शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 3, 2026

महेन्द्र नेउपानेका तीन लघुकथा

पुस्तान्तरण


एउटा बूढो रुखलाई एकटक लगाएर हेरिरहेछु । त्यस्तो बन्जर र सुखा ठाँउमा यो बृक्षले कसरी यत्रो आकार लियो? मेरो मनमा प्रश्नहरु तेर्सिन्छन। सायद यसले ठुलै सङ्घर्ष गरेको हुनु पर्छ । हेर्छु, मुख्य काण्ड क्षत बिक्षत भएर मक्किन थालेको छ । ओहो ! यो त निकै पुरानो हुनु पर्छ। तर अझै यो ठिङ्ग उभिएको छ। ससाना बिरुवाहरू सायद यसैका बीचबाट उम्रेका होलान्, वरपर एक तमासले हुर्किदै गरेका छन। ती बिरुवाहरू भन्दैछन, "बा अब तिमी जाउ, हामी आयौ ।" बृद्ध वृक्ष सोध्दै छ, "अब तिमीहरूलाई मेरो संरक्षकत्व चाहिँदैन? तिमीहरू आफै उभिन सक्छौ?" सबै बिरुवाहरू एकै स्वरमा भन्छन, "सक्छौ ।" "कति कठिनले मैले यो उराठ भूमीमा आफूलाई जीवित राखेँ, अहिले तिमीहरू बस्न सक्ने बनाएँ, तिमीहरूलाई जन्माएँ, हुर्काएँ। कति सजिलै तिमीहरू मलाई लखेटन चाहान्छौ।" बृद्ध वृक्ष संयभित हुँदै भन्छ, "मेरो शरीर जिर्ण भयो म मान्छु, तर अझै म तिमीहरूलाई यहाँ लहलहाउँदै गरेको अनि तिमीहरू मेरै छहारीमा बसेको हेर्न चाहान्छु ।"
ती विरुवाहरू भन्दैछन, "यो प्राकृत सत्य हो कि समय अन्तरसँगै सबैले पुस्तान्तरण गर्नु पर्छ। अब तिमीले ढल्नु पर्छ र आउने सयौ बिरुवाहरूलाई खेल्न दिनु पर्छ । जब यहाँ थुप्रै बिरुवाहरू हुर्कनेछन, जङ्गल हुने छ। अनि मात्र सायद इतिहासले तिमीलाई सम्झने छ।"


माग


आहा ! आज त अर्जुनको कुटी जानुपर्ने दिन हो ।" उनको मन त्यसै त्यसै पुलकित भयो । उनी श्रृङ्गार कक्षमा पसिन् । सोह्र श्रृङ्गारको तानाबाना बुन्दै थिइन् , अचानक उनलाई अदृश्य वस्तुको आगमनको आभास भयो। उनी सतर्क भइन्। फेर्न लागेको कपडा हातमै समातेर एकाग्र भएर त्यो अदृश्य वस्तुको चालतिर ध्यान दिइन् । निकै पल बितिसक्दा पनि उनले तथ्य पत्ता लगाउन सकिनन्।
हत्तपत्त आफ्नो श्रृंगार कक्षबाट निस्केर आफ्नो गन्तव्यतिर बढिन् । अर्जुनलाई भेटिनासाथ उनको बाहुपासमा परिन् । उनलाई फेरि त्यस्तै आभास भयो, कसैले उनको पिछा गरिरहेको छ ? उनलाई भय पनि जाग्यो, लाज पनि लाग्यो । उनलाई त्यो अवस्थामा पाएपछि अर्जुनले बाहुपास खुकुलो पारे र सोधे, "महारानी द्रौपदी , किन भयभीत ?" श्रृंगार कक्षदेखि नै आफूलाई कसैले पिछा गरेको भान भएको कुरा उनले सुनाइन् । अर्जुनले पहिले त विश्वास गरेनन् र भने, "तिम्रो मनको शंका मात्रै हो।"
उनले विश्वस्त बनाउने प्रयास गरिन् । अर्जुन कुटीबाट बाहिर निस्के र चारैतिर हेरे। कुटीको मुलद्वारमा एउटा अजीवको वस्तु फेला पारे। निकै ओल्टाइ पल्टाइ हेरे। केही भेउ नपाएपछि उनले द्रौपदीलाई सोधे, "यो के हो? तिमीले यसलाई यहाँ राखेकी हौ?" उनले अनभिज्ञता जाहेर गरिन् । अजुर्नले मनको भ्रम होला भन्ने ठानेर ढोका बन्द गर्न लागे । त्यसैबेला एउटा छाँया ढोकालाई स्वाट्ट नाघेर पर गयो। अर्जुनका तीक्ष्ण नजरबाट बच्न सकेन। फुर्तिला अर्जुनले च्याप्प समाते । "तँ को होस्?" अर्जुनले उसलाई सोधे । "म एक युट्युवर हुँ ।" त्यो मान्छेले नढाँटी जवाफ दियो। "यो यन्त्र के हो?" अर्जुनले अघि फेला पारेको अजीव वस्तु देखाएर सोधे। "यो फोटो कैद गर्ने स्वचालित केमेरा हो?" "किन यहाँ राखिस्?" अर्जुन निकै क्रोधित देखिन्थे। "महारानी द्रौपदीको पाँच पतिसँग रहेर पनि कसरी कुमारी रहन्छिन् ? भन्ने रहस्य पत्ता लगाउन् ।" उसले रहस्योदघाटन गर्यो। "तँलाई यो किन पत्ता लगाउनु पर्यो?" अर्जुन अझ कड्किए।
"आजका युवतीहरुको माग हो ।" उसले बतायो ।


किरण

"ए उमा कहाँ छेस्?"  यसरी चिच्याउँदै चन्दा उमाको बैठक कोठामै पुगीन् । "आबुई चन्दा ! कहाँबाट आइपुगिस्?" सोफाबाट जुरुक्क उठेर उमाले अँगालो हाल्दै सोधिन् । "कहाँबाट नि? अमेरिकाबाट।"  चन्दाले अगालो खुकुलो पार्दै भनिन्, "तँलाई भेट्न नपाएर छटपटी भएको थियो। सोध्दै सोध्दै आइपुगेँ।" चन्दा र उमा केटाकेटीका असाध्ये मिल्ने साथी थिए । चन्दा विवाहपछि पतिसँग अमेरिका गएकि थिइन्। उमा भने घरजम गरेर यतै बसेकी थिइन्। आज झण्डै तीस बर्षपछि उनीहरूको भेट भएको थियो। बैठक कोठाको एक छेउमा बसेर पढिरहेकी उमाकी छोरी रश्मी पल्लो कोठामा गइन्, पानीको गिलास लिएर आइन र चन्दालाई ढोग्दै पानी दिइन् । "मेरी छोरी, रश्मी ।"  उमाले परिचय गराइन् । रश्मी पुन: आफ्नो पढाइ तर्फ लागिन् । "बिहे गर्दिस्?" "अहँ छैन्।" "कति पढि?" चन्दाले सोधिन् । "माष्टर्स गरी।" उमाले संक्षिप्त जवाफ दिइन्। "उहिले हाम्रो पालामा पढन कति मुस्किल थियो । अहिलेका केटाकेटीलाई त सजिलो छ। अब पढाइ सकेर विदेश जाने होला नि? कि उतै केटो खोजिदिउँ?"  चन्दाले सोधिन् ।
"किन जानू बिदेश?" उमाले बोल्नु अगाडि रश्मीले सोधिन् ।
"पढेलेखेका मान्छेलाई बस्न लायक छैन, भन्छन् ।" चन्दाले आफूलाई लागेको कुरा गरिन्। "अब हाम्रो देश संसारकै सबैभन्दा बस्न लायक मुलुक हुँदैछ। पढेका, बुझेका र इमान्दार युवाले काँधमा देश लिइसके।"  रश्मीले भनिन्।
"कुरा चैँ आशावादी गर्यौ, काम पनि केही गर्छ्यौ कि?" चन्दाले प्रश्न गरिन् ।
रश्मीले जवाफ दिनु अघि आमा उमाले बताई दिइन्, "अहिले उनी संघिय संसदको सांसद हुन्।"

-लोकन्थली, भक्तपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment