Friday, May 3, 2024

सुमन धमलाका दश मुक्तक

 


 
  

   1                      

जीवन जन्ममरणको चक्र हो भनी कसले बनायो यो सृष्टि अनि मोहरुपी हाल बन्धनी कसले बनायो म अचेल यही कुरालाई नै बारम्बार सोचिरहन्छु मित्र आखिर यो पैसा भन्ने चिज पनि कसले बनायो।

 

   2                      
अब कोही कसैको पनि मन मुटुमा सर्नु छैन मलाई स्वार्थी दुनियाँमा कसैको पनि भर पर्नु छैन मलाई असल साथी बनेर अघि बढुम् भन्छौ भने ठिक छ यो माया, प्रेममा परेर जीवन बर्बाद गर्नु छैन मलाई । 

 

   3                      
कतिको बाध्यता अनि कतिको रहर रहेछ आमा अब हरेश खाए पछि प्रयोग गर्ने जहर रहेछ आमा हामी गरिब दुखीको लागि होइन रहेछ आज बुझ्दै छु, पैसा हुनेहरुको लागि मात्र काठमाडौँ सहर रहेछ आमा ।

 

   4                      
अनेक भ्रामिक कुरा गर्दै घोच्नु के अनौठो भो र सबै गल्ती जति मेरै मनमा कोच्नु के अनौठो भो र मलाई मेरा आफ्ना आफन्तले त राम्रो सोच्दैनन् हिजो भेटेकी तिमीले नराम्रो सोच्नु के अनौठो भो र ।

 

   5                      
देश बनाउने बहानामा मान्छे हसाउँदै उखान आएको छ भ्रष्टाचारीलाई कुनै कानुन लाग्दैन भन्ने बयान आएको छ तपाईं न्याय पाइन्छ अदालत छ भनेर के फुर्ती लाउनु हुन्छ नेपालमा ठूलावड़ालाई कानुन नलाग्ने संविधान आएको छ । 

 

   6                      
प्रगतिको पाइलाहरू अघि बढेर के गर्छौं? हर सफलताले सिंढी मात्रै चढेर के गर्छौं? मनमा अझै घमण्ड, अहङ्कार पाल्छौं भने जाबो तिमीले डिग्रीसम्म पढेर के गर्छौं ? 

 

   7                      
अजम्बरी भनिएका नाता टुटेको मैले देखेको छु सिसाजस्तै गरी विश्वास फुटेको मैले देखेको छु प्रेम गर्दैमा तनमन सबै सुम्पिन किन तयार हुन्छौं? विवाह भएपछि पनि सम्बन्ध छुटेको मैले देखेको छु । 

 

   8                      
सधैं हाम्रो घरमा सुख, शान्ति, समृद्धि छरिदेऊ समस्या परेको बेलामा तिमी दाहिने परिदेऊ भगवान् म सफल हुन केही समय लाग्ने भयो त्यो बेलासम्म मेरा बाआमाको रक्षा गरिदेऊ । 

 

   9                      
सधैँभरि अरूको पाउ छुनुपर्ने कस्तो देश मेरो आँसुले आफ्ना आँखा धुनुपर्ने कस्तो देश मेरो सम्झिदा पनि बहुत दुःख लागेर आउँछ मलाई विदेशको भिसा नआउँदा रुनुपर्ने कस्तो देश मेरो । 

 

   10                      
छोरी जन्माउने बिचरा आमाहरू सधैँ रुन नपरोस् चर्चराइरहेका आफ्ना घाउ आफैले छुन नपरोस् बलात्कारीलाई फाँसी दिने कानुन बनाऊ सरकार ताकि तिम्रै छोरी बलात्कारको सिकार हुन नपरोस् । 

  -सिद्धिचरण नगरपालिका, ओखलढुङ्गा

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com
 

No comments:

Post a Comment