोबल प्रडक्ट' को रुपमा लिने गरिएको आलुको ठूलो उत्पादकका रुपमा उभ्याएको थियो चीनले ।
वर्षोनी १० करोड दरमा जनसंख्या बढ्ने अनुमान गरिएको विश्वका जनताको पेट भराउन सकिने कुनै उपाय देखिएको छ भने त्यो आलु नै हो । विश्वको ठूलो जनसंख्या कुपोषणमा बाँचिरहेको र विस्तारै खाद्यान्न संकट भित्रिरहेको अवस्थामा आलुलाई भविष्यको भरपर्दो खाद्यान्नको अर्थात् 'ग्लोबल फूड' को रुपमा लिन थालेको छ ।


स्रोतः वर्ल्ड हेल्थ बुलेटिन, चरक संहिता, वाच टावरका बुलेटिन, ब्रिटिश जर्नल अफ हेल्थ र अन्य विभिन्न पत्रपत्रिकाहरु
trichandra.shrestha@gmail.com
 - युवामन्च २०६८ साउनमा प्रकाशित

No comments:

Post a Comment