शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, September 16, 2014

सिक्किमकी संगीत तारा- रेमन्ती राई

काठमाडौ, भाद्र ३०

गएको १८ अगस्टमा सिक्किमका गभर्नर श्रीनिवास पाटिलले रेमन्ती राईको म्युजिक भिडियो 'मन मेरो मन...' लोकार्पण गरिरहँदा सिक्किमको राजधानी गान्तोकमा भनेका थिए, 'यहाँका प्रतिभाहरूले अब राज्यबाहिर गएर आफूलाई प्रस्तुत गर्नुपर्छ।' गभर्नरको यही भनाइलाई सिक्किमका सञ्चारमाध्यमले केन्द्रमा राखेर समाचार लेखे। गभर्नरको आशय सिक्किमबाहिर भारतका अन्य भूभागतिर भन्ने थियो। गतवर्ष मात्रै सिक्किम संगीत सम्मान नाटक स्टेट अवार्ड पाएकी २८ वर्षीया रेमन्ती राई भने यतिबेला काठमाडौं आइपुगेकी छन्, नेपालमा आफूलाई प्रवर्द्धन गर्न।

एक दशकअघि नै हिमालयन आइडलको स्टेट टपर बनेकी रेमन्ती सन् २०११ मा भारतका आठवटा पूर्वोत्तर राज्य समेटेर नर्थ इस्ट टिभीले गरेको रियालिटी शोमा सबैलाई उछिनेर नर्थ इस्ट सुपर स्टार बनेकी थिइन्। यसपटक भने उनी आफ्नो म्युजिक भिडियो 'मन' र नयाँ सोलो एल्बम 'अन एयर' का साथ काठमाडौं आइपुगेकी हुन्। 'उता (भारत) नेपाली समुदाय खासै परिचयको खाँचो छैन,' सोमबार भेटिएकी उनले भनिन्, 'अब यता (नेपाल) मा केही गर्न चाहन्छु।' नेपालमै पनि उनी अपरिचित भने हैनन्। दिनेश डिसीको फिल्म 'मायाज् बार' मा उनको स्वरमा सजिएको गीत 'वारि सिकारी पारि सिकारी...' ले राम्रै चर्चा पाएको थियो भने 'मिसन लभ टु सिक्किम' लगायत आधा दर्जन नेपाली फिल्ममा उनले गाएकी छन्।

सन् २००७ मा लगभग एक वर्ष नेपाल बसेकी र बेलाबेला आउजाउ गरिरहने उनले दुइटा सोलो एल्बम भने सिक्किमबाटै निकालेकी हुन्। 'भारतीय नेपाली युवा पुस्ताले आफ्नो भाषाको गीतलाई निकै नै माया गर्न थालेका छन्,'  उनले पछिल्लोपटक सिक्किम, दार्जिलिङ लगायतका थलोमा नयाँ पुस्ते नेपालीमाझ आफ्नै गीतसंगीतको क्रेज बढ्दै गएको दाबी गर्दै भनिन्, 'यही क्षेत्रमा पेसागत हिसाबले बाँच्न सक्ने स्थिति विकास भई नसकेको भए पनि युवाहरूको क्रेज भने लोभलाग्दो छ।' सिक्किममै पनि रेड र रेडियो मिष्ठ गरी दुई एफएम स्टेसनले नेपाली गीतसंगीतलाई तन्नेरीमाझ पुर्‍याउने र प्रवर्द्धन गर्ने कार्य गरिरहेको बताउँदै उनले आफू यही क्षेत्रमा पेसागत करिअर निर्माण गर्ने ध्याउन्नमा लागि परेको सुनाइन्। 'तारादेवी र अरुणा लामाका गीतहरू खुब मनपर्छ,  दोहोर्‍याई तेहेर्‍याई सुनिरहन्छु,' उनले भनिन्, 'म उहाँहरूको बाटो पहिल्याउने कोसिसमा छु।'

गान्तोककै स्थानीय बासिक्दा रेमन्तीका बुबाले सरकारी सेवाको बाटो पहिल्याएको भए पनि एकमात्र छोरी उनी भने घरकै 'सपोर्ट' संगीतको बाटोतिर लागेको रेमन्तीले बताइन्। 'म सानैदेखि भजन गाउन साईबाबाको मन्दिर जान्थें, गाउँदागाउँदै लत बस्यो,' उनले भनिन्, 'अब त यो नशा बनिसक्यो।'

कुनै समय दार्जिलिङ नेपाली आधुनिक गीत/संगीतको ऊर्वर भूमि थियो, त्यहीँबाट शान्ति ठटाल गान्तोक गएर लामो समय सिक्किम आकाशवाणीमा निर्देशक बनिन्, तिनताक सिक्किममा भिन्नै सांगीतिक माहोल भएको भए पनि अहिले विस्तारै फेरि त्यस्तै तर नयाँ माहोल निर्माण गर्न केही तन्नेरी गायक गायिकाहरू लागिपरेको रेमन्तीले बताइन्। हिन्दी पत्रिका दैनिक जागरणको समेत सहकार्यमा निर्माण र लोकार्पण भएको एक महिना नपुग्दै रेमन्तीको 'मन मेरो मन...' म्युजिक भिडियोले युट्युबमा १६ हजार जनाको भ्युअर्स पाउनुलाई केही संकेत मान्न सकिन्छ।

 सिक्किम र पूर्वोतर भारतका स्टेज शोहरूमा सिक्किमकी ताराका रूपमा उदाएकी उनी इतिहासमा स्नातकोत्तर गरेर खुल्ला विद्यालयमा अहिले दर्शन शास्त्र पढ्दै छिन्।
साभार: कान्तिपुर दैनिक 

मन मेरो मन एल्बमको एक गीत

No comments:

Post a Comment