शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, May 18, 2024

कथा संसार मासिक अङ्क १२ (सम्पादकीय)

 

देशका ती यक्षप्रश्नहरु

समय बित्न धेरै दिन नलाग्ने रहेछ । दिन यसरी नै बितिरहेको छ।यसै बीच के कति हाम्रा इच्छा, चाहना र उद्देश्य पूरा भए वा भएन भन्ने मात्र हो । तैपनि बीच-बीचमा समय र परिस्थितिले ल्याइदिने कतिपय कुराहरु छन् । त्यसैले पनि त्यो पूरा हुन नसकिने अर्थात् समय लाग्ने हुन्छ । कतिपय अवस्थामा त्यसले निर्धारित लक्ष्य समात्न खोज्दाखोज्दै चिप्लिएर जान्छ ।

देशको हालत देखेर सबैजना रमिते बनेका छन् । यसले कहिले निकास पाउने हो? यो यक्षप्रश्नले बेला-बखत दोधारमा पारेको देखिन्छ । यति धेरै यक्षप्रश्नहरु छन् । यसको जवाफ कसैसँग होला जस्तो लाग्दैन । अब यस्ता प्रश्नका अनगिन्ती पहाडै-पहाड उभिएका छन् ।

देशबाट बाहिरिनेको सङ्ख्या बर्सेनि बढ्दो छ । जसले देशको नाजुक स्थितिको चित्रण गरिराखेको छ । यसको मूल जरा कहाँ छ, त्यो पत्ता लगाउन किन चुकिराखेका छौं । यसबारे थाहा हुँदाहुँदै पनि त्यतातिर ध्यान दिएको पाइँदैन । पहिले हाम्रा कमी कमजोरहरु पत्ता लगाएर समाधान गर्न किन सकेनौं । देश कसरी चलिराखेको छ । त्यतातिर सोच्ने पनि अब धेरै छैन होला, नत्र लथालिङ्ग भइराखेको देशको यस्तो विकराल परिस्थिति कसरी टुलुटुलु हेरेर बस्न सकेको हो?

अन्त्यमा, लघुकथा संसारले वर्षदिन पार गरेको छ । यो समस्त पाठकवर्गहरुको भरपुर माया र प्रेरणाले गर्दा हो । यो सफल हुनुमा हामी बीचको अटुट विश्वास एवं कामनाको प्रतिफलका रुपमा लिन सकिन्छ । यसरी आगामी दिनमा पनि तपाईंहरुको हौसला पाउने आशामा छु ।

 अङ्क १२ पढ्न र डाउनलोड गर्नका लागि


Friday, May 17, 2024

भवानी न्यौपाने भावनाका दुई कविता

  


प्रिय जून ! 


उदात्त हृदयपटलमा मजेदार सपनाहरू बटुल्दै जिन्दगीको यान हाँक्दैछु तिम्रो अक्षुण्ण पहराले आश्वस्त जिन्दगी कुदाउँदै शान्तिको सगरमाथा आरोहण गर्दैछु हर निमेषमा पहराको आभास हुने तिम्रा सुकोमल आयतनमा स्वयं भातृत्व भेट्दैछु र त्यो निश्चिन्त आत्मोत्सर्गमा जीवनको लगाम बेर्दैछु

प्रिय जून ! तिम्रो पुण्यशील वात्सल्यतामा लपेटिँदै अनायास यी दिव्य चक्षुबाट निरन्तर आनन्दाश्रु बगाउँदैछु तिम्रो प्रदीप्त कान्तिमा म आफ्नो जीवनको मृदुल धुन रेट्दैछु तिम्रा अगणित दृष्टिले यो मानसपटलमा आकृष्ट बनाएकोछ ऊ पर चियाइरहेका पुच्र्छ्रेताराहरूको बिचमा तिमी निक्कै तेजस्वी छौ सुकोमल छौ त्यो आकाश गङ्गाबाट छरिदिएको तिम्रो किरणले मेरो निश्चल पथलाई ज्योतिर्मय गराएकोछ तिम्रो अखण्ड वात्सल्यतामा जुर्मुराउँदै म यो जिन्दगीको अस्तित्व थप्दैछु

प्रिय जून ! तिम्रो रोशनीमा ऊर्जाशील मेरा पदचापहरू निरन्तर कुदाउँदैछु प्यारो जून ! खण्डहर बनेका मेरा जीवनका सफरहरू अपनत्वको कुण्डमा तैरिदैछन् क्रमशः दरिलो मुटु बोकेर तिम्रै निग्रानीमा कुदाइरहेछु जिन्दगीको मृदुल गाडी तिमी यसैगरी सदैव मेरो पहरेदार बनिदिनू । 

******************

बिनीता छेत्रीका दुई कविता

 


साँझ  

एक साँझ डुब्दै गरेको घामले भन्यो केहिबेर चिसो महसुस होला तर म फेरि आउनेछु पृथ्वीलाई चुम्न त्यतिञ्जेल क्षितिजको सुन्दरतालाई हेरेर रमाउनु ।

एक साँझ उदाउँदै गरेको जूनले भन्यो जीवनमा जति नै अँध्यारो छावोस् आफ्नो समयमा म पक्कै आउनेछु त्यतिन्जेल हिम्मत कहिल्यै नहार्नु । एक साँझ माथि माथि उडिरहेका बादलहरू भन्छन् यतिबेला खडेरी लागिरहेको होला मनमा एक दिन झरी बनेर म बर्सन्छु त्यतिञ्जेल धरती बनेर पर्खी रहनु । एक साँझ जिन्दगीले कानमा खुसुक्क भन्यो तिमी जिउँदो छौ अब बाँच्न सिक्नु । त्यसैले होला...... हिजोआज हरेक साँझ प्रिय लाग्न थालेको छ ।


**********

Friday, May 10, 2024

रोमा छेत्रीका तीन कविता

 


 

   1                       

खै ! के लेख्नु ?  

खै ! के लेख्नु ? के सोंच्नु ? एक्लै कतै बस्न लाग्दा, मन मेरो छट्पटिन्छ त्यसै त्यसै, केही लेख्ने प्रयासहरूमा शब्दहरू अनायसै हराउन थाल्छन्, जसरी बिहानीको रक्तिम किरणले चिसो चिसो शीतको थोपालाई सुकाए जस्तो ।

प्रकृतिको मनोहर दृश्य हेर्छु, मन त्यसै रमाएर आउँछ भित्र-भित्रै आनन्दले पराकाष्ठा नाँघ्छ ।

यहाँ यस्तै हुन्छ बेला-कुबेला मन आफै हाँसिदिन्छ, रोइदिन्छ ।

आज कुन्नि किन मलाई मेरो मनको कविता लेख्न मन लाग्यो तिम्रो हाम्रो जीवनको रमाइलो कविता लेख्न मन लाग्यो । 

 

   2                       

तिमी आउनू

प्रिये ! जब जात-पात, ठूलो-सानोमाझ भेदभाव समाप्त हुनेछ, जब धर्म-अधर्म, पाप-पुण्य मेटिएर प्रत्येक आत्मा एक हुनेछ, तब मात्रै तिमी भेट्न आऊ मलाई प्रिये त्यही जुनीमा । जब धनी-गरिबमाझको पर्खाल भत्किनेछ, तब मात्रै तिमी भेट्नू मलाई त्यही गोरेटोमा जसरी... हामी कहिले भेट्ने गर्थ्यौं ।

म एकपल्ट फेरि तिम्रो त्यहीँनेर प्रतीक्षा गर्नेछु त्यसरी नै जसरी अहिलेसम्म गरिरहेछु त्यतिखेर आउनू तिमी प्रिये त्यही माया बोकेर त्यही सुवास लिएर आफूसित ।

 

   3                       

मेरी प्यारी आमा

आमा ! ओ मेरी प्यारी आमा !! न्यानो माया होइन मलाई तिम्रो साथ चाहियो आमा । नियम संस्कारका पाउजु नबाँध मेरा पाउमा म त उड़्नलाई पखेटा चाल्दैछु नसुनाऊ जाती, धर्म-कर्मका कुराहरू नसुनाऊ सीता र अहिल्याका कथाहरू म त क्रान्तिको उद्घोषणा गर्न चाहन्छु । टुक्रेर, फुटेर, हराएर इतिहास बन्न चाहन्न म म त ज्वाला बन्न चाहन्छु त्यसैले, आमा ! ओ मेरी प्यारी आमा !! न्यानो माया होइन मलाई तिम्रो साथ चाहियो आमा मात्रै तिम्रो साथ । 

-बैराती शाल जोत, न्यू रङ्गिया (दार्जिलिङ, भारत) 

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com