शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, December 11, 2019

यःमरि पूर्णिमा र ज्यापु दिवस

- त्रिचन्द्र प्रतीक्षा

‘‘त्यःछिं त्यः बकछिं त्यः
लातापाता कुलिंचां जुसिं त्यः
यःमरि माकु उकी दुने चाकु
थबले यागु यःमरि छग तियः
निगः ब्यूसा काय् बुई
छग ब्यूसा म्ह्याय् बुई
यःमरि माकु उकी दुने चाकु
ब्यूम्ह ल्यासे मब्यूम्ह बुरिऽकुति’’


धान्य पूर्णिमालाई नेवारहरुले यःमरि पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सो दिन बेलुकीपख नेवार समुदायले देउसी भैलोजस्तै उल्लेखित गीत गाएर यःमरि माग्ने प्रचलन रहिआएको छ । यःमरि माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । तर हिजोआज यो महत्वपूर्ण पक्ष लोपोन्मुख अवस्थामा पुगिसकेको छ भन्दा पनि हुन्छ ।

संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार मल्लकालदेखि नै यःमरि माग्ने प्रचलन चल्दै आइरहेको हो । उहाँले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकोले यःमरि माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने उल्लेख गर्नुभयो । यःमरि माग्ने गीतमा उल्लेखित शब्द केलाउँदा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत दिने भन्दै उहाँले पछिल्लो समयमा प्रचारप्रसारको अभावमा यःमरि माग्ने प्रचलन हराउँदै गएको बताउनुभयो ।
त्रिचन्द्र प्रतीक्षा


यःमरि के हो?
नेवारी भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरि’ भनेको रोटी वा मिठाई हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम यःमरि राखिएको संस्कृतिविद्हरु बताउँछन् । यःमरिलाई नै पञ्च तत्वको रुपमा पनि स्वीकार गरिन्छ । अग्नि, जल, वायु, आकाश र धरतीलाई पञ्च तत्व भनिन्छ । यःमरिभित्र धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिएको पाइन्छ । यःमरि पुन्हि वा यःमरि पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत ज्यापु समुदायले मनाउने गर्दछन् ।

यःमरिको प्रादुर्भाव
यःमरिको प्रादुर्भाव कहिले र कसरी भयो भनेर बिरलै मात्र सोच्छौँ, करीब दुई हजार वर्ष अगाडि जमीन खन्न मानिसहरु हिच्किचाउँथ्यो । कारण भूमिदेवता रिसाउँछ र भूमि खन्ने मान्छे मर्न सक्थ्यो भन्ने आशंका थियो यस्तो दुविधा परिरहेको बेला पाटनको तःबहालस्थित मत्स्येन्द्रनाथ बहालको पूर्व ढोका बस्ने बलबल (बलभद्र) नामक मानिसले थसीखेलमा खेती शुभारम्भ गरेर अन्न फलाएर लोकलाई कल्याण गरेको दिनको स्मरणमा उनको शिलामूर्ति बनाइयो र त्यसै बेलादेखि पूजा प्रारम्भ गरियो । यःमरि राखेर ठूलो पूजा गर्ने भएको हुनाले यो दिन यहाँ मेला नै लाग्दछ । यस घटनाको चर्चा नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा यसरी उल्लेख गरिएको छ–
‘‘.......राजा (अंशुवर्मा) का पालामा दैवका अंसले बलभद्र भन्याका जन्मन आया र राजासँग बक्साई आफैले खेत कमाई दुनियादारलाई पनि यै हिसाबबाट सिकाई खेत कमाउनु, बिउ राख्नु, धान रोप्नु, धान काट्नु, धान सुकाउनु, धान कुट्नु, धानको चिउरा बनाउनु इत्यादि सबै सिकाई मतिलि नगरदेखि उत्तरपट्टि आफ्ना नाउँले शिलाका मूर्ति बनाई बलभद्र भनी नाउँ राखी मार्ग–शुक्लपूर्णिमाका दिनमा सोही मूर्तिलाई पूजा गरी चामलका पीठोको यःमह्रि भन्या रोटी बनाई चढाउनु भन्या रीत चलाइदिया । यहाँदेखि नेपालमा दुनियाँदारको पनि मार्ग–शुक्लपूर्णिमाका दिनमा योमघि भन्या रोटी बनाई पूजा गरी धानको कुथिमा राखी चार दिनपछि झिकन्या रीत चलाया ।......’’

यःमरि चढाएर बलबलको मूर्तिलाई पूजा गर्ने चलन सिल्भाँ लेभीले आफ्नो पुस्तक नेपालको इतिहास (प्रथम भाग) मा लिच्छवि राजा वृषमदेव (लगभग वि.सं. ४४७–४७२)को पालामा सर्वप्रथम प्रारम्भ भएको भनेर लेखेका छन् । यस दिन विभिन्न मठ–मन्दिरहरुमा मेला पनि लाग्ने गर्छ । त्यसमध्ये बनेपाको धनेश्वर महादेव मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यो दिन धनेश्वर महादेवको शीरमा नयाँ चामल राखेर पूजा गरी अन्न, चामल दान दिएमा धनधान्यपूर्ण हुन्छ भन्ने भनाइ छ । यस्तै, यःमरि पुन्ह्रिमा ठेचोमा ब्रम्हायणी, महालक्ष्मी र बालकुमारी देव–देवीहरुको जात्रा हुन्छ । त्यस्तै बौद्धमार्गीहरु पनि स्वयम्भू, बौद्ध लगायतका विभिन्न चैत्य वा विहारमा गएर बुद्धको प्रार्थना गर्ने चलन छ ।


किंवदन्ती
यःमरि पूर्णिमाका दिन बौद्धमार्गीहरुले किन बुद्धको प्रार्थना र मेला लाग्नुको एउटा किंवदन्ती पाइन्छ, स्वयम्भू महाचैत्यको निर्माण अगाडि एउटा नमुना चैत्य बनाएको रहेछ । त्यो नमुना यःमरिको आकारबाट लिएको रहेछ । स्वयम्भू महाचैत्यको मुनि गुम्बज आकार पारी माथि टुप्पो निस्केकोलाई १३ वटा भुवन सहितको चक्रवाल भनिन्छ । यो चैत्यको भित्र पञ्चबुद्ध विराजमान छन् । मचा जंक्व (पास्नी) को समयमा लगाइने यःमरिभित्र राखिने पाँच वटा अक्षता पञ्च बुद्धको प्रतीक मानिन्छ । स्वयम्भू महाचैत्यको उक्त नमुना बनाएको दिन पनि यःमरि पूर्णिमा नै हो भनिन्छ । स्वयम्भू महाचैत्य बनाएको समयमा त्यहाँ पञ्च बुद्धको मूर्ति थिएन रे ! पछि मात्रै त्यो स्थापना भएको विश्वास गरिन्छ ।
यस्तै, अर्को किंवदन्तीअनुसार यःमरिको कथा मत्स्येन्द्रनाथसँग पनि जोडिएको देखिन्छ । नेपाल एक कृषि प्रधान देश हो । यहाँ धेरै वर्षससम्म पनि पानी नपरेर हाहाकार मच्चियो । अनि काठमाडौँका बन्धुदत्त आचार्य, पाटनका ललित ज्यापु र भक्तपुरका नरेन्द्रदेव राजा मिलेर मत्स्येन्द्रनाथलाई नेपाल भिœयाएको दिनमै घनघोर वर्षा भएर सहकाल शुरु भयो । त्यही बेला फलेको अन्नबाट यःमरि बनाएर मत्स्येन्द्रनाथलाई चढाएको भनिन्छ । यो यःमरि पूर्णिमाको दिन टाढा टाढाबाट समेत मत्स्येन्द्रनाथ मन्दिरमा भक्तजनहरुको मेला भर्न आउने गरिन्छ । रथलाई जावलाखेल तान्ने दिन लगनखेल इतिटोलमा मत्स्येन्द्रनाथको माथि गजुरदेखि यःमरि खसाली करुणामयको अभिषेक गर्ने चलन प्रचलित छ भने चाँगुनारायणको मन्दिरको महास्नानको दिन (प्रत्येक पूर्णिमाका दिन) मन्दिरको गजुरदेखि नै यःमरि खसालेर अभिषेक गर्ने परम्परा अद्यापि चल्दै आएको छ । यस्तै सेतो मत्स्येन्द्रनाथको रथ तान्ने बेलामा पनि दोबाटो, चौबाटोमा पुगेपछि यःमरि भक्तजनहरुलाई प्रसादको रुपमा भिडमा बाड्ने गरिन्छ । यस चलनले यःमरिको प्राचीनता उत्तरप्राचीनकालदेखि रहेको कुराको चाल पाउनुको साथै नेवार समाजमा जन्मोत्सवको साथै नयाँ घरहरुको निर्माण गर्दा यःमरिले अभिषेक गर्ने परम्पराको ऐतिहासिकता र महत्वबारे थाहा हुन्छ । 

यही यःमरि बारे ‘रत्नवदान बुद्धबचन’ मा उल्लेखित एकअर्को किंवदन्तीअनुसार पाञ्चाल गाउँमा (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन र सुशिला नामका दम्पती बस्दथे जो भगवान् विष्णुका परमभक्त र दयालु थिए । उनीहरुको दयालु स्वभावको परीक्षा लिन एक दिन धनधान्य र सम्वृद्धिका देवता कुबेर गरीब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रको घरमा पुगे । आफ्नो घरको दैलोमा एकजना दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा माग्न आएको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र ब्राह्मणरुपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको मीठो मीठो खानेकुराका परिकारहरु भरिपुर नअघाउन्जेल खुवाए ।

उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरिको गुण यःमरि पूर्णिमामा पूजाविधि र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मी (अन्नपूर्ण)को पूजा गरी यःमरि चढाउने विधि बताएर एउटा बिमिरो दिएर अन्तध्र्यान भए । त्यसै अनुसार सुचन्द्र दम्पतीले यःमरिको गणेश, लक्ष्मी, कुबेर अनि अन्य विभिन्न आकृतिका यःमरि बनाएर कुबेरले दिएको बिमिरो सहित धानको भकारीमा चढाएर चार दिनपछि दिनदिनै विधिपूर्वक पूजा गर्दा सो बिमिरो सुनको ढिक्का भएछ र यःमरि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि र सुख सम्वृद्धि बढ्दै गयो ।

त्यसैबेलादेखि आजपर्यन्त हरेक वर्ष फेरि फेरि कुबेर आउँछ भनेर यःमरि बनाएर विधिपूर्वक पूजा गर्दै आइरहको भनाइ रहेको पाइन्छ भने यःमरि चढाएको चार दिनमा झिकेर प्रसादको रुपमा छोरी, चेली तथा आफन्त बोलाएर यःमरि खुवाउने प्रचलन यद्यपि रहेको छ ।

यःमरि र ज्यापुको सम्बन्ध
ज्यापु संस्कृतिको महत्वपूर्ण मौलिक चाड यःमरि पूर्णिमा हो । ज्यापु जातिको इतिहास खोतल्ने हो भने उनीहरु नेपालको आदिवासी जनजाति हुन् । काठमाडौँ उपत्यकामा नेवार समुदायभित्र करिब ५० प्रतिशत जनसंख्या ज्यापुहरुको रहेको पाइन्छ । ज्यापु संस्कृति आफैमा एक सम्पन्न र विशिष्ट संस्कृतिको रुपमा रहेको छ । नेवार समुदायभित्र आफ्नो अलग्गै परम्परा र पहिचानको संरक्षणमा ज्यापु समुदायको नाम अग्रस्थानमा आउँछ ।

ज्यापु संस्कृति विकास कोषको अग्रसरतामा वि.सं २०६० सालदेखि यःमरि पूर्णिमालाई नै ज्यापु दिवसको रुपमा मनाउन थालिएको थियो भने नेपाल सरकारले पनि वि.सं २०६५ सालमा यसलाई मान्यता प्रदान गरी ज्यापु दिवसलाई राष्ट्रिय दिवसअनुरुप सार्वजनिक बिदा दिइयो । यही खुशीयालीमा सबैभन्दा ठूलो यःमरि बनाएर राजधानीको कमलादीस्थित गणेस्थानमा प्रदर्शनमा राखिएको थियो । ‘ओन्दे त्वाःखल’ गुठीले बनाएको यस यःमरिमा ५० के.जी. चामलको पिठो, १० केजी चाकु र एक के.जी तिल प्रयोग गरिएको गुठीका सदस्य प्रविन महर्जनले जानकारी दिए । ज्यापु दिवसको दिनमा बाजागाजा सहित शहर परिक्रमा गर्नुका साथै सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिन्छ । ज्यापु दिवस परापूर्वकालदेखि कृषि कर्ममा समर्पित ज्यापु समुदायको कला, संस्कृति प्रवद्र्धनको लागि महत्वपूर्ण दिनको रुपमा रहेको छ । यःमरि पूर्णिमामा मनाइने ज्यापु दिवस भनेकै नेवाः दिवस हो ।

पुस ७, २०७५ गोरखापत्र शनिवारमा प्रकाशित

स्रोत सन्दर्भः
नेपालका चाडपर्वहरु– किरण पन्थी
तजिलजिया न्ह्याकं– रत्नतारा ताम्राकार
हाम्रो संस्कृति– हरिराम जोशी
नेपाः चित्रमय नखःचखःया देश– कल्याण मित्र
नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर– मुनिन्द्ररत्न बज्राचार्य
नेपालको इतिहास र संस्कृतिका केही पक्ष– भुवनलाल प्रधान
नेपाली विकिपिडिया, अन्य विभिन्न वेभ पोर्टलहरु

No comments:

Post a Comment